ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वर्षा लागेपछि मात्रै नियमित बिजुली

२०७९ बैशाख, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । उद्योगहरूमा विद्युत् आपूर्ति सहज हुन हिउँ पग्लिने र पानी पर्ने मौसम नै पर्खिनुपर्ने भएको छ । भारतबाट तत्काल आवश्यक मात्रामा बिजुली पाउने सम्भावना छैन । यस स्थितिमा आपूर्ति सहज बनाउन हिउँ पग्लिने र वर्षा हुने समय पर्खिनुको विकल्प नभएको हो ।

यस हिसाबले चाँडोमा जेठ दोस्रो सातापछि मात्रै विद्युत् आपूर्ति सहज हुने देखिन्छ । हिमालको फेदको हिउँ चैत/वैशाखमै पग्लिसकेको छ । माथिल्लो भेगको हिउँ ढिलोमा जेठ दोस्रो सातादेखि पग्लिन थाल्छ । त्यसपछि खोला/नदीमा पानीको मात्रा बढ्छ । खोलामा पानी बढेपछि विद्युत् उत्पादन स्वतः बढ्छ । त्यही आधारमा जेठ दोस्रो सातापछि विद्युत् आपूर्ति सामान्य हुने नेपाल विद्युत् प्राधिकरणले बताइरहेको हो ।

प्राधिकरणका प्रवक्ता तथा भारप्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईले जेठ दोस्रो सातादेखि विद्युत् आपूर्ति सहज हुने बताए । ‘जेठ दोस्रो सातादेखि हिउँ पग्लिन थाल्छ र खोलामा पानीको मात्रा पनि बढ्छ,’ उनले भने, ‘त्यसपछि विद्युत् आपूर्तिमा हामी सहज अवस्थामा पुग्छौं र स्वदेशी उत्पादनले नै बजारको माग पूरा गर्न सक्छौं ।’

असारपछि वर्षा शुरू हुन्छ, त्यो बेला खोलामा पर्याप्त मात्रामा पानी हुन्छ । त्यसपछि बिजुली भारत निर्यात नै गर्न सकिने प्राधिकरणको भनाइ छ ।

राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत्को जडित क्षमता २ हजार मेगावाटभन्दा बढी छ । खोलामा पानी कम हुँदा अहिले ८०० मेगावाट हाराहारीमात्रै उत्पादन भइरहेको छ । यही बेला माग चाहिँ १ हजार ६०० मेगावाट छ ।

नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित छन् । त्यसकारण हिउँदमा खोलामा पानी घट्दा विद्युत् उत्पादन स्वतः कम हुन्छ । वर्षामा भने पूर्ण क्षमतामा उत्पादन हुन्छ ।

खोलामा पानीको मात्रा कम भएर स्वदेशी उत्पादन घटेपछि प्राधिकरणले भारतबाट बिजुली ल्याएर माग धानिरहेको थियो । पछिल्लो समय भारतमै विद्युत् उत्पादन घटेको छ । भारतमा कोइलाबाट उत्पादन हुने विद्युत्को अंश बढी छ । रूस–युक्रेन तनावका कारण पछिल्लो समय विश्वभर कोइला अभाव भएको छ । त्यसको असर भारतको विद्युत् उत्पादनमा परेको हो ।

भारतमै उत्पादन घटेपछि प्राधिकरणले त्यहाँबाट पर्याप्त मात्रामा बिजुली ल्याउन सकेको छैन । र, गत हप्तादेखि औपचारिक रूपमै औद्योगिक क्षेत्रमा लोडशेडिङ शुरू गरेको छ । अहिले प्राधिकरणले घरायसी ग्राहकलाई भने २४सै घण्टा बिजुली दिइरहेको छ । औद्योगिक क्षेत्रमा विद्युत् कटौती भइरहेको छ ।

त्यसलाई कम गर्न प्राधिकरण प्रयत्नशील रहे पनि नजीतामूलक काम भएको छैन । लोडशेडिङ हुन थालेपछि औद्योगिक क्षेत्र मारमा परेको छ । इन्धन र बिजुली उद्योगलाई नभई नहुने चिज हुन् । अहिले पेट्रोल तथा डिजेल जस्ता इन्धनको मूल्य पनि आकाशिएको छ । यही बेला लोडशेडिङ हुन थालेपछि उद्योग सञ्चालन प्रभावित भएको व्यवसायी बताउँछन् । ऊर्जा अभावले उद्योगहरू घाटामा जाने र अन्ततः बन्दै हुने डर व्यवसायीलाई छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Ramram

[May 4, 2022 12:48am]

India vanne desh afu pani bandaina neighbour lai pani banna dinna. Yasko kehi kura ma var xaina. Soch ghatiya xa. Afnai project haru xito complete garnuparxa.



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)