ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बिमस्टेक ऊर्जा बैठक : नेपालको सबै बिजुली किन्ने भारतीय ऊर्जामन्त्रीको दाबी

२०७९ बैशाख, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

बैशाख ८, काठमाडौं । भारतका ऊर्जामन्त्री आरके सिंहले नेपालका जलविद्युत् आयोजनाबाट उत्पादन हुने सबै बिजुली किन्ने घोषणा गरेका छन् । 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) मा आबद्ध मुलुकहरूको संयुक्त ऊर्जा बैठकलाई सम्बोधन गर्ने क्रममा सिंहले उक्त घोषणा गरेका हुन् । 

अहिलेसम्म नेपालबाट ३६४ मेगावाट बिजुली किन्न भारत सहमत भएको छ । 

उनले भुटानका जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली पनि भारतले किन्ने घोषणा गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिए । 

‘भारतीय ऊर्जामन्त्रीको घोषणाले हामीलाई थप प्रोत्साहन मिलेको छ । साँच्चै नै त्यो भयो भने नेपालको जलविद्युत् विकासमा ठूलो सहयोग पुग्छ,’ भेटुवालले भने । 

बिमस्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्यान्ड आबद्ध छन् । 

बैठकले बिमस्टेकमा आबद्ध मुलुकबीचको विद्युत् व्यापार सहजीकरण गर्ने, एकअर्काको प्रसारण प्रणाली (ग्रीड) लाई जोड्ने र ऊर्जा व्यापार केन्द्र स्थापना गर्नेलगायत निर्णय गरेको छ । बैठकपछि १२ बुँदे संयुक्त वक्तव्य जारी गरिएको छ । 

बैठकमा बिमस्टेक मुलुकबीच विद्युत् व्यापार गर्न आवश्यक नीति र ट्यारिफ (महसुल दर) प्रणाली बनाउने सहमति भएको छ । साथै, बिमस्टेक मुलुकहरूबीच कसरी विद्युत् व्यापार गर्ने भन्ने विषयमा योजना बनाउन विशेषज्ञसहितको कमिटी बनाउने निर्णय बैठकले गरेको छ । 

बिमस्टेक मुलुकका ग्रीडहरूलाई एकआपसमा जोड्न ‘बिमस्टेक ग्रीड इन्टरकनेक्शन कोअर्डिनेशन कमिटी’ स्थापना गर्ने सहमति छ । एशियाली विकास बैंकको सहयोगमा उक्त कमिटीले ग्रीड इन्टरकनेक्शन गर्ने मामलामा गुरुयोजना बनाउनेछ । 

सदस्य मुलुकहरू बिमस्टेक ऊर्जा केन्द्र स्थापना गर्न सहमत भएका छन् । उक्त केन्द्रले ऊर्जासम्बन्धी अनुसन्धान, सदस्य मुलुकबीचको अनुभव आदानप्रदान तथा सहकार्य गर्नेछ । त्यसका लागि कार्ययोजना बनाउने, संरचना तयार गर्ने र सञ्चालनका लागि आवश्यक पर्ने कोष तयार गर्ने निर्णय पनि बैठकले गरेको छ । उपयुक्त कार्ययोजना, मार्गचित्र, संरचना र कार्यप्रणाली बनाएर केन्द्रलाई समयमै सञ्चालनमा ल्याइने बताइएको छ । 

२०११ मै बिमस्टेक ऊर्जा केन्द्र स्थापना गर्ने सहमति भएको थियो । तर, त्यो कार्यान्वयन भएन । अब भने यसलाई कार्यान्वयनमा ल्याउने बिमस्टेक मुलुकहरूको प्रतिबद्धता छ । 

प्रवक्ता भेटुवालले बैठकमा भएका सहमति कार्यान्वयन भए बिमस्टेक मुलुकको ऊर्जा क्षेत्रलाई ठूलो फाइदा हुने बताए । ‘सबैले यो कार्यान्वयनमा ल्याउँछांै भनेर प्रतिबद्धता पनि व्यक्त गरेका छन्, कार्यान्वयन हुने आश गरौं,’ आर्थिक अभियानसँग उनले भने ।

बैठकलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिमस्टेक मुलुकमा भएका प्राकृतिक स्रोतलाई ऊर्जाको रूपमा प्रयोग गर्नुपर्ने बताइन् । ‘दिगो र उपयुक्त विकासका लागि ऊर्जा, वातावरण र अर्थतन्त्र महत्त्वपूर्ण क्षेत्र हो । तर, हामीले निरन्तर वातावरणलाई असर पुग्ने इन्धनको प्रयोग गरिरहेका छौं । हाम्रो वातावरणमा तनाव सृजना गर्ने यो प्रवृत्तिको अब अन्त्य गर्नुपर्छ,’ उनले भनिन्, ‘साथै, ऊर्जा विकासका लागि बिमस्टेक मुलुकहरूमा आर्थिक सहकार्यलाई थप विस्तार गर्न आवश्यक छ ।’ 

ऊर्जासचिव देवेन्द्र कार्कीले बिमस्टेक ऊर्जा केन्द्रको स्थापना प्रक्रिया अगाडि बढ्नु सकारात्मक पक्ष भएको बताए । यसले बिमस्टेकका मुलुकहरूको ऊर्जाक्षेत्र विकासमा सहयोग पुग्ने उनको भनाइ छ । 

‘यसले ऊर्जा दक्षता र गैरपरम्परागत ऊर्जा स्रोतसम्बन्धी जानकारी र उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्न ठूलो सहयोग पुग्ने अपेक्षा छ,’ उनले भने, ‘यो ऊर्जा केन्द्र छिट्टै सञ्चालनमा आउने अपेक्षा पनि छ ।’

उनले नेपालले ऊर्जाक्षेत्रमा प्रगति गर्दै गएको पनि बताए । ‘हामीले आफ्ना जनतालाई स्वच्छ र भरपर्दो ऊर्जा प्रदान गर्ने सन्दर्भमा निकै प्रगति गरेका छौं । फलस्वरूप हाम्रो ९३ प्रतिशत जनसंख्याको पहुँचमा बिजुली छ,’ उनले भने । 

अबको बिमस्टेक ऊर्जा बैठक भारतले आयोजना गर्ने निर्णय भएको छ । भारतकै प्रस्तावमा आगामी मार्चमा बिमस्टेक ऊर्जा बैठक गरिने भएको छ । यो बैठकलाई आगामी दिनमा नियमित गर्ने सहमति पनि भएको छ । बिमस्टेक ऊर्जा बैठक लामो समयसम्म भएको थिएन । अब भने यसलाई सक्रिय बनाउने प्रतिबद्धता सदस्य मुलुकले व्यक्त गरेका छन् ।

नेपालको आयोजनामा मंगलवार र बुधवार भर्चुअल माध्यमबाट बिमस्टेक ऊर्जा बैठक सम्पन्न भएको हो । मंगलवार सचिवस्तरीय र बुधवार मन्त्रीस्तरीय बैठक भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)