ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेशी कम्पनीमा पनि पुनर्बीमा गर्ने बाटो खुल्यो

२०७९ बैशाख, ३१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । अन्तत: बीमा समितिले पुनर्बीमा सहज हुने गरी नयाँ नीति ल्याएको छ । बीमा कम्पनीहरूले स्वदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने गरी नीति ल्याएपछि चौतर्फी रूपमा आलोचना भएको थियो । यसैबीच समितिले विदेशी कम्पनीमा पनि पुनर्बीमा गर्न सक्ने गरी बीमा कम्पनीहरूलाई बाटो खोलिदिएको हो ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पुनर्बीमामा केही लचिलो नीति ल्याइएको बताए । ‘पुनर्बीमासम्बन्धी यसअघिको निर्देशिका विवादमा परेपछि मेरै संयोजकत्वमा एक अध्ययन समिति बनेको थियो । सोही समितिको प्रतिवेदनपश्चात् केही लचिलो नीति ल्याएका छौं,’ उनले भने, ‘अब पनि बीमा कम्पनीहरूले स्वदेशी पुनर्बीमा कम्पनीलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्छ । तर, विदेशमा पनि पुनर्बीमा गर्न पाउने व्यवस्था गरिएको छ ।’

पहिला त पुनर्बीमा कम्पनीले सरकारले निर्धारण गरेबमोजिमको प्रत्यक्ष अंशबापतको व्यवसाय कुनै पनि हालतमा स्वीकार गर्नुपर्छ । पहिला स्वदेशी पुनर्बीमा कम्पनीले प्रत्यक्ष अंशअन्तर्गत जोखिम कम हुने व्यवसाय मात्र लिने गरेका थिए । त्यसपछि समितिले यस्तो निर्देशन जारी गरेको हो ।

यस्तै, बीमकले ट्रिटी पुनर्बीमाअन्तर्गत पुनर्बीमा गर्दा प्रत्यक्ष अंशबाहेकमा प्रथम वर्ष कम्तीमा १५ प्रतिशत र दोस्रो वर्षदेखि कम्तीमा २० प्रतिशत पुनर्बीमा प्रत्येक पुनर्बीमकलाई दिनुपर्नेछ । त्यसबाहेकको पुनर्बीमा भने विदेशी कम्पनीमा पनि गर्न सकिने बताइएको छ ।

यद्यपि, यात्रा तथा स्वास्थ्य बीमाबाहेक मोटर बीमा, कृषिबीमा, लघु बीमा तथा विविध बीमालाई स्वदेशमा नै शतप्रतिशत पुनर्बीमा गर्नुपर्ने समितिको निर्देशन छ । त्यसअनुसार कम्पनीहरूले यात्रा तथा स्वास्थ्य बीमाको पुनर्बीमा विदेशी कम्पनीमा गर्न सक्नेछन् ।

यस्तै, फ्याकल्टेटिभ पुनर्बीमामा पहिला शतप्रतिशत नै स्वदेशी कम्पनीलाई दिनुपर्नेछ । स्वदेशी पुनर्बीमा कम्पनीले त्यो अस्वीकार गरेको खण्डमा विदेशी कम्पनीमा पुनर्बीमा गर्न सकिनेछ । विदेशी कम्पनीमा पुनर्बीमा गर्न परेमा एएम बेस्ट तथा बी रेटेट कम्पनीमा गर्नुपर्नेछ । तर, दक्षिण एशियाको पुनर्बीमा कम्पनी भएमा रेटिङको मापदण्ड लागू नहुने बताइएको छ ।

समितिले गत पुसमा एक निर्देशन जारी गर्दै बीमा कम्पनीहरूलाई स्वदेशी कम्पनीमा पुनर्बीमा गर्न निर्देशन दिएको थियो । त्यो निर्देशनअनुसार सबै प्रकारको बीमा र सबै प्रकारको पुनर्बीमा स्वदेशी कम्पनीमै गर्नुपर्ने हुन्थ्यो । समितिले अहिले आएर कुनै बीमाको स्वदेशमा र कुनै बीमाको विदेशी कम्पनीमा पुनर्बीमा गर्न सकिने गरी नयाँ नीति ल्याएको हो ।

जीवन बीमामा प्रदेशगत असमानता फराकिलो

जीवन बीमा व्यवसायमा प्रदेशगत असमानता फराकिलो देखिएको छ । राज्यको आँखाबाट ओझेलमा परेको कर्णाली, सदूरपश्चिमजस्ता प्रदेशमा जीवन बीमा व्यवसाय फस्टाउन नसकेको देखिएको छ । बाग्मती प्रदेशमा भने जीवन बीमा व्यवसाय सबैभन्दा माथि देखिएको छ ।

कुल जीवन बीमा व्यवसायमा बाग्मतीको अंश ४२ प्रतिशत छ । अन्यमा भने ज्यादै न्यून छ । बीमा समितिबाट प्राप्त चैतको तथ्यांकले यस्तो देखाएको हो । १९ जीवन बीमा कम्पनीले चैतमा रू. १० अर्ब २२ करोड ५९ लाख कुल बीमाशुल्क संकलन गरेका छन् । त्यसमा बाग्मतीबाट मात्र ४ अर्ब ३१ करोड १८ लाख रुपैयाँ संकलन भएको छ । दोस्रोमा लुम्बिनी प्रदेश छ । उक्त प्रदेशबाट चैतमा १ अर्ब ५८ करोड ८६ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।  

सबैभन्दा कम बीमाशुल्क कर्णाली प्रदेशबाट संकलन भएको छ । उक्त प्रदेशबाट ४२ करोड १४ लाख रुपैयाँ मात्र बीमाशुल्क संकलन भएको तथ्यांक छ । यो तथ्यांकले बाग्मतीबाहेकका प्रदेशमा जीवन बीमा कम्पनीहरूका लागि व्यवसाय विस्तारको फराकिलो मैदान मैदान रहेको देखाउँछ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले व्यवसायमा प्रदेशगत असमानता देखिनु स्वाभाविक भएको बताए । अन्य प्रदेशमा बीमाको दायरा बढाउन समिति प्रयत्नशील रहेको पनि उनले बताए । ‘अहिले बीमा कम्पनीहरू प्रदेशमा पनि व्यापक मात्रामा गएका छन् । व्यवसाय पनि बढ्दै गएको छ । पहिला त त्यो पनि थिएन,’ उनले भने, ‘तर, अभैm पनि बाग्मती प्रदेशमा बीमा कम्पनीको शाखा कार्यालय, अभिकर्ता बढी छन् । आर्थिक क्रियाकलाप पनि यहीँ हुन्छ । त्यसले यहाँ व्यवसाय धेरै छ । अन्य प्रदेशमा पनि व्यवसाय विस्तार भइरहेको छ ।’

अन्य प्रदेशमा व्यवसाय बढाउन कम्पनीहरूले ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘विशेषगरी कर्णालीमा ध्यान दिनुपर्छ बीमाको आवश्यकता सुगमभन्दा दुर्गममा बढी हुन्छ,’ उनले भने, ‘यस मामलामा समितिले पनि काम गर्नेछ ।’

जीवन बीमा कम्पनीहरूले यस आर्थिक वर्षको चैत मसान्तसम्ममा १ खर्ब २ अर्ब ४२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरूले ९३ अर्ब ८६ करोड बीमाशुल्क संकलन गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)