ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्जा लिएका लगानीकर्तालाई मार्जिन कलको त्रास

२०७९ बैशाख, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । दोस्रो बजारमा धितोपत्रको मूल्य घटिरहेकै बेला मार्जिन कलबाट लगानीकर्ता त्रस्त छन् । बैंक, वित्तीय संस्थाबाट मार्जिन प्रकृतिको कर्जा लिएका लगानीकर्तालाई मार्जिन कल आउन शुरू भएको छ । दिनहुँ बजार घट्दै गएको चिन्तामा रहेका उनीहरू मार्जिन कलले चिन्ता थपेको बताउँछन् । 

बैंक, वित्तीय संस्थाले मार्जिन प्रकृतिको कर्जा दिँदा धितोमा राखेको शेयरको मूल्य २० प्रतिशत घटेको अवस्थामा थप रकम वा शेयर धितो राख्न कल गर्छन् । यसले मार्जिन प्रकृतिको कर्जा लिएका लगानीकर्तामा चिन्ताको पारो माथि उक्लेको हो । 

शेयर लगानीकर्ता दबाब समूहका सचिव नयन बास्तोलाले पछिल्लो समय मार्जिन कलका कारण लगानीकर्ता त्रस्त बनेको जानकारी दिए । बजार ऐतिहासिक विन्दुमा उक्लेका बेला कर्जा लिएका लगानीकर्ता अहिले मार्जिन कलको समस्यामा रहेको उनले अनुमान लगाए । बजार यसरी नै घट्दै गए आफूलाई पनि मार्जिन कल आउने डर बास्तोलालाई छ । 

पुरानो लगानीकर्ता भएको र यसबीचमा धितो राखेका शेयरको बोनस र हकप्रद थप भएकाले आफूलाई मार्जिन कल नआएको हुनसक्ने उनको अनुमान छ । वित्तीय प्रणालीमा लगानीयोग्य पूँजीको अभाव रहेको र धितोपत्र मूल्य दिनदिनै घटिरहेको बेला मार्जिन कलको प्रक्रिया पूरा गर्न लगानीकर्तालाई समस्या हुने बास्तोला बताउँछन् । अहिले बजारका लागि नीतिगत परिवर्तन आवश्यक देखिएकाले सरकारले त्यसमा ध्यान दिए बजार सकारात्मक बनी मार्जिन कलको समस्याबाट लगानीकर्ताले मुक्ति पाउने उनको बुझाइ छ । 

अनुभवी लगानीकर्ता एवम् नेपाल इन्भेस्टर्स फोरमकी सचिव दुर्गा तिवारीले पनि लगानीकर्ता मार्जिन कलको चपेटामा पर्न थालेको बताइन् । बजार घटेर आम लगानीकर्ता चिन्तित भइरहेका बेला मार्जिन कलले तनाव बढाएको उनको भनाइ छ । ‘यो समस्या समाधानका लागि तरलता सहज हुनुपर्छ,’ उनले भनिन्, ‘तरलता सहज नभएसम्म मार्जिन कलको समस्या आइरहन्छ ।’ 

धितोपत्रको मूल्य धेरै घटेका बेला घाटामा बेच्न पनि नचाहने र बैंक, वित्तीय संस्थाबाट कर्जा पनि नपाउने समस्याबीच मार्जिन कल त्रासकै विषय रहेको तिवारी बताउँछिन् ।

जुन अनुपातमा बजार घटेको छ, त्यसअनुसार लगानीकर्तामा मार्जिन कलको समस्या नआएको बताइन्छ ।

बजारमा तरलता संकट शुरू भएसँगै मार्जिन प्रकृतिका कर्जा प्रवाहमा पनि कमी आएको तथा अघिल्ला ३ महीनामा लगानीकर्ताले धितोमा राखेका शेयरमा बोनस थपिएकाले मार्जिन सन्तुलनमा रहेको हुनसक्ने अनुमान छ । बजार अझै घटेको खण्डमा भने मार्जिन कलको समस्यामा कर्जा लिने सबै लगानीकर्ता पर्ने जानकार बताउँछन् । गत भदौ २ गते नेप्सेले ३ हजार २०० विन्दु पार गरी कीर्तिमान कायम गरेको थियो ।

त्यसपछि गत मङ्सिर २७ गते २ हजार २५९ दशमलव ५१ विन्दुसम्म झरेको बजारले गत माघ ३ गते ऐतिहासिक विन्दुपछिको उच्च विन्दु छोयो । उक्त दिन नेप्से परिसूचक २ हजार ९५६ विन्दुसम्म उक्लेको थियो । पछिल्लो कारोबार दिन बुधवार नेप्से २ हजार २७५ दशमलव ६८ विन्दु कायम भएको छ । माघ ३ गतेकै उच्च विन्दुलाई आधार मान्दा यसबीचमा नेप्से २३ प्रतिशत घटिसकेको छ ।

बैंक, वित्तीय संस्थाले मार्जिन प्रकृतिको कर्जा ७० प्रतिशतसम्म प्रवाह गर्न सक्ने व्यवस्था छ । लगानीकर्ताले आफ्नो शेयर धितो राखेर एउटा संस्थाबाट ४ करोड र बढीमा ४ बैंकबाट १२ करोड रुपैयाँसम्म यस्तो कर्जा पाउने व्यवस्था छ । बैंक, वित्तीय संस्थाले १८० दिनको औसत मूल्य र बजार मूल्यमा जुन कम हुन्छ त्यसैको आधारमा यो कर्जा प्रवाह गर्दै आएका छन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)