ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्ज र रक्सौलमा २ हजार ५ सय आयातित गाडी थुप्रिए

२०७९ बैशाख, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । एक महीनाअघि आयातकर्ताले मालसामान नल्याएर भन्सार परिसर नै खाली हुने अवस्थामा पुगेको बताउने वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल सोमवार भने भन्सार आयातित सवारीसाधनले भरिभराउ भइसकेको बताइरहेका थिए । ‘दिनदिनै नयाँ सवारीसाधन थपिएका छन्, भन्सार हातामा जता हेर्‍यो, गाडीमात्रै देखिन्छ । भन्सार क्षेत्रमा हिँड्नै नमिल्ने भइसक्यो,’ प्रमुख भन्सार अधिकृत पौडेलले सुनाए ।

विदेशबाट आयातित सवारीसाधन आयातकर्ता व्यवसायीले समयमै भन्सार छुटाएर नलैजाँदा मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज र सीमापारि रक्सौलका गोदाममा यतिबेला २ हजार ५ सयको हाराहारीमा सवारीसाधन थुप्रिएका छन् ।

बढ्दो आयातले विदेशी मुद्रा सञ्चितिमा दबाब बढेको भन्दै सरकारले गाडीलगायत विलासी वस्तुको आयातमा कडाइ गरेपछि सवारीसाधनका लागि नयाँ प्रतीतपत्र (एलसी) खुल्ने र भन्सार छुटाउने काम ठप्प भएको थियो । मुख्य नाका वीरगञ्ज भन्सारबाट १ सातासम्म एउटै गाडी नछुट्ने अवस्था पनि आएको थियो । ‘अहिले भन्सार परिसरमा जाताततै गाडी नै गाडी देखिन्छन्,’ पौडेलले भने ।

सरकारले सवारीसाधन आयातलाई खुकुलो बनाएकाले भन्सारमा गाडीको चाप बढेको भने होइन । बरु सवारीसाधन आयातमा सरकारले कडा नीति लिँदै छ भन्ने सूचना चुहिएकाले त्यतिबेला खुलेका एलसीका सवारीसाधन अहिले धमाधम भित्रिइरहेको वीरगञ्ज भन्सारका एक अधिकारीले दाबी गरे ।

त्यतिबेला व्यवसायीले हतारमा खोलेका एलसीका गाडी अहिले भित्रिए पनि भन्सार छुटाउने पैसा नभएपछि गाडी भन्सार र आसपास क्षेत्रका गोदाममा थन्किएका हुन् ।

कडाइअघि खुलेका एलसीबाट अहिले भन्सारसम्म गाडी आइपुगे पनि आयात र गाडी कर्जामा कडाइ गरिएकाले बजारमा गाडीको माग नै नभएको व्यवसायीले बताउने गरेका छन् ।

आयातकर्ताले भित्र्याएका गाडीले भन्सारको यार्ड भरिए पनि जाँचपास भने नगराएको प्रमुख भन्सार अधिकृत पौडेलले बताए । भन्सारमा लाग्ने राजस्व तिर्ने पैसा नभएको भन्दै आयातकर्ताले गाडी थन्क्याएर राखेका छन् । ‘गाडी धमाधम भित्रिएका छन् । तर, आयातकर्ता राजस्व तिरेर गाडी लैजान पैसा छैन भन्छन्,’ उनले भने ।

आयातमा कडाइको सुइँको पाएर खुलेका एलसीबाट भित्रिएका गाडी आयातकर्ताले नछुटाएपछि वीरगञ्ज र सीमावर्ती भारतीय शहर रक्सौलका गोदाममा करीब २ हजार ५ सय थान थन्किएको भन्सार अधिकारीहरू बताउँछन् । तीमध्ये भन्सारको आईसीपी क्षेत्रमा करीब ८०० गाडी भएको पौडेलले जानकारी दिए । तीमध्ये ४०० जति जीप, कार हुन् । सोही हाराहारीमा ट्रक, बसका नयाँ चेसिस छन् । आयातकर्ता सिप्रदीको मात्रै रक्सौलस्थित गोदाममा १ हजार ट्रक, बसका नयाँ चेसिस छन् । रक्सौलमा ७ सयजति जीप, कार रहेको भन्सारका अधिकारीहरूले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)