ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तीन कारणले बढ्यो शेयर बजार

२०७९ बैशाख, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । लामो समयपछि आइतवार नेप्से परिसूचक ह्वात्तै बढेको छ । यस दिन नेप्से परिसूचक ९५ दशमलव ५२ अंकले बढेर २ हजार ४२० दशमलव ९६ कायम भएको छ ।

आइतवारको उछाल पछाडि तीनवटा कारण रहेको लगानीकर्ता तथा दलाल व्यवसायी बताउँछन् । उनीहरुका अनुसार स्थानीय चुनावले वित्तीय प्रणालीमा तरलता बढाउने विश्वास, नेपाली अर्थतन्त्रमा सार्वजनिक ऋण जोखिम न्यून रहेको आशयको विश्व बैंकको विज्ञप्ति र ब्रोकरमार्फत प्रवाह हुने मार्जिन लोनलाई धितोपत्र बोर्डले सहज बनाउने तयारी गरेको समाचारले लगानीकर्तामा उत्साह थपिँदा बजारमा उछाल आएको हो ।  

आइतवार स्थानीय निर्वाचनको उम्मेदवारी दर्ता शुरु भएको छ । यसबाट लगानीकर्ता निर्वाचन हुनेमा विश्वस्त भएका छन् । चुनावका क्रममा हुने खर्चले वित्तीय प्रणालीमा देखिएको तरलता अभावलाई सहज बनाउने उनीहरुको विश्लेषण छ । नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले चुनावी माहोलकै कारण आइतवार बजारमा उत्साह देखिएको बताइन् ।

चुनावको खर्च वित्तीय प्रणालीमार्फत परिचालन भई यसले तरलता संकटको स्थितिमा केही सुधार ल्याउने विश्वास पोखरेलको छ । चुनाव होला कि नहोला भन्ने अन्योलबीच उम्मेदवारी दर्ता प्रक्रिया अघि बढेसँगै लगानीकर्ता आगामी दिनमा बजार सकारात्मक बन्नेमा आशावादी देखिएको उनको बुझाइ छ । आगामी दिनमा पनि बजार यही गतिमा बजार बढ्छ या घट्छ भन्नुभन्दा पनि चुनाव हुने निश्चित भएपछि लगानीकर्ताको मनोबलमा सकारात्मक प्रभाव परेको उनले बताइन् ।
धितोपत्र दलाल व्यवसायीले पनि स्थानीय चुनाव हुने पक्का भएसँगै आइतवार कारोबारका लागि सकारात्मक माहोल बनेको प्रतिक्रिया दिए । कोहिनुर इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ३५) का प्रबन्ध निर्देशक एवम् स्टक ब्रोकर एशोसिएशनका पूर्वअध्यक्ष भरत रानाभाटले पनि बजार सकारात्मक बन्नुको पछाडि चुनावी माहोलको मुख्य हात रहेको स्वीकार गरे ।

विश्व बैंकको पछिल्लो विज्ञप्तिले पनि शेयर बजार उकास्न मद्दत गरेको उनको बुझाइ छ । विश्व बैंकले बिहीवार नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै नेपालको सार्वजनिक ऋण पछिल्लो ५ वर्षमा उल्लेख्य बढेको तर ऋणको जोखिम नरहेको स्पष्ट पारेको थियो । नेपाली अर्थतन्त्र पनि श्रीलंकापथमा अग्रसर रहेको चर्चाबीच आएको विश्व बैंकको विज्ञप्तिले लगानीकर्ताको मनोबल बढाएको रानाभाटको अनुमान छ ।

वित्तीय प्रणालीमा तरलता अभाव भइरहेको बेला ब्रोकरमार्फत प्रवाह हुने मार्जिन लोनमा धितोपत्र बोर्डले सहज वातावरण बनाउने तयारी गरेको समाचार बाहिरिनुसँग पनि आइतबारको बजारको सम्बन्ध देख्छन् उनी । ‘यसले पनि लगानीकर्ताको मनोबल बढायो,’ रानाभाटले भने । मार्जिन लोनमा देखिएका बाधा, अप्ठ्यारा फुकाउन बोर्ड सहमत भए करीब दुई दर्जन ब्रोकरबाट सेवा प्रवाह भई तरलताका कारण प्रभावित बनेको बजार सुधार हुनेमा रानाभाट आशावादी छन् ।

आइतवार एकै दिन लगानीकर्ताको सम्पत्ति मूल्य १ खर्ब ३५ अर्ब ८८ करोड रुपैयाँभन्दा धेरैले बढेको छ । गत बिहीवार ३३ खर्ब ७ अर्ब ९२ करोड रहेको कुल बजार पूँजीकरण आइतवार ३४ खर्ब ४३ अर्ब ८१ करोड नाघेको छ । यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । गत बिहीवार १ अर्ब ६२ करोड ९१ लाखभन्दा बढीको कारोबार भएकोमा आइतवार २ अर्ब ५३ करोड १२ लाख रुपैयाँभन्दा माथि पुगेको छ ।

यस दिन जलविद्युत् समूहको सर्वाधिक ५७ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भयो । २३८ कम्पनीको धितोपत्र कारोबार भएकोमा २२२ ओटाको मूल्य बढेको छ । यीमध्ये पनि ३ दर्जन कम्पनीको धितोपत्रको मूल्य उच्च दरमा बढेको छ । यस दिन ४ कम्पनीको धितोपत्रको मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर छ । आइतवारको कारोबारबाट वित्त समूहका लगानीकर्ताले सबैभन्दा धेरै कमाए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)