ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘औषधिमा आत्मनिर्भर बनाउन लगानी वृद्धि गर्न आवश्यक’

२०७९ बैशाख, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले देशलाई औषधिमा आत्मनिर्भर बनाउन  लगानी बढाउनुपर्ने बताउनुभएको छ । शुक्रवार भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा ‘नेपाल फर्मा एक्स्पो २०२२’को उद्घाटन गर्दै उहाँले मुलुकमा चाहिने औषधि मुलुकभित्रै उत्पादन हुनुपर्नेमा जोड दिनुभएको छ । औषधिमा आत्मनिर्भर बन्न स्वदेशमै व्यावसायिक जडीबुटीखेती प्रवर्द्धन गर्नुपर्ने समेत उहाँले बताउनुभयो ।

‘कोभिडको समयमा पनि हामीले औषधि अभावको चुनौती बेहोर्‍यौं,’ उहाँले भन्नुभयो, ‘त्यसैले औषधि उत्पादनमा लगानी बढाएर आपूर्ति व्यवस्था गर्न जरुरी छ । यसका लागि स्थानीय जडीबुटीको उत्पादनमै जोड दिनुपर्छ ।’ साथै निजीक्षेत्रले औषधिमा आत्मनिर्भर बनाउने संकल्प गरिरहेको बेला राज्यले पनि यसलाई संरक्षण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन राज्य र निजीक्षेत्रले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्नेमा राष्ट्रपतिको जोड थियो ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिले देशमा आयात निर्यात, बैंकको ब्याज लगायतका क्षेत्रमा समस्या रहेको बताए । अहिलेको समस्याबाट मुक्त हुन सरकारले उद्योगमैत्री नीति ल्याउनुपर्ने उनले बताए । कोभिडले नेपालीलाई धेरै कुरा सिकाएको भन्दै उनले औषधिमा पनि देशलाई आत्मनिर्भर बनाउनुपर्ने खाँचो औंल्याए । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले नेपालीलाई स्वस्थ राख्न औषधिको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

सहयोगका लागि सरकार तयार : उपाध्यक्ष पौडेल
यसैबीच, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले औषधि उद्योगलाई सहयोग गर्न सरकार तयार रहेको बताएका छन् । उक्त एक्स्पोको दोस्रो दिन शनिवार आयोजित ‘नेपालमा औषधि उत्पादनको सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘औषधिको उत्पादन बढाउनुस्, आयात कम गर्न सहयोग गर्नुस् । हामी सहयोग गर्न तयार छौं,’ उनले भने । साथै हाल नेपालको विदेशी मुद्राको सञ्चिति घट्दै गएकाले निर्यातमूलक वस्तुको उत्पादन बढाउनुपर्ने बेला आएको उनले बताए ।

औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले स्वदेशमा औषधिको उत्पादन बढाई आत्मनिर्भर बनाउन विदेशी लगानी पनि आवश्यक रहेको बताए । नेपालमा बढी प्रयोग हुने र अत्यावश्यक औषधिको उत्पादन बढाउनुपर्नेमा समेत उनले जोड दिए । कार्यक्रममा संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले नेपाल गुणस्तरीय र अत्यावश्यक औषधि उत्पादन गर्न सक्षम भएको बताए । साथै २०३५ सालमा बनेको औषधि ऐन अद्यावधिक गरिनुपर्ने उनले औंल्याए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)