ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

९ महीनामा ३३ अर्ब विदेशी लगानी प्रतिवद्धता, चीनपछि स्पेनबाट सर्वाधिक विदेशी लगानीको प्रस्ताव

२०७९ बैशाख, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं  । चालू आर्थिक वर्ष (आव) को ९ महीना (साउन–चैत)मा १४ देशका लगानीकर्ताले नेपालमा उद्योग दर्ता गराएका छन् । गतवर्षको तुलनामा यो वर्ष वैदेशिक लगानी प्रस्तावमा सुधार देखिएको छ । 

नेपालमा लगानी गर्न इच्छा देखाएर प्रक्रिया अघि बढाउने विदेशी व्यवसायीमा चिनियाँ अगाडि छन् । उद्योग विभागका अनुसार कुल वैदेशिक लगानी प्रस्तावमा ७३ दशमलव २१ प्रतिशत अंश चिनियाँ व्यवसायीको छ । चीनपछि यूरोपेली मुलुक स्पेनबाट सर्वाधिक विदेशी लगानीको प्रस्ताव आएको छ ।

विभागको तथ्यांकअनुसार चालू आवको चैतसम्ममा कुल ३३ अर्ब ३७ करोड रुपैयाँ लगानीको प्रस्ताव आएको छ । त्यसमा चीनको अंश २४ अर्ब ४३ करोड रुपैयाँ बराबर छ । चिनियाँ लगानीकर्ताले नेपालको कृषि र वन, आईसीटी, उत्पादनमूलक, सेवा र पर्यटन क्षेत्रमा लगानी गर्न १२१ ओटा प्रतिष्ठान दर्ता गराएका छन् ।

चिनियाँ लगानीकर्ताले सबैभन्दा बढी लगानी प्रस्ताव सेवा, पर्यटन र उत्पादनमूलक उद्योगमा गरेका छन् । चीनबाट सेवामूलक उद्योगमा १२ अर्ब रुपैयाँ लगानी प्रस्ताव आएको हो । त्यसपछि पर्यटन उद्योगमा ९ अर्ब ४५ करोड रुपैयाँ लगानी प्रस्ताव चिनियाँ लगानीकर्ताले गरेका छन् । चीनले प्रस्ताव गरेको लगानीअनुसार व्यवसाय सञ्चालनमा आए तिनमा ७ हजार ४७२ जनाले रोजगारी पाउने विभागको तथ्यांक छ । 

यस अवधिमा चीनपछि दोस्रो नम्बरमा स्पेनबाट झण्डैं ५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानीको प्रस्ताव आएको छ । स्पेनबाट पनि सेवामूलक क्षेत्रमा लगानी गर्ने प्रस्ताव आएको छ । त्यहाँका लगानीकर्ताले एउटा सेवामूलक प्रतिष्ठान विभागमा दर्ता गराएका छन् । उक्त व्यवसायमा ४ अर्ब ८५ करोड रुपैयाँ लगानी गर्ने उनीहरूको योजना छ । स्पेनको लगानीले २९ जनालाई रोजगारी दिनेछ ।

त्यसपछि धेरै लगानी प्रस्ताव गर्नेमा भारतीय व्यवसायी छन् । भारतीयले भने उत्पादनमूलक, सेवा र पर्यटन क्षेत्रमा लगानी प्रस्ताव गरेका छन् । भारतीयले कुल १ अर्ब ७७ करोड रुपैयाँ लगानी प्रस्ताव गरेका छन् । त्यसमध्ये धेरै सेवामूलक क्षेत्रमा १ अर्ब ३३ करोड लगानी प्रस्ताव छ । त्यसपछि उत्पादनमूलक क्षेत्रमा ३९ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव आएको विभागको अभिलेखले देखाउँछ ।

सिंगापुरका लगानीकर्ताले पनि एउटा उत्पादनमूलक व्यवसाय दर्ता गरेर १ अर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेका छन् । अमेरिकाबाट आएको लगानी प्रस्ताव यी पाँच देशको भन्दा कम भए पनि लगानीका क्षेत्र भने धेरै छन् । यो ९ महीनामा अमेरिकी लगानीकर्ताले ४० करोड रुपैयाँ लगानी गर्ने प्रस्तावसहित ९ ओटा प्रतिष्ठान दर्ता गराएका छन् । यसमा आईसीटी, उत्पादनमूलक, सेवा र पर्यटन छन् ।

नेपालमा लगानी गर्ने गर्ने छैटौं देशमा अस्ट्रेलिया छ । त्यहाँबाट यस अवधिमा ३४ करोड ५० लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव आएको छ ।

नेपालको पर्यटन र सेवा क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण धेरै रहेको विभागको तथ्यांकले देखाएको छ । कतिपय देशका लगानीकर्ताले पर्यटनमा मात्रै र सेवामा मात्रै लगानी गर्न चाहेका छन् । यीबाहेक फ्रान्स, इटाली, जापान, दक्षिण कोरिया, स्विजरल्यान्ड, नेदरल्यान्ड, भियतनाम र बेलायतबाट लगानी प्रस्ताव आएको छ । यीमध्ये ९ देशका व्यवसायीले पर्यटनमा लगानी गर्न चाहेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)