ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इन्द्रेणी पार्क निर्माण अन्तिम चरणमा

२०७९ बैशाख, १३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा मंगला इन्द्रेणी पार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आर्थिक वर्ष २०७५/०७६ मा शुरु गरिएको पार्कको करीब ९० प्रतिशत काम सकिएको छ ।

मंगलामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने तथा स्थानीयलाई शारीरिक व्यायाम, बिश्रामसहित आनन्दको अनुभूति दिलाउने उद्देश्यले गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको परिकल्पनामा पार्क निर्माण योजना अघि सारिएको थियो ।

इन्द्रेणी पार्कमा हालसम्म संग्रहालय भवन, प्रतीक्षालय, जेष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालय, स्नानकक्षलगायत भौतिक संरचना निर्माण भइसकेछन् । पार्कको विभिन्न भागमा रेलिङ र सिँढी बनाइएको छ । शारीरिक व्यायामका लागि रनिङ स्पट पनि तयार भइसकेको छ ।

पार्कलाई हरियाली र आकर्षक बनाउन खण्ड खण्ड बनाएर विभिन्न प्रजातिका फूल रोपिएको छ भने बाह्रैमास हरियो हुने दुबो पनि सारिएको छ । फूल र दुबोलाई हरियो राख्न नियमित पानी हाल्ने गरिएको छ ।

पार्क निर्माणमा १ करोड ८ लाख रुपैयाँ खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले जानकारी दिए । उनका अनुसार पार्क निर्माणमा गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा २५ लाख, ०७६/०७७ मा २५ लाख र ०७७/०७८ मा २१ लाख रुपैयाँ विनियोजन गरेको छ ।

उपभोक्ता समितिबाट योजना सञ्चालन गरिएकाले प्रत्यक वर्ष विनियोजित बजेटको १० प्रतिशतले स्थानीयले श्रमदान गरेका छन् । पार्कभित्रै दुईतल्ले दुईओटा हल भएको मंगला संग्रहालय भवन निर्माण गरिएको छ ।

दुई आर्थिक वर्षमा पालिकाबाट विनियोजन भएको ३६ लाख ८० हजार र स्थानीयको श्रमदान गरी कुल ४० लाखको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले बताए ।

संग्रहालय भवनमा पालिकाभित्रका ऐतिहासिक तथा पुरात्वात्तिक वस्तु, विभिन्न जातजाति, समूह तथा वर्गका शीप, कला, संस्कृति तथा मौलिकता झल्किने महŒवपूर्ण सामग्री संकलन गरेर राखिनेछ । त्यसका लागि भवनभित्र आवश्यक संरचना तयार पार्ने काम भइरहेको छ ।

मंगला गाउँपालिका–२, बाबियाचौरमन इन्द्रबहादुर र सम्मरबहादुर अधिकारीको परिवारले पार्कका लागि जग्गा उपलव्ध गराएको हो । म्याग्दी नदी किनारको ४ रोपनी जग्गा इन्द्रबहादुर अधिकारीले गाउँपालिकालाई निःशुल्क दिएका हुन् भने ५ आना जग्गा सम्मरबहादुर अधिकारीले पालिकाबाट जम्मा ३ लाख रुपैयाँमात्रै लिएर सहयोगस्वरूप प्रदान गरेका थिए ।

झन्डै २१ सय वर्गमीटर क्षेत्रफलमा निर्मित पार्कलाई निःशुल्क जग्गा दिने इन्द्रबहादुर अर्धकदको सालिक बनाउने तयारी समेत भइरहेको गाउँपालिका अध्यक्ष रोकाले बताए । पार्कमा आकर्षक बालउद्यान समेत बनाउने योजना छ ।

हरियाली बनाउने काम पनि अझै बाँकी रहेकाले सबै पूरा भएपछि मात्रै पार्क सञ्चालनमा ल्याइने अध्यक्ष रोकाले जानकारी दिए । पालिकाको केन्द्र बाबियाचौर बजारको आकर्षणका रुपमा मंगला पार्क रहनेछ । संग्रहालयमा मंगलाका विशेषता हेर्न पाइन्छ ।

नदी किनारमा भएकाले स्वच्छ र शान्त वातावरणसहित बालबच्चादेखि वृद्धवृद्धासम्म सबैलाई मनोरञ्जन र आनन्दको महशुस हुने गरी पार्क निर्माण गरिएको छ । यसले मंगलामा आन्तरिक पर्यटनलाई समेत प्रवर्द्धन गर्न सक्ने अपेक्षा गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)