ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मीरगञ्ज पुल नबन्दा करोडौं नोक्सानी

पुल सञ्चालन हुन अझै एक महीना लाग्ने

२०७९ बैशाख, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर  । नेपाल–भारत सीमा बजार जोगबनी नजिक रहेको मीरगञ्ज पुल नबन्दा पछिल्लो तीन महीनामा विराटनगर भन्सारको राजस्व संकलन प्रभावित भएको छ । पुल बन्द भएपछि जोगबनी नाकाबाट आयात घटेकाले राजस्व संकलनमा समेत कमी आएको हो । मीरगञ्ज पुल बन्द भएपछि कोलकाता बन्दरगाह र अन्य क्षेत्रबाट सामान आयातमा ठूलो ह्रास आएकाले राजस्व संकलनमा त्यसको असर परेको हो ।

विराटनगर भन्सार स्रोतका अनुसार गत पुस २२ गतेदेखि भारतले पुल बन्द गरेको हो । अत्यन्त जीर्ण भएकाले मालवाहक ठूला गाडी सो पुल भएर आवतजावत गर्न नमिल्ने भएको छ । त्यसको नजिक नयाँ पक्की पुल बनिसकेको भए पनि सञ्चालनमा आएको छैन ।

औद्योगिक कच्चापदार्थ र अन्य सामान लिएर आउने गाडीहरू सुनसरीको भान्टाबारीको नाका भएर नेपाल प्रवेश गर्ने गरेका छन् । सो नाका भएर विराटनगर आउन झन्डै १२५ किलोमिटर पर्छ । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलका अनुसार भान्टाबारी नाका भएर सामान आयात गर्नुपर्दा व्यवसायीले दैनिक १ करोड थप आर्थिक भार वहन गर्नुपरेको छ ।

पुल चालू नभएपछि धेरै व्यापारीले भन्सार नाका परिवर्तन गरेका छन् । उद्योगलाई भने नाका फेर्न समस्या हुने भएकाले अतिरिक्त आर्थिक भार बेहोरेर पनि भान्टाबारी नाका भएर कच्चापदार्थ आयात गर्नुपरेको छ ।

विराटनगर भन्सारका प्रवक्ता रामचन्द्र ढुंगानाका अनुसार पुसयता विराटनगरको राजस्व संकलन निर्धारित लक्ष्यभन्दा करीब २७ प्रतिशतले ह्रास आएको छ । नेपाल–भारतबीचको वाणिज्य तथा पारवाहन सन्धि अनुसार पारवाहनमा प्रयोग हुने सडक तथा नाकाको विकल्प दिएर मात्र नाका बन्द गर्नुपर्नेमा भारतले जोगबनी नाकाको उपयुक्त विकल्प नदिई पुल बन्द गरेको हो ।

विहारको अररिया जिल्लाबाट नेपाल जोड्ने मीरगञ्ज पुल बन्द हुँदा भारतको पनि मासिक १७ करोड राजस्व गुम्दै आएको भारतीय ल्यान्ड कस्टम अधिकारीहरूको भनाइ छ । पुरानो मीरगञ्ज पुल नजिकै चार लेनमा बन्दै गरेको नयाँ पुलको निर्माण ६ महीनादेखि बन्द छ ।

मीरगञ्जको नयाँ पुल निर्माण कम्पनी जेकेएम इन्फ्रा प्रोजेक्टका कर्मचारी मोहन झाका अनुसार पुलको केही भाग रेल मार्गको क्षेत्रभित्र पर्छ । रेलवे विभागबाट ‘नो अब्जेक्सन लेटर’ प्राप्त नभएकाले काम रोकिएको उनको भनाइ छ । सो पत्र प्राप्त नभएसम्म पक्की पुल निर्माण अघि नबढ्ने बताइएको छ ।

यसैबीच, अररियाका डीएम प्रशान्तकुमार सीएचले गत शनिवार मीरगञ्जको नयाँ निर्माणाधीन पक्की पुलको स्थलगत अनुगमन गरी जानकारी लिएका छन् । पुरानो पुलको मर्मत मन्द गतिमा भइरहेकोमा सो कामलाई पनि गति दिन उनले निर्देशन दिएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)