ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बारा–पर्साका उद्योगको उत्पादन शून्य

सानाठूला गरी २ हजार हाराहारी उद्योग रहेको बारा–पर्सा औद्योगिक कोरिडोरमा ४ दिनदेखि विद्युत् आपूर्ति ठप्प

२०७९ बैशाख, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
बारा–पर्सा औद्योगिक कोरिडोर । (फाइल तस्वीर)
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । विद्युत् आपूर्ति ठप्प हुँदा बारा–पर्साका औद्योगिक कोरिडोरका उद्योगहरूको उत्पादन ठप्प भएको छ । यस क्षेत्रका उद्योग प्रतिष्ठानले ४ दिनदेखि बिजुलीको मुख देख्न पाएका छैनन् ।

नेपाल विद्युत् प्राधिकरणले दैनिक १२ देखि १६ घण्टासम्म लोडशेडिङ हुने बताए पनि कोरिडोरका उद्योगमा ४ दिनदेखि विद्युत् आपूर्ति ठप्प छ ।

विद्युत् आपूर्ति ठप्प भएपछि कोरिडोरका उद्योगको उत्पादन शून्यमा झरेको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतमले बताए । यस क्षेत्रमा सानाठूला गरी २ हजार उद्योग रहेको संघको अनुमान छ ।

भारतबाट ५०० मेगावाट बिजुली ल्याएर आपूर्ति भइरहेकोमा उताबाट निकासी रोकिएपछि उद्योगमा आपूर्ति दिन नसकेको प्राधिकरणको भनाइ छ । रूस र युक्रेनबीचको तनावले उत्पन्न कोइला अभावले भारत आफै ऊर्जा संकट सामना गरिरहेको छ । भारतले आन्तरिक आपूर्ति व्यवस्थापनका लागि नेपालतर्फको निकासी बन्द गरेको हो ।

भारतबाट आउने ५०० मेगावाट बिजुली अहिले ३६ मेगावाटमा झरेको प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख जितेन्द्रकुमार झाले बताए । ‘बारा–पर्सा कोरिडोरका उद्योगमा आपूर्ति बन्द गरिएको छ । अहिले गार्हस्थ्य उपभोक्तालाई मात्रै आपूर्ति भइरहेको छ । उद्योगमा बिजुली दिन अझै केही दिन लाग्न सक्छ,’ झाले भने ।

प्राधिकरणले उद्योगमा आलोपालो गरेर आपूर्ति गरिने बताए पनि भारतबाट ल्याउन नसकेपछि लगातार बिजुली काटेको हो । बारा–पर्सा कोरिडोरका उद्योगहरूमा भारतबाट आयातित विद्युत् बढी आपूर्ति हुने गरेकाले बढी प्रभावित भएका छन् ।

आपूर्ति मिलाउने प्रयास भइरहेको पनि झाले जानकारी दिए । ‘आपूर्तिको प्रयास भइरहेको छ । चाँडोमा मंगलवारसम्म उद्योगमा बिजुली आउन सक्छ,’ उनले भने ।

कुलेखानी आयोजनाको पानी ४० प्रतिशत खपत भइसकेको प्राधिकरणले जानकारी दिएको छ । बाँकी रहेको ६० प्रतिशत पानीबाट उत्पादित बिजुलीबाट वितरण व्यवस्था मिलाउनुपर्ने दबाबमा प्राधिकरण छ । नदीमा पानीको बहाव नबढेसम्म ऊर्जा अभाव नहट्ने र जेठ, असारसम्मै यो समस्या रहन सक्ने प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले पहिला कोरिडोरका कम ऊर्जा खपत गर्ने उद्योगमा विद्युत् दिने योजना बनाएको छ ।

शुरूमा १ मेगावाटभन्दा कम ऊर्जा उपभोग गर्नेलाई आपूर्ति दिने र त्यसपछि त्योभन्दा बढी चाहिनेलाई दिने जानकारी पाएको उपाध्यक्ष गौतमको भनाइ छ ।

कोरिडोरमा १ मेगावाटभन्दा बढी खपत गर्ने उद्योग ५० हाराहारी छन् । सिमेन्ट, फलामे डन्डी, दानालगायत उद्योगमा बढी विद्युत् खपत हुन्छ । बारा–पर्सा औद्योगिक कोरिडोरमा मात्रै २०० मेगाावाट विद्युत् चाहिने अनुमान संघको छ ।

प्राधिकरणको ग्रामीण फिडरबाट आपूर्ति लिएका केही उद्योगमा भने ३ दिनमा विद्युत् आएको उद्योगी सुरेश रूंगटाले बताए । शुक्रवार रातिको हावाहुरीका कारण ठाउँठाउँमा पोल ढलेपछि त्यो पनि अवरुद्ध भएको उनले जानकारी दिए । ‘३ दिनमा ३ घण्टाजति बिजुली आएको थियो । हावाहुरीले त्यो पनि गयो,’ रूंगटाले भने । ढलेका पोल मर्मत भइरहेको प्राधिकरणले बताएको छ । प्राधिकरणले परवानीपुर–वीरगञ्ज प्रसारण लाइनको क्षमता बढाउन लागेकाले ग्रामीण र गार्हस्थ्य आपूर्ति पनि रोकिएको बताएको छ । ८० मेगावाट क्षमतालाई बढाएर १६० बनाउन लागिएको झाले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)