रौतहट । रूख कटानको विवादले मेची–महाकाली विद्युतीय रेल मार्गको काम फेरि अवरुद्ध भएको छ । रूख कटान गर्ने विषयमा वन उपभोक्ता समूह र रेल्वे कार्यालयबीच विवाद हुँदा राष्ट्रिय गौरवको आयोजनाको काम अवरुद्ध भएको हो ।
उपभोक्ता समूह आफैले रूख काट्न पाउनुपर्ने माग राखेको छ । रेल्वे कार्यालयले दुई साताअघि नेपाल वन निगम लिमिटेड (तत्कालीन टीसीएन कार्यालय) सँग रूख कटान र व्यवस्थापनका लागि सम्झौता गरेको छ । यही विवादका कारण अहिले रूख कटानको काम हुन सकेको छैन । बाग्मती–चाँदी खण्डको योजना अन्तर्गत प्याकेज नम्बर ४ र ५ मा पर्ने दोभान सामुदायिक वनमा ५ सय ७५ तथा रामलाल वृन्दावन साझेदारी वनमा १ हजार ९ सय ७५ रूख काट्नु पर्नेछ।
रूख काट्न वन समूहलाई दिने मौखिक सहमति भए पनि सो नभएकाले काम गर्न नदिएको दोभान सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष वीरबल बम्जनले बताए । ‘डिभिजन वन कार्यालय, रेल्वे र वन समूहका पदाधिकारी बसेर सहमति भएको हो,’ ‘उनले भने, ‘रूख काट्न वन समूहले नै पाउनु पर्छ ।’
रेल्वे कार्यालयका इन्जिनियर बोध भण्डारीले समूहले कटान गर्दा चाँडो र भरपर्दो काम नगर्ने भएकाले रूख कटान र व्यवस्थापनमा सहजताका लागि निगमसँग सम्झौता गरेको बताए। यसमा विवाद भए पनि चाँडै टुङ्गो लगाउने उनले बताए । उक्त प्याकेजको ठेक्का लामा गोल्डेन गुड बिरुवा जेभीले पाएको हो ।
धन्सार क्षेत्रमा पर्ने रेल्वे ट्र्याक निर्माणको काम पनि रूख कटानकै कारण रोकिएको छ । वन मन्त्रालयले ६९ वटा रूख कटानको आदेश नदिएको कारण रोकिएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले बताए। त्यस क्षेत्रमा विभिन्न जातको २ हजार ६ सय ५२ वटा रूख कटान गर्नुपर्नेछ।
प्राविधिक कारण आदेश नभएकाले अहिले काम रोकिएको उनको भनाइ छ । झन्डै डेढ वर्षपछि वन मन्त्रालयले रेल्वे ट्र्याकमा पर्ने रूख कटान आदेश दिएको हो। तर, वन समूहको अवरोधका कारण फेरि आयोजना निर्माणमा समस्या आएको रेल्वे आयोजना कार्यालय लालबन्दीले जनाएको छ। रेल्वे आयोजना अन्तर्गतका सबै प्याकेजको काम गत माघ १४ मै सक्नुपर्ने सम्झौतामा उल्लेख भए पनि विविध समस्याका कारण काम सम्पन्न हुन नसकेको आयोजनाले उल्लेख गरेको छ । वाग्मतीदेखि धन्सारसम्म २२ किलोमिटर ट्र्याक बनाउने योजना छ ।