ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अर्थतन्त्रको आकार साढे ४८ खर्ब पुग्ने अनुमान

२०७९ बैशाख, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । नेपाली अर्थतन्त्रको आकार (जीडीपी) चालू आर्थिक वर्ष (आव) को अन्त्यसम्ममा ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ बराबर पुग्ने केन्द्रीय तथ्यांक विभागले अनुमान गरेको छ । यो उपभोक्ता मूल्यमा आधारित अनुमान हो । आधार मूल्यअनुसार भने यस वर्ष अर्थतन्त्रको आकार ४१ खर्ब ५ अर्ब ५४ करोड रुपैयाँ बराबर हुनेछ ।

जीडीपी वृद्धिदरको प्रतिशत उपभोक्ता मूल्यमा ५ दशमलव ८४ र आधारभूत मूल्यमा ५ दशमलव ४९ हुने विभागको अनुमान छ । कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर गणनाका लागि आव २०६७/६८ लाई आधार वर्ष मानिएको छ ।

विभागको अनुमान २ दिनअघि अन्तरराष्ट्रिय मुद्राकोषले गरेको प्रक्षेपण ४ दशमलव १ प्रतिशतभन्दा बढी हो । तर, सरकारले प्रतिस्थापन बजेटमा राखेको ७ प्रतिशत वृद्धिदरको लक्ष्यभन्दा कम हो ।

विश्व बैंकले अघिल्लो साता सार्वजनिक गरेको प्रक्षेपणमा भने यो वर्ष नेपाली अर्थतन्त्रको वृद्धिदर ३ दशमलव ७ प्रतिशत रहने उल्लेख थियो । एशियाली विकास बैंकले उक्त वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

विभागले चालू आव २०७८/७९ को ६ देखि ९ महीनासम्मको आर्थिक क्षेत्रसँग सम्बद्ध आँकडा तथा सूचनाका आधारमा आर्थिक वृद्धिदरको अनुमान गरेको बिहीवार आयोजित पत्रकार सम्मेलन जानकारी दियो । आर्थिक वर्ष सकिन तीन महिनामात्रै बाँकी रहेको र त्यस अवधिमा जीडीपीमा प्रभाव पार्ने ठूलो कारक देखा नपर्ने तथा कोभिड–१९ को असर कम भएको आधारमा यो अनुमान सही साबित हुने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।

गत आव २०७७/७८ को आर्थिक वृद्धिदर भने उपभोक्ता मूल्यअनुसार ४ दशमलव ३ प्रतिशत रहने अनुमान विभागले गरेको छ । त्यसैगरी आव २०७६/७७ को वृद्धिदर २ दशमलव ४२ प्रतिशत ऋणात्मक रहेको अन्तिम अनुमान विभागले सार्वजनिक गरेको छ । हालसम्म सो वर्षको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक रहेको अनुमान गरिएको थियो ।

चालू आवमा कुल गार्हस्थ्य उत्पादनमा सेवा र द्वितीय क्षेत्रको योगदान केही बढ्न गएको विभागले जानकारी दिएको छ । तर, प्राथमिक क्षेत्रको योगदान घटेको छ । समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक, द्वितीय र सेवा क्षेत्र गरी प्रमुख तीन समूहमा विभाजन गरेर तथ्यांक विश्लेषण गरिएको विभागको भनाइ छ ।

प्राथमिक क्षेत्रमा कृषि वन तथा मत्स्य र खानी तथा उत्खनन क्षेत्र पर्छन् । ‘चालू आवको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले २४ दशमलव ५ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ,’ विभागले भनेको छ । अघिल्लो आव  २०७७/७८ को तुलनामा चालू आव २०७८/७९ मा प्राथमिक क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा २ दशमलव ४४ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । चालू आवमा धानबालीको उत्पादनमा भएको ह्रासले गर्दा यस क्षेत्रको उत्पादनमा गत आवको भन्दा कम वृद्धिदर रहेको हो ।

चालू आवको कुल गार्हस्थ्य उत्पादनमा द्वितीय क्षेत्रको योगदान १३ दशमलव ७ प्रतिशत रहने प्रारम्भिक अनुमान विभागले गरेको छ ।

अघिल्लो आवको तुलनामा चालू आव २०७८/७९ मा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा १० दशमलव २९ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । खासगरी माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट गत आवको अन्त्यदेखि विद्युत् उत्पादन शुुरू, निर्माण कार्यमा वृद्धि तथा औद्योगिक उत्पादनमा वृद्धि आदिका कारणले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदरमा सकारात्मक प्रभाव पारेको बताइएको छ । द्वितीय क्षेत्रमा उद्योग, विद्युत् तथा ग्यास, पानीको आपूर्ति र निर्माण क्षेत्र पर्छन् ।

सेवा क्षेत्रअन्तर्गत थोक तथा खुद्रा व्यापार, आवास तथा भोजन सेवा, यातायात सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, घरजग्गा कारोबार, पेशागत तथा प्रशासनिक व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सेवा पर्छन् । चालू आवको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले ६१ दशमलव ८ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान छ । अघिल्लो आव २०७७–७८ को तुलनामा चालू आवमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा ५ दशमलव ९३ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । कोभिड–१९ महामारीले ऋणात्मक भएका आवास तथा भोजन सेवा र यातायात क्षेत्रका आर्थिक क्रियाकलापमा भएको वृद्धि तथा व्यापार तथा निर्माण क्रियाकलापमा भएको वृद्धिको कारण यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर बढी भएको विभागले बताएको छ ।

विभागले यो वर्ष आयात २० खर्ब र निर्यात ३ खर्ब २० अर्ब रुपैयाँ बराबर पुग्ने अनुमान गरेको छ । प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १ हजार ३७२ अमेरिकी डलर हुनेछ । नेपालीको प्रतिव्यक्ति औसत आम्दानी १ हजार ३८१ डलर पुग्नेछ । अघिल्लो वर्षको प्रतिव्यक्ति औसत आम्दानी १ हजार २४६ डलर कायम हुने विभागको अनुमान छ । यो वर्ष कुल घरेलु बचत भने जीडीपीको ९.३ प्रतिशत हुने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)