काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल सोमवार (आज) देखि औपचारिक रूपमा सञ्चालन हुँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवाबाट सोमवार बिहान उद्घाटन हुने उक्त विमानस्थलमा कुवेतको वायुसेवा कम्पनी जजिरा एयरवेजको जहाजले पहिलो व्यावसायिक उडान गर्नेछ ।
नेपालमा दोस्रो अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागे पनि विमान प्रवेश बिन्दु (हवाई रूट) को अन्योल भने कायमै छ । नेपालले अन्तरराष्ट्रियस्तरका थप विमानस्थल बनाउन थालेयता पश्चिमतर्फको हवाई रूट उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको छ ।
नेपाल र भारतका सम्बद्ध अधिकारीबीच झन्डै ४ वर्षअघि जहाज प्रवेश विन्दुको विषयलाई सम्बोधन गर्ने सहमति भएको थियो । सन् २०१८ जुन दोस्रो साता नेपाल नागरिक उड्डयन प्राधिकरण र एयरपोर्ट अथोरिटी अफ इन्डिया (एएआई)का प्राविधिकले उक्त सहमतिमा हस्ताक्षर गरेका थिए । तर, त्यो सहमति कार्यान्वयनमा भारतले आनाकानी गरिरहेको छ, जसले गर्दा गौतम बुद्ध विमानस्थलमा आउने जहाजले पनि सिमरा रूट नै प्रयोग गर्नुपर्नेछ ।
नेपालले पश्चिमको नेपालगञ्ज, महेन्द्रनगर र भैरहवा हुँदै नेपाल प्रवेश गर्न मिल्ने रूट भारतसँग मागिरहेको छ । सरकारका पूर्वसचिव सुशील घिमिरे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आउने जहाज पूर्वबाट प्रवेश गर्न समस्या नभए पनि पश्चिमबाट प्रवेश गर्न नपाउने बताउँछन् । भारतले पश्चिमतर्फको रूट नदिँदा कतारको दोहा, दुबई, साउदी, कुवेतलगायत पश्चिमतिरबाट आउने जहाज वीरगञ्ज (सिमरा) बाट प्रवेश गरेर भैरहवा जानुपर्ने भन्दै घिमिरेले थपे, ‘यसले गर्दा समय र इन्धन बढी खर्च हुन्छ भने सिमरा विन्दुमा हवाई चाप बढ्छ ।’
भारतले नयाँ प्रवेश रूटमा सहमति नदिँदा गौतम बुद्धमा अवतरण गर्