ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सर्वोत्तम सिमेन्टको आईपीओ : मूल्य गोप्य बोलपत्रबाट तय हुने

२०७९ बैशाख, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

बैशाख १६, काठमाडौं । सर्वोत्तम सिमेन्टले निष्कासन गर्न लागेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को मूल्य सीमा निर्धारणको विषय टुंगो लागेको छ । कम्पनीले बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गर्न गोप्य (शिलबन्दी) बोलपत्रमार्फत मूल्य निर्धारण गर्ने भएको हो ।

यसका लागि बिहीवार धितोपत्रको दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) र कम्पनीबीच सम्झौता भएको छ । यस विधिमार्फत आईपीओको मूल्य निर्धारणका लागि बजार सञ्चालकले स्वचालित विद्युतीय बोलकबोल (बिडिङ) प्रणाली निर्माण गर्नुपर्ने हुन्छ । उक्त प्रणाली निर्माण नभएसम्मका लागि कम्पनीले शिलबन्दी बोलकबोलमार्फत पनि विक्रीको आवेदन माग गर्न सक्ने व्यवस्था बुक बिल्डिङ निर्देशिकामा छ । 

सोही व्यवस्था कार्यान्वयन गर्दै सर्वोत्तमको आईपीओ जारी गर्ने सम्झौता भएको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिए । तत्काल नेप्सेले स्वचालित विद्युतीय बोलकबोल प्रणाली निर्माण गर्न नसक्ने अवस्थामा विकल्पका रूपमा रहेको गोप्य शिलबन्दी बोलपत्र विधि प्रयोग गरी बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गर्न सकिने पराजुलीले बताए । निर्देशिकामा स्वचालित विद्युतीय प्रणाली निर्माण गर्नुपर्ने व्यवस्था भए पनि हालको अवस्थामा गोप्य शिलबन्दी बोलपत्रमार्फत नै आईपीओ जारी गर्दा प्रभावकारी हुने उनको भनाइ छ ।

मूल्य सीमा निर्धारणको विषय टुंगो लागेसँगै अब ढिला नगरी प्रक्रिया अघि बढाउने विक्री प्रबन्धकको मुख्य जिम्मेवारी पाएको ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ । क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले १ वर्षभन्दा बढी समयदेखि अल्झिएको विषयलाई अब ढिला नगरी अघि बढाउनु आवश्यक रहेको बताए । नयाँ तथा प्रभावकारी मानिएको यो विधि अघि बढाउन अग्रसर रहेको सर्वोत्तमको यात्रालाई सफल बनाउन विक्री प्रबन्धकले प्रभावकारी भूमिका खेल्ने उनको भनाइ छ । यसै आर्थिक वर्षभित्र कम्पनीको आईपीओ निष्कासन प्रक्रिया पूरा गर्ने गरी काम अघि बढाउने ढकालको भनाइ छ ।

के हो अबको प्रक्रिया
बजार सञ्चालकसँग सम्झौतापछि विक्री प्रबन्धकको परामर्शमा प्रारम्भिक विवरणपत्र तयार गर्नुपर्नेछ । उक्त विवरणपत्रको मुखपृष्ठमा ‘बुक बिल्डिङ विधिबाट योग्य संस्थागत लगानीकर्तालाई गरिने धितोपत्र निष्कासनसम्बन्धी विवरणपत्र’ उल्लेख गर्नुपर्नेछ । उक्त प्रारम्भिक विवरणपत्रउपर योग्य संस्थागत लगानीकर्तालाई सहभागी गराई छलफल सञ्चालन गर्नुपर्ने हुन्छ । छलफल सञ्चालनका लागि तय गरिएको समय र स्थानबारे योग्य संस्थागत लगानीकर्तालाई लिखित रूपमा वा राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरी जानकारी गराउनुपर्छ ।

योग्य संस्थागत लगानीकर्ताले छलफल कार्यक्रम सकिएको ५ कार्यदिनभित्र लिखित रूपमा किन्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरीद आशय मूल्य तथा मूल्यांकनको आधारसहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा आफ्नो सुझाव दिन सक्नेछ ।

