काठमाडौं । अर्थतन्त्र संकटमा छ भनेर चौतर्फी टिप्पणी भइरहेका बेला नेपाल उद्योग परिसंघ (सीएनआई) ले त्यसलाई अस्वीकार गरेको छ ।
अर्थतन्त्र संकटमा नभएको दाबी गर्दै सीएनआईले अध्ययन प्रतिवेदनसमेत सार्वजनिक गरेको छ । साथै, अर्थविद्ले पनि अर्थतन्त्र संकटग्रस्त नभएको टिप्पणी गरेका छन् ।
मुलुकको बैंकिङ प्रणालीमा तरलता अभाव, बढ्दो व्यापार तथा शोधनान्तर घाटा, घट्दो विदेशी मुद्रा सञ्चिति, बढ्दो मूल्य वृद्धिदर, ऊर्जा ९इन्धन० अभावलगायत कारण अहिले अर्थतन्त्र संकटमा गएको भनेर चौतर्फी टिप्पणी भइरहेको छ । कतिपयले त नेपाल श्रीलंकाको जस्तै आर्थिक संकटमा पुग्न लागेको भनेर पनि विश्लेषण गरेका छन् । नेपालको अर्थतन्त्र श्रीलंकाको भन्दा धेरै राम्रो रहेको सीएनआईको प्रतिवेदनमा उल्लेख छ ।
सीएनआईले तथ्यांकसहित आर्थिक संकटको अवस्था नभएको दाबी गरेको हो । यद्यपि, संयमित भएर अघि बढ्नुपर्ने अवस्था भने रहेको प्रतिवेदनमा उल्लेख छ ।
अहिले नेपालको राष्ट्रिय ऋणको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४० दशमलव ५ प्रतिशत छ । श्रीलंकाको राष्ट्रिय ऋणको आकार जीडीपीको १११ प्रतिशत छ ।
यस्तै, नेपालसँग ६ दशमलव ७ महीनाको वस्तु तथा सेवा आयात धान्ने विदेशी मुद्रा सञ्चिति छ । श्रीलंकासँग १ महिनाको वस्तु तथा सेवा धान्न सक्ने विदेशी मुद्रा सञ्चिति पनि छैन । श्रीलंका आधारभूत वस्तुसमेत आयात गर्न नसक्ने अवस्थामा छ ।
नेपालको मुद्रास्फीति ९मूल्य वृद्धिदर० ७ प्रतिशत हुँदा श्रीलंकाको २५ प्रतिशत पुगेको छ । यो अवस्थामा नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्न नहुने प्रतिवेदनमा उल्लेख छ । त्यसमाथि समग्र अर्थतन्त्रनै संकटग्रस्त नभएको सीएनआईको दाबी छ । चालू आर्थिक वर्ष ९आव० को पछिल्लो ३ महीनाको आर्थिक गतिविधि हेर्दा अर्थतन्त्र संकटग्रस्त अवस्थामा नदेखिने प्रतिवेदनमा उल्लेख छ ।
चालू आवको पहिलो ५ महीनामा ९साउनदेखि मंसिरसम्म० मासिक औसत १ खर्ब ६७ अर्बको आयात भएको थियो । त्यसपछिको ३ महीना ९पुस, माघ र फागुन० मा मासिक औसत १ खर्ब ५६ अर्ब रुपैयाँको आयात भएको छ । यसअनुुसार पछिल्लो समय आयात घटेको छ ।
यस्तै, चालू आवको पहिलो ५ महीनामा ३ दशमलव २४ प्रतिशतले विदेशी मुद्रा सञ्चिति ऋणात्मक भएको थियो । त्यसपछिको ३ महीनामा १ दशमलव ५३ प्रतिशतले मात्रै विदेशी मुद्रा सञ्चिति घटेको छ ।
चालू आवको ५ महीनामा २८ अर्ब ४० करोड बराबरको पूँजीगत बजेट खर्च भएको थियो । त्यसपछि ३ महीनामा ४८ अर्ब ७० करोड रुपैयाँ बराबरको पूँजीगत बजेट खर्च भएको छ ।
