ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पहिरोले दुई गाउँ जोखिममा २१ घर परिवार विस्थापित

२०७९ बैशाख, २१  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । बेनी नगरपालिका–३, भकिम्ली तोराखेतको पहिरो नियन्त्रणको कुनै उपाय नभएपछि दुईवटा वडाका दुई गाउँ उच्च जोखिममा परेका छन् । २०६२ सालदेखि खस्न थालेको यो पहिरोले वर्षेनि भीषण रुप लिँदै गएपछि स्थानीय सरकारको बजेटले नियन्त्रण गर्नै नसकिने अवस्थामा पुगेको सरोकारवालाले बताएका छन् ।

पहिरो नियन्त्रणको पहल नहुँदा बेनी नगरपालिका–३, तोराखेत र बेनी नगरपालिका–२, बगरफाँटका ३० भन्दा बढी घर उच्च जोखिममा परेका छन् । पहिरोकै कारण तोराखेतका १७ र बगरफाँटमा ४ घर परिवार विस्थापित भएका छन् ।

२०७२ सालको भूकम्पका कारण जमिनको सतह खल्बलिएपछि पहिरो थप जोखिमपूर्ण बनेको नेपाली कांग्रेस म्याग्दीका पूर्वसचिव मीनबहादुर कार्कीले बताए । शुक्रवार पहिरो निरीक्षणका लागि तोराखेत पुगेका कार्की र नेपाली कांग्रेस म्याग्दीका नेता तथा भकिम्लीका स्थानीयवासी दुर्गाराम सुवेदीले त्यहाँको करिब एक किलोमिटर क्षेत्रफल ओगटेको चट्टानयुक्त जमिनका दर्जन बढी ठाउँमा ठाडो चिरा परेको र मुख्य पहिरोको तलपट्टिका बस्ती र जग्गा पहिलाको स्थानभन्दा तल सरेको जानकारी दिए ।

माथिबाट पहिरो आउने र घरजग्गा रहेको जमिन तलतर्फ भासिने क्रम बढेपछि तोराखेत पहिरो वरपरको क्षेत्रमा बसोवास गर्ने १७ घर परिवारलाई स्थानान्तरण गरी ज्यामरुककोटको भकुण्डे, फापरखेत र बगरफाँटमा राखिएको बेनी नगरपालिका–२, ज्यामरुककोटका वडाअध्यक्ष हिराबहादुर थापाले बताए ।

तल विशाल चट्टाने पहरो, बीचमा भिरालो जमिन र सोही स्थानमा वस्ती रहेको तोराखेत गाउँभन्दा करिब ३०० मीटर माथिबाट भकुण्डे–भकिम्ली जोड्ने कच्ची मोटरबाटो छ । भकिम्लीको चिनाखेत कटेपछि भकिम्ली र ज्यामरुककोटको सीमानजिक पर्ने सात्लेपानीसम्मको अधिकांश भाग चर्केको, धाँजा फाटेको र सोही क्षेत्र वरपर पानीका मूल रहेकोले पनि वर्षाको समयमा पहिरोको खतरा बढेको स्थानीयले बताएका छन् ।

कमजोर भू–बनोट भएको भिरालो गाउँ, गाउँको सिरानमा मोटरबाटो, मोटरबाटोसँगैको पहरो फुटेर बगेको चट्टाने पहिरो, जंगल र जंगल क्षेत्रमा रहेका पानीका मूलहरूको कारण पनि सो पहिरो तोराखेत र बगरफाँटवासीका लागि खतरापूर्ण रहेको पहिरो निरीक्षणका लागि पुग्ने राजनीतिक दलका नेता, सरोकारवाला निकायका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिले बताउँदै आएका छन् । तोराखेत गाउँमाथिको चट्टाने पहिरोबाट बेनी नगरपालिका २ को बगरफाँटलाई ठूलो खतरा छ । तोराखेतको पुछारमा रहेको धुपीरुखतर्फको पहिरोले बगरफाँट उच्च जोखिममा परेको सरोकारवालाले बताए । भिरालो जमिनमाथिबाटै लच्किँदै आएको कारण विगत वर्षहरूमा भन्दा यस वर्षको बर्खायाममा बगरफाँट गाउँ खतरायुक्त रहेको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)