ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतमा २०० मेगावाट बिजुली बेच्न टेन्डर

पहिलोपटक व्यावसायिक रूपमा विद्युत् निर्यात हुँदै

२०७९ बैशाख, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । अहिले औपचारिक रूपमै लोडशेडिङ गरिरहेको नेपाल विद्युत् प्राधिकरणले आगामी वर्षात्मा भने २०० मेगावाट बिजुली भारतमा विक्री गर्ने भएको छ । प्राधिकरणले बोलकबोल (टेन्डर) मार्फत उक्त परिमाणको बिजुली भारतमा विक्री गर्न लागेको हो ।

प्राधिकरणले नेपालका विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन हुने २०० मेगावाट बिजुली भारतमा विक्री गर्नेछ । यसका लागि शुक्रवार टेन्डर सूचना प्रकाशित गरी भारतीय विद्युत् व्यापार कम्पनीलाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।

प्राधिकरणले साढे ४ महीना (२०२२ जुलाई १ देखि नोभेम्बर १५) सम्मका लागि त्यो बराबरको बिजुली भारत विक्री गर्न लागेको हो । उक्त विद्युत् किन्न इच्छुक भारतीय कम्पनीहरूले जेठ १३ गते (मे २७) मध्याह्न १२ बजेसम्म प्रस्ताव पेश गरिसक्नुपर्ने छ । सोही दिन प्राप्त प्रस्ताव खोलिने प्राधिकरणको भनाइ छ ।
इच्छुक कम्पनीले न्यूनतम ५० मेगावाट विद्युत् किन्ने गरी प्रस्ताव पेश गर्नुपर्ने शर्त राखिएको छ । विद्युत् खरीदविक्री दरका लागि भने सीमा तोकिएको छैन । टेन्डरमा जुन कम्पनीले धेरै दर तोक्छन्, उनीहरूलाई नै छनोट गरिने प्राधिकरणको भनाइ छ ।

यो टेन्डर सफल भएमा प्राधिकरणले पहिलोपटक भारतमा व्यावसायिक रूपमा विद्युत् निर्यात गर्न शुरू गर्नेछ । यसअघि विद्युत् आदानप्रदान वा इनर्जी बैंकिङको रूपमा भारतमा निर्यात गर्दै आएको थियो । प्राधिकरणले नेपालका विभिन्न ६ जलविद्युत् आयोजनाको ३६४ मेगावाट विद्युत् भारतमा विक्री गर्न पाउने गरी स्वीकृति पाएको छ ।

त्यसमध्येबाट २०० मेगावाट स्थिर मूल्य दरमा विक्री गर्ने गरी टेन्डर आह्वान गरिएको हो । प्राधिकरणले त्यसबाहेकको बिजुली भने भारतीय खुला विद्युत् बजार (डे अहेड मार्केट) मा दैनिक बिडिङ गरेर विक्री गर्न सक्नेछ ।

प्राधिकरणले भारतीय खुला विद्युत् बजारमा बिजुली किनबेच गर्न पाउने गरी यसअघि नै स्वीकृति पाइसकेको थियो । स्वीकृतिअनुसार प्राधिकरणले भारतीय बजारमा दैनिक बिडिङ गरेर पनि बिजुली किनबेच गर्न पाउनेछ । त्यसरी बिजुली किनबेच गर्दा हरेक दिन विक्री मूल्य फरक हुनेछ । साथै, टेन्डरमार्फत स्थिर मूल्यमा पनि बिजुली किनबेच गर्न पाइनेछ । अहिले प्राधिकरणले भारतको खुला बजारबाट दैनिक बिड गरेर विद्युत् आयात गरिरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले टेन्डरमार्फत भारतमा २०० मेगावाट विद्युत् विक्री गर्ने प्रक्रिया अगाडि बढाएको बताए । ‘भारतीय बजारमा ३६४ मेगावाट विद्युत् विक्री गर्न हामीले अनुमति पाइसकेका छौं । त्यसमा २०० मेगावाट टेन्डरमार्फत विक्री गर्न लागेका हौं,’ उनले भने, ‘भारतीय कम्पनीहरू के कसरी आउँदा रहेछन्, त्यो हेर्न पनि हामीले टेन्डर गरेका हौं । त्यसपछि पनि विद्युत् बाँकी भएमा डे अहेड मार्केटमा विक्री गर्न सक्नेछौं ।’ सुक्खा यामका कारण अहिले स्वदेशी उत्पादन कम हुँदा प्राधिकरणले भारतबाटै विद्युत् आयात गरिरहेको छ । तर, उसले भारतबाट मागअनुसार बिजुली पाउन सकेको छैन । भारतमा कोइलाबाट विद्युत् उत्पादन हुन्छ । रूस–युक्रेन तनावका कारण पछिल्लो समय कोइला अभाव हुँदा भारतको विद्युत् उत्पादन घटेर उतै लोडशेडिङ हुन थालेको छ । फलस्वरूप प्राधिकरणले त्यहाँबाट बिजुली पाउन नसकेको हो । आपूर्ति व्यवस्थापन गर्न यहाँ पनि औद्योगिक क्षेत्रमा लोडशेडिङ गर्न थालिएको छ ।

वर्षात्को समयमा खोलामा पानी बढेपछि यहाँको उत्पादन स्वत: बढ्छ । वर्षात्मा नेपालका जलविद्युत् आयोजनाहरू कुल क्षमतामै सञ्चालन हुन्छन् । त्यो अवस्थामा भने नेपालमा मागभन्दा बढी विद्युत् उत्पादन हुने गर्छ । अहिले राष्ट्रिय प्रसारण लाइनमा विद्युत्को कुल जडितक्षमता २१९१ मेगावाट छ । वर्षात्मा उक्त बराबर विद्युत् उत्पादन हुन्छ । अहिले नेपालको अधिकतम विद्युत् माग १६०० मेगावाट छ । त्यसअनुसार वर्षात्मा झन्डै ६०० मेगावाट विद्युत् खेर जाने अवस्था आउँछ । यसअघि २०७७ पुसमा प्राधिकरणले भारतमा २५ मेगावाट विद्युत् विक्री गर्ने गरी टेन्डर हालेको थियो । भारतको एनटीपीसी विद्युत् व्यापार निगम एनभीभीएनमार्फत भारतकै बीआरपीएल नामक कम्पनीले आह्वान गरेको टेन्डरमा प्राधिकरणले प्रतियुनिट ६ रुपैयाँ ६२ पैसा (४ दशमलव १४ भारतीय रुपैयाँ) मा त्यस बराबरको विद्युत् विक्री गरी प्रस्ताव पेश गरेको थियो । अन्त्यमा प्राधिकरण उक्त टेन्डरबाट बाहिरिएको थियो । त्यसबेला भारतमा बिजुली पर्याप्त थियो । नेपालले पनि सोही दरमा बिजुली किन्दै आएको थियो । सोही दरमा प्रस्ताव पेश गर्दा प्राधिकरण बाहिरिएको थियो । तर, यसपालि बिजुली विक्री हुने विश्वास गरिएको छ । अहिले भारतीय बजारमा विद्युत् संकट छ । त्यहाँ भारू १२ मै विद्युत् किनबेच हुने गरेको छ । त्यस अवस्थामा नेपालको विद्युत् सहजै विक्री हुने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)