ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आज देशैभरि स्थानीय तहको निर्वाचन

स्थानीय तहका जनप्रतिनिधिका लागि हुने मतदानमा पद, पैसा र पहुँचबाट प्रभावित नभई मतदान गर्न आग्रह

२०७९ बैशाख, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । आज (शुक्रवार) देशैभरि स्थानीय तह निर्वाचन हुँदै छ । नयाँ संविधानअनुसार स्थानीय तहका लागि यो दोस्रो निर्वाचन हो ।

७५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र उपाध्यक्षसहितको पदमा निर्वाचन हुन लागेको हो । त्यसैगरी ६ हजार ७४३ वडाध्यक्षका लागि पनि निर्वाचन हुनेछ । कुल ३५ हजार २२१ सदस्य निर्वाचनबाट चुनिनेछन् । निर्वाचनमा कुल १ लाख ४१ हजारभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन् ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदातालाई स्थानीय तहका जनप्रतिनिधिका लागि हुने मतदानमा पद, पैसा र पहुँचबाट प्रभावित नहुन अपील गरेका छन् । निर्वाचनको तयारी पूरा भएकोबारे जानकारी दिन बिहीवार आयोजित पत्रकार सम्मेलनमा उनले प्रलोभनमा नपरी मतदान गर्न मतदातालाई आह्वान गरे ।

‘प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशिला र लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन भएको र कानूनबमोजिम योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने, निर्वाचित हुने र मतदान गर्ने अवसर तथा अधिकार निर्वाचनले प्रदान गर्छ,’ उनले भने, ‘पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित भई लोभलालच, प्रलोभन, आश्वासन वा अन्य कुनै प्रभावमा नपरी आफ्नो विवेकको मत सही तरीकाले सही ठाउँमा प्रयोग गर्न सबै मतदाता महानुभावहरूप्रति हार्दिक आह्वान गर्दछु ।’

थपलियाले निर्वाचनको स्वच्छता र विश्वसनीयतामा कुनै प्रश्न उठ्न नसक्ने वातावरण बनाउन सरोकारवाला सबैलाई आग्रहसमेत गरेका छन् । उनले थपे, ‘कसैको प्रलोभन र प्रभावमा नपरी आफूलाई मन परेको उम्मेदवारको निर्वाचन चिह्नमा स्वस्तिक छाप लगाई आफूले प्रदान गरेको अमूल्य मत बदर नहुने गरी, सही तरीकाले निर्धक्क मतदान गर्नुहुन र मतदान प्रक्रियालाई सफल बनाउन आग्रह गर्दछु ।’

मतदानको अघिल्लो दिन १८ वर्ष पुग्ने सबै नागरिकलाई मतदानको अधिकार भएको ऐतिहासिक निर्वाचन भएको थपलियाले बताएका छन् । शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति हुने गरी सुरक्षा व्यवस्था मिलाइएको उनले बताए । मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिका मतगणना केन्द्रमा जम्मा गरेर तत्काल गणना कार्य शुरू गर्ने व्यवस्था पनि गरिएको उनले जानकारी दिए ।

मत हाल्न के चाहिन्छ ?
मतदाता नामावलीमा नाम समावेश भएकाहरूले नागरिकतालगायत परिचय खुल्ने सरकारी कागजात देखाएर मतदान गर्न पाइने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तहको निर्वाचनमा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गाधनी प्रमाण पुर्जाको सक्कल प्रमाणका आधारमा मतदाता नामावलीका आधारमा मतदान गर्न पाउनेछन् ।

‘मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाण पुर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था गर्न सम्बद्ध निर्वाचन अधिकृतलाई निर्देशन पठाइसकिएको छ,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)