ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतीय सीमामा रोकिएका कन्टेनर आउन थाले

२०७९ बैशाख, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । भारतीय भन्सारले सीमापारि रोकेका मालवस्तु सहितका ट्रक तथा कन्टेनरहरू मंगलवार साँझदेखि विराटनगर भन्सार हुँदै नेपाल प्रवेश गर्न थालेका छन् ।

भारतबाट नेपालतर्फ आयात हुने मालवस्तुमा भारतको केन्द्रीय भन्सार विभागले नयाँ नियम लगाएपछि विराटनगर सीमापारि सयौं मालवाहक सवारी साधन रोकिएका थिए ।

औद्योगिक र व्यापारिक प्रयोजनका लागि भारतबाट नेपाल आउने मालवस्तु हतियार वा विष्फोटक पदार्थ बनाउन प्रयोग हुनसक्ने भन्दै कडाइ गरेपछि विराटनगरको सीमावर्ती भारतीय नाका जोगबनी क्षेत्रमा ३ सयभन्दा बढी मालवाहक सवारी रोकिएका थिए ।

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकी शर्माले भने, ‘भारतीय भूभागमा धेरै मालवाहक साधन रोकिएका थिए । मंगलवारदेखि ती साधन आउन थालेका छन् ।’

विभिन्न रासायनिक पदार्थ, भिटामिन तथा ओखतीहरू, उपचारमा प्रयोग गरिने धूलो, मेडिकल केमिकल, भ्याक्सिन, इन्सुलिन र पशु भ्याक्सिन लगायतका वस्तु लिएर आउँदै गरेका साधन भारतले रोकेको थियो । त्यस्तै टाँस्ने गम, खोटो, रोजिन र टर्पेन्टाइन वर्गका मालवस्तु, पीभीसी सेट, प्लास्टिक सामग्री, सिसा र सिसाबाट बनेका मालसामान, जिन्क, निकल, गन्धक र फलामे झ्यालढोकाका सामग्री पनि रोकिएका थिए ।

भन्सार कार्यालयका अनुसार औद्योगिक मेशिनरी, विद्युतीय सामग्री, मोटर पार्ट्स र मेडिकल इक्वीपमेन्ट पनि रोकिएका थिए । रोकिएका सामान आयातको लागि मालवस्तु निर्यात गर्ने कम्पनी, उद्योग वा फर्मले ती मालवस्तु कुन प्रयोजनको लागि निर्यात गर्न खोजिएको हो भन्ने खुलाएर फारम भर्नुपर्ने र त्यसलाई भारतीय भन्सारले स्वीकृत गरेपछि जाँचपास हुने भन्सार एजेन्ट संघले जनाएको छ ।

अध्यक्ष शर्माका अनुसार नयाँ भारतीय नियम लगाइएपछि विरानगर भन्सारका एजेन्टहरू जोगवनी भन्सारका असिस्टेन्ट कमिशनर अशोक दाससमक्ष निकासी–निर्यात सहजीकरणका लागि पुगेका थिए । दासले भारतको केन्द्रीय भन्सार विभागबाटै आएको परिपत्रअनुसार मालवस्तुको निर्यातमा कडाइ गरिएको जानकारी दिएका छन् । विराटनगर भन्सारका प्रमुख ताराप्रसाद सापकोटाले नेपाल आउने मालवस्तु भारतीय भूमिमा रोकिएको जानकारी पाएपछि सहजीकरण गरिएको बताएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)