ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महिला उद्यमीलाई निर्यात कर्जाको बाटो खुल्यो , निर्यात कर्जाको व्यवस्था

२०७९ बैशाख, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । उद्यम तथा व्यवसाय गर्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा पाउनै नसकिएको महिला उद्यमीको गुनासोबीच सरकारले उनीहरूलाई निर्यात कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ ।

औद्योगिक व्यवसाय नियमावली–२०७६ संशोधन गरी उद्योगको प्रकारअनुसार महिला उद्यमीले न्यूनतम ५ लाखदेखि अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा पाउने प्रावधान राखिएको हो ।

सरकारले संशोधित औद्योगिक व्यवसाय नियमावली–२०७८ चैत २१ गते नेपाल राजपत्रमा प्रकाशित गरेको छ । यसले महिला उद्यमीलाई निर्यात कर्जाको बाटो खोलिदिएको हो । यसअघिको नियमावलीले निर्यात कर्जाको व्यवस्था गरे पनि उद्योगको प्रकृतिअनुसार कर्जा रकमको सीमा तोकेको थिएन । संशोधन भई राजपत्रमा आएको नियमावलीअनुसार व्यवसायको वित्तीय स्थितिका आधारमा महिला उद्यमीले निर्यात कर्जा पाउनेछन् । 

यसैगरी, निर्यात कर्जा पाउन कुल उत्पादनको कम्तीमा ३० प्रतिशत निर्यात गर्नुपर्ने शर्त तोकिएको छ । संशोधित नियमावलीमा भनिएको छ, ‘कर्जा प्राप्त गर्न सम्बद्ध उद्योगले आफ्नो पछिल्लो आर्थिक वर्षको कुल उत्पादनको कम्तीमा ३० प्रतिशत निर्यात गरेको हुनुपर्नेछ ।’ यसअघिको नियमावलीमा उद्योगले आफ्नो उत्पादन निर्यात गर्ने प्रयोजनका लागि कर्जा आवश्यक परेमा उद्योग दर्ता गर्ने निकायमार्फत सम्बद्ध मन्त्रालयमा निवेदन दिन सक्ने व्यवस्था थियो । 

संशोधित नियमावलीले महिला उद्यमीलाई थप सुविधाका लागि कर्जाको सीमा तोकेको छ । नियमावलीअनुसार लघुउद्यमीले ५ लाख, घरेलुले १५ लाख, सानाले २० लाख, मझौलाले ३० लाख र ठूला उद्योगीले ५० लाख रुपैयाँ निर्यात कर्जा पाउनेछन् । कर्जा बैंकिङ प्रणालीमार्फत उपलब्ध गराउने व्यवस्था छ । 

राष्ट्र बैंकले महिला उद्यमीलाई जस्तोसुकै उद्यम वा व्यवसाय गर्न ब्याज अनुदानमा १५ लाख रुपैयाँसम्म कर्जा दिने व्यवस्था गरेको छ । महिला उद्यमी शारदा रिजालले संशोधित व्यवस्थाले महिला उद्यमीलाई उद्यम गर्न र खासगरी निर्यातमूलक उद्योगमा प्रोत्साहित गर्ने बताइन् ।

उनले सरकारले तोकेको औद्योगिक ग्राममा पनि महिलालाई लक्ष्य गरेर लगानी गरेको भन्दै उनले यो नीतिले महिला उद्यमीलाई प्रोत्साहन गर्ने बताइन् । उनका अनुसार काभ्रेको पाँचखालमा महिला औद्योगिक ग्राम बन्दै छ । सरकारले सातओटै प्रदेशमा औद्योगिक ग्राम खोल्ने योजना घोषणा गरेअनुसार काभ्रेमा नेपालकै पहिलो महिला औद्योगिक ग्राम स्थापना गर्ने प्रक्रिया अघि बढेको छ ।

महिला उद्यमशीलता विकास गर्न शुरू गरिएको ग्राम र अहिले आएको निर्यात कर्जा नीतिले महिला उद्यमीलाई सहयोग पुग्ने व्यवसायीहरूको भनाइ छ । अहिले पनि व्यवसाय कर्जा लिन गाह्रो पर्ने गरेको बताउँदै महिला उद्यमीले कर्जा पाउने अवस्था सरल र सहज बनाउनुपर्नेमा जोड दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)