कम्पनीले खरीद आशय मूल्य लिँदा योग्य संस्थागत लगानीकर्ताका लागि छुट्ट्याइएको सम्पूर्ण धितोपत्र विक्री हुने गरी कम्तीमा १० योग्य संस्थागत लगानीकर्ताबाट आशयपत्र प्राप्त गनुपर्नेछ । कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी धितोपत्रको आधार मूल्य तय गर्नुपर्नेछ । आधार मूल्य तय भएपछि धितोपत्रको विक्री मूल्य सीमा निर्धारण गर्नुपर्ने हुन्छ । धितोपत्रको विक्री मूल्य सीमा निर्धारण गर्दा माथिल्लो सीमा आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य र तल्लो सीमा आधार मूल्यमा २० प्रतिशत घटाउँदा हुने मूल्य कायम गर्नुपर्नेछ । विवरणपत्र प्रकाशन गर्न बोर्डबाट स्वीकृति प्राप्त भएको बढीमा १० कार्यदिनभित्र विक्री प्रबन्धकले योग्य संस्थागत लगानीकर्तालाई बोलकबोलमा सहभागी हुन आ⋲वानपत्र प्रकाशन गर्नुपर्ने हुन्छ । धितोपत्र बजारले संस्थागत लगानीकर्तालाई निष्कासित धितोपत्र पूर्णरूपमा विक्री हुने गरी कटअफ मूल्य निर्धारण गर्नुपर्नेछ । कटअफ मूल्य निर्धारण गरेपछि उक्त मूल्य वा त्यसभन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदकलाई मागबमोजिम कटअफ मूल्यमै धितोपत्र बाँडफाँट गर्नुपर्नेछ । सर्वसाधारणलाई धितोपत्र जारी गर्दा कटअफ मूल्यमा १० प्रतिशत छूट दिई निष्कासन गर्नुपर्नेछ । यो विधिमार्फत निष्कासनमा आउने शेयर किन्न सर्वसाधारणले आवेदन दिने न्यूनतम कित्ता ५० छ भने बाँडफाँट गर्दा पनि प्रतिआवेदक न्यूनतम ५० कित्ता पाउने गरी गर्नुपर्नेछ ।

कम्पनीले निष्कासन गर्ने कित्ता कति ?
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत सर्वसाधारणमा ६० लाख कित्ता आईपीओ विक्री गर्नेछ । कम्पनीले कुल कित्तामध्ये संस्थागत लगानीकर्ताका लागि २४ लाख, उद्योग प्रभावित स्थानीयका लागि ८ लाख र कम्पनीका कर्मचारीसहित अन्य सर्वसाधारणमा २८ लाख कित्ता आईपीओ विक्री गर्ने तयारी गरेको हो । हाल ३ अर्ब ४० करोड चुक्तापूँजी रहेको कम्पनीको आईपीओपछि यो पूँजी ४ अर्ब रुपैयाँ पुग्नेछ । आईपीओको अंकित मूल्य १०० रुपैयाँ भए पनि बुक बिल्डिङ विधिबाट संस्थागत लगानीकर्ताको मूल्यांकनका आधारमा शेयरमूल्य तय हुने व्यवस्था छ । कम्पनीले आन्तरिक मूल्यांकन गर्दा प्रतिकित्ता ७५० रुपैयाँभन्दा बढी मूल्य कायम हुने विश्वास लिएको छ । संस्थागत लगानीकर्ताले ७५० रुपैयाँ मूल्य तोकेमा सर्वसाधारणले १० प्रतिशत कम अर्थात् ६७५ रुपैयाँमै शेयर किन्न पाउनेछन् । नेपाल धितोपत्र बोर्डले वास्तविक क्षेत्रका कम्पनीलाई पूँजीबजारमा भिœयाउने उद्देश्यसाथ २०७७ साउन २८ गतेदेखि बुक बिल्डिङ विधि लागू गरेको हो । वास्तविक क्षेत्रका कम्पनीहरूको आईपीओको मूल्य बजारले नै निर्धारण गर्ने गरी बोर्डले बुक बिल्डिङ विधि लागू गरेको हो । बुक बिल्डिङ विधिबाट निष्कासन हुने शेयर किन्न बोर्डबाट ९५ संस्थागत लगानीकर्ताले स्वीकृति पाएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)