ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिममा कृषि बीमा : शतप्रतिशत अनुदान हुँदा समेत बढेन दायरा

२०७९ बैशाख, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । सुदूरपश्चिमका किसानले कृषि तथा पशु बीमा गर्दा सरकारबाट शतप्रतिशत अनुदान पाउँछन् । कृषि तथा पशु बीमामा केन्द्रीय सरकारले ८० प्रतिशत अनुदान दिने व्यवस्था छ । यस्तै सुदूरपश्चिम प्रदेशले थप २० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । निःशुल्क बीमा गर्न पाउने अवस्था हुँदा पनि त्यहाँका किसान कृषि बीमाको दायरामा आउन नसकेको देखिएको छ । बीमा समितिको एक उच्चस्तरीय टोलीले हालै सुदूरपश्चिममा बीमाको अवस्थाबारे बुझ्न विशेष भ्रमण गरेको थियो । सो क्रममा शतप्रतिशत अनुदान पाउने अवस्थामा समेत बीमाको दायरा नबढेको पाइएको छ ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले अनुदान पाउँदा पनि सुदूरपश्चिमका किसान बीमाबाट वञ्चित भएको बताए । ‘सुदूरपश्चिम प्रदेशले कृषि बीमामा २० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । केन्द्रीय सरकारले पनि ८० प्रतिशत अनुदान दिँदै आएको छ,’ उनले भने, ‘त्यो हिसाबले बीमामा किसानको पहुँच बढ्नुपर्ने हो । तर, उनीहरू बीमाको दायरामा आएको देखिएन ।’

बीमा समितिको तथ्यांकले पनि त्यसको पुुष्टि गरेको छ । समितिका अनुसार कृषि बीमा व्यवसायमा सुदूरपश्चिमको अंश ४ प्रतिशत मात्र छ । २० निर्जीवन बीमा कम्पनीले गत माघमा कृषि बीमाबाट १७ करोड २८ लाख रुपैयाँ संकलन गरेका छन् । त्यसमा सुदूरपश्चिमबाट ६५ लाख संकलन भएको छ ।

कम्पनीहरूले चासो नदिँदा यस्तो अवस्था आएको अध्यक्ष सिलवालको भनाइ छ । त्यहाँ बीमा कम्पनीहरूको पर्याप्त उपस्थिति नहुँदा यस्तो समस्या देखिएको उनले बताए ।

‘शतप्रतिशत अनुदान दिने व्यवस्था सधैं नहुन पनि सक्छ । बीमाशुल्क सबै सरकारले दिने भएपछि किसानलाई विश्वस्त पार्न पनि समस्या हुँदैन,’ सिलवालले भने, ‘त्यो अवस्थामा किसानहरू स्वतः बीमा गर्न आउँछन् । तर, पनि बीमा कम्पनीहरू त्यहाँ नगएको पाइयो ।’ अब बीमा कम्पनीले त्यो अवसरलाई पर्याप्त मात्रमा उपयोग गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांकअनुसार सुदूरपश्चिममा २७ लाख ११ हजार २७० जनसंख्या छ । त्यसको ८५ प्रतिशत मानिस कृषि व्यवसायमा आबद्ध भएको बताइन्छ । त्यसमा कति किसानले बीमा गरेका छन् भने यकिन तथ्यांक छैन । तर, एकदमै न्यून किसान मात्र  बीमाको दायरामा आएको सुदूरपश्चिमको कृषि मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

सुदूरपश्चिमको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रवक्ता गोकुलप्रसाद बोहराले अनुदान दिइँदा पनि किसानहरू बीमाको दायरामा नआएको स्वीकारे । बीमा कम्पनीकै कारण किसानहरू बीमाबाट वञ्चित हुनुपरेको उनको भनाइ छ ।

‘किसानले यस्तो बीमा गर्न चाहेका छन् । तर, बीमा कम्पनीले बीमा गर्न आनाकानी गरेको अवस्था छ । बीमा कम्पनीले किन यस्तो गरेका हुन्, थाहा छैन,’ उनले भने । कम्पनीहरू बीमा गर्न तयार भए सुदूरपश्चिममा कृषिलाई व्यावसायिकीकरण समेत गर्न सकिने उनको भनाइ छ ।

यता, नेपाल बीमक संघका अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्र भने यसमा व्यावहारिक समस्या भएको बताउँछन् । साथै, प्रचार प्रसार पनि पर्याप्त प्रभावकारी हुन नसकेको उनको बुझाइ छ । ‘सरकारले अनुदान दिए पनि गाउँ गाउँमा गएर किसान किसानलाई बीमा गर्नुस् भन्न व्यावहारिक रूपमा कठिनाइ हुन्छ । त्यसरी गर्दा आम्दानीभन्दा खर्च बढी हुन्छ,’ उनले भने, ‘परिणामस्वरूप कम्पनीहरूलाई त्यहाँ गएर बीमा गर्न चुनौती भएको हो ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)