पछिल्लो ३ महीनामा विप्रेषण आप्रवाह पनि बढेको अध्ययनले देखाएको छ । चालू आवको पहिलो ५ महीनामा मासिक औसत ७७ अर्ब ७० करोड रुपैयाँ बराबर विप्रेषण आएको थियो । त्यसपछिको ३ महीनामा मासिक औसत ८० अर्ब ८० करोड रुपैयाँको दरले विप्रेषण आएको छ । यस्तै, पछिल्लो ३ महीनामा पर्यटन आगमन समेत बढेको छ । चालू आवको पहिलो ५ महीनाको पर्यटक आगमन मासिक औसत १७ हजार ७५७ थियो । त्यसपछिको ३ महीनामा मासिक औसत २६ हजार २४९ विदेशी पर्यटक आएका छन् ।
यी तथ्यांकमा आधारमा नेपालमा आर्थिक संकट नभएको सीएनआईका अध्यक्ष विष्णु अग्रवाल बताउँछन् । यद्यपि, संयमित हुने बेला भने भएको उनको भनाइ छ ।
सीएनआईले मंगलवार पत्रकार सम्मेलन गरेर उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । ‘नेपालमा आर्थिक संकट आएको छ भनेर टिप्पणी गरिएको छ । तर, तथ्यांक हेर्दा त्यस्तो देखिँदैन । विदेशी मुलुकमा ३ महीनाको आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चितिलाई राम्रो मानिन्छ । हाम्रोमा ६ महीनाभन्दा बढीको आयात धान्न पुग्ने सञ्चिति हुँदा पनि आर्थिक संकट भयो भनिएको छ, जुन सत्य होइन,’ पत्रकार सम्मेलनमा उनले भने, ‘यस विषयमा गलत सूचना प्रवाह गरिएको छ । साथै, यसकै नाममा सरकारी निकायले चालेका कदमले बरु समस्या निम्त्याएको छ ।’ पूर्वअर्थसचिव तथा अर्थविद् रामेश्वर खनालले पनि अर्थतन्त्र खास संकटमा नभएको बताए । साथै, नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो पनि नभएको उनको भनाइ छ ।
‘अहिलेको अवस्था हेर्दा अर्थतन्त्रलाई संकटमा छ भन्न मिल्दैन । साथै, नेपालको अर्थतन्त्रलाई श्रीलंकाली अर्थतन्त्रको अवस्थासँग तुलना गर्न पनि मिल्दैन । त्यहाँ आधारभूत वस्तुको आयातसमेत धान्न नसक्ने गरी विदेशी मुद्रा सञ्चिति घटेको छ,’ उनले आर्थिक अभियानसँग भने, ‘श्रीलंकाको तुलनामा त हामी धेरै सहज अवस्थामा छौं । ६ महीनाभन्दा बढीको वस्तु तथा सेवा धान्ने गरी विदेशी मुद्रा सञ्चिति हुनु पर्याप्त हो । त्यो घटेर ३ महीनामै पुग्यो भने पनि हामी आत्तिनु पर्दैन, हामी सेफ जोनमै छौं ।’
सीएनआईले यो अवस्थामा आयात नै बन्द गर्नु समाधानको उपाय नभएको निष्कर्ष निकालेको छ । वर्तमान समयमा आयातलाई व्यवस्थित गरेर स्वदेशी वस्तुको उत्पादन, बजारीकरण र उपभोग वृद्धिमा विशेष पहल गर्नुपर्ने बताइएको छ । नेपाल गम्भीर आर्थिक संकटमा नरहेको मनन गर्दै बजारमा त्रासदीपूर्ण अवस्था आउन दिन नहुने सीएनआईको उपाध्यक्ष अनुज अग्रवालले बताए ।
आर्थिक अभिायन दैनिकको प्रिन्ट संस्करणबाट