ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेशगत आर्थिक वृद्धिदर अनुमान : बागमती र गण्डकीको राष्ट्रियभन्दा बढी

२०७९ बैशाख, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं  । चालू आर्थिक वर्ष (आव) २०७८/७९ मा बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रियभन्दा माथि हुने देखिएको छ । बाँकी ५ प्रदेशको वृद्धिदर भने राष्ट्रियभन्दा कम हुनेछ ।

केन्द्रीय तथ्यांक विभागले गरेको प्रदेशगत वृद्धिको प्रक्षेपणले यस्तो देखाएको हो । विभागले यो आवमा प्रदेशहरूको अर्थतन्त्रको आकार ४ दशमलव ९३ देखि ६ दशमलव ७४ प्रतिशतसम्मले बढ्ने प्रक्षेपण गरेको हो ।

विभागले अघिल्लो साता राष्ट्रिय अर्थतन्त्रको आकार (जीडीपी) उपभोक्ता मूल्यमा ५ दशमलव ८४ प्रतिशतले बढ्ने अनुमान सार्वजनिक गरेको थियो । बिहीवारको अनुमानले बागमती र गण्डकी प्रदेशले योभन्दा पनि उच्च आर्थिक वृद्धिदर हासिल गर्ने देखाएको छ ।

विभागका अनुसार यो आवमा बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा धेरै ६ दशमलव ७४ प्रतिशत हुने अनुमान छ । गण्डकी प्रदेशले ६ दशमलव १७ प्रतिशतको वृद्धिदर हासिल गर्ने विभागको अनुमान छ । बाँकी पाँचओटा प्रदेशको वृद्धिदर भने राष्ट्रियभन्दा कम हुनेछ । कर्णालीको ५ दशमलव ४७ प्रतिशत, प्रदेश १ को ५ दशमलव ४१ प्रतिशत र लुम्बिनीको ५ दशमलव ३६ प्रतिशत वृद्धिदर रहने विभागको अनुमान छ ।

सबैभन्दा थोरै मधेश प्रदेशको ४ दशमलव ८२ र त्यसपछि सुदूरपश्चिमको ४ दशमलव ९३ प्रतिशत वृद्धिदर रहने विभागको अनुमान छ ।

विभागका निर्देशक गणेशप्रसाद आचार्यले ६ देखि ९ महिनाको तथ्यांकलाई आधार मानेर चालू आर्थिक वर्षको प्रदेशगत आर्थिक वृद्धिदर र राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा योगदानको अनुमानित तथ्यांक तयार गरिएको जानकारी दिए ।

यो वर्षको आर्थिक प्रगतिबारे विभागले गरेको अनुमान विश्व बैंक, एशियाली विकास बैंक, अन्तरराष्ट्रिय मुद्रा कोष जस्ता दातृ निकायको भन्दा उच्च हो । सरकारी अधिकारीहरू त यो वर्षको वृद्धिदर विभागको अनुमानभन्दा पनि बढी हुने दाबी गर्छन् । अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीले बुधवार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको एक कार्यक्रममा चालू वर्षको आर्थिक वृद्धिदर विभागको अनुमान ५ दशमलव ८४ प्रतिशतभन्दा माथि पुग्न सक्ने दाबी गरेका थिए ।

विभागले आर्थिक वर्ष र वृद्धिका आधार फरक हुँदा आफ्नो र अन्तरराष्ट्रिय दातृ निकायको अनुमान फरक देखिने बताएको छ ।

विभाग लगायत अर्थ मन्त्रालयले साउन १ गतेदेखि अर्को वर्षको असार मसान्तसम्मको अवधिलाई आर्थिक वर्ष मानेर तथ्यांक तयार गर्ने गरेका छन् । विश्व बैंक, एशियाली विकास बैंक, अन्तरराष्ट्रिय मुद्रा कोष जस्ता निकायले भने इस्वी सम्वतका आधारमा नेपालको अर्थतन्त्रसम्बन्धी तथ्यांक तयार गर्छन् । यसो गर्दा दुईओटा आर्थिक वर्षका आधा आधा अवधि पर्न जान्छ ।

विभागका निर्देशक आचार्यले स्थानीय तह निर्वाचनले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने हुँदा आर्थिक वृद्धिदर धेरै हुने अनुमान गरिएको बताए । अन्तरराष्ट्रिय संस्थाले स्थानीय चुनावले पार्ने सकारात्मक प्रभावलाई आधार नबनाउँदा उनीहरूको अनुमान फरक परेको विभागको भनाइ रहेको छ ।  

विभागका अनुसार यो वर्ष प्रदेशहरूमा सबैभन्दा ठूलो अर्थतन्त्र बागमती र सबैभन्दा सानो कर्णालीको हुनेछ । चालू आर्थिक वर्षको अनुमानित राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन ४८ खर्ब ५२ अर्बमा सबैभन्दा बढी योगदान बागमती प्रदेशको ३६ दशमलव ९ प्रतिशत हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)