ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अटो व्यवसायीलाई आश्वासनमात्रै

२०७९ बैशाख, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । केन्द्रीय बैंकको निर्देशनमा वाणिज्य बैंकहरूले चैत २२ गतेदेखि सवारीसाधन आयातको एलसी खोलेका छैनन् । यसबाट सिंगो व्यवसाय धरापमा परेको भन्दै अटो व्यवसायी दौडधुपमा छन् । तैपनि एलसीमा लगाइएको अघोषित प्रतिबन्ध तत्काल फुकुवा हुने छाँटकाँट देखिएको छैन । 

सवारीसाधनको एलसी खोल्न दबाब दिने क्रममा अटो व्यवसायीहरूको संस्था नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका पदाधिकारीले चैत अन्त्यतिरै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । आइतवार उनीहरूले अर्थमन्त्री जनार्दन शर्मालाई भेटे । उच्च तहमा भेटघाट बढाएका अटो व्यवसायीले अहिलेसम्म आश्वासनबाहेक केही नपाएको गुनासो गरेका छन् ।

एशोसिएशनका अनुसार अटो व्यवसायमा ३ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी लगानी छ । यो क्षेत्रले हरेक वर्ष १ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी राजस्वमा योगदान गर्छ । ९८ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको क्षेत्र एलसी रोकिएका कारण अस्तव्यस्त बनेको व्यवसायीको गुनासो छ ।

एशोसिएशन अध्यक्ष ध्रुव थापाले विदेशी विनिमय सञ्चिति कम भएको देखाएर एलसीमा रोक लगाउनु उचित नभएको भन्दै अघोषित प्रतिबन्ध हटाउन आफूहरू लागिपरेको बताए । ‘यस्तो कुनै मुलुकले पनि गर्दैनन्, तर नेपालमा गरियो,’ उनले भने, ‘यसबाट बा⋲य मुलुकमा नेपालका बैंकहरूले कर्जा दिन नसक्दा सवारीसाधन आयातको एलसी खोल्नै छाडे भन्ने सन्देश गएको छ, यो राम्रो होइन ।’ 

नाडाका पदाधिकारीलाई अर्थमन्त्री शर्माले भेटमा आयात नै बन्द गर्ने पक्षमा सरकार नरहेको स्पष्ट पारेका थिए । भेटमा नाडाका पदाधिकारीले गाडीको एलसीमा लगाइएको रोक फुकुवा गर्न आग्रह गरेका थिए । नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठले गाडी आयात रोकिँदा देशमा पर्न सक्ने असरबारे अर्थमन्त्री शर्मालाई विस्तृत जानकारी गराएका थिए । 

राष्ट्र बैंकको मौखिक निर्देशनमा वाणिज्य बैंकहरूले गाडीलगायत विलासी वस्तुको एलसी खोल्न छाडेपछि ठूलो लगानी भएको अटो क्षेत्र संकटमा परेको व्यवसायीको भनाइ छ । नाडा अध्यक्ष थापाका अनुसार यतिबेला पहिले अर्डर गरेका सवारीसमेत अड्किएका छन् । 

चैत २५ गते एशोसिएशनले समस्या राख्दा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थप बुझेर अघि बढ्ने’ आश्वासन दिनुभएको थियो । प्रधानमन्त्रीको आश्वासन आएको हप्ता नाघे पनि एलसी नखुल्दा व्यवसायी निराश छन् । सरकारले गाडी आयात सहज नबनाए अटो व्यवसाय नै धराशयी हुने व्यवसायीको भनाइ छ । 
प्रधानमन्त्री देउवाले व्यवसायीलाई अर्थमन्त्रीसामु समस्या राख्न पनि सुझाव दिनुभएको थियो । सोहीअनुसार व्यवसायीले अर्थमन्त्री भेटेका हुन् । भेटमा अर्थमन्त्रीबाट आश्वासन मात्रै पाएको उनीहरूको भनाइ छ । अर्थमन्त्री शर्माले अझै केही समय धैर्य गर्न आग्रह गरेका छन् । एशोसिएशनले कामु गभर्नर नीलम ढुंगाना तिम्सिनालाई समेत भेटेर समस्या राख्ने तयारी गरेको छ । व्यवसायीले राष्ट्र बैंकको पछिल्लो नीतिले व्यवसाय नै संकटमा परेको भन्दै एलसीमा सहजीकरण गरिदिन आग्रह गर्ने बताएका छन् । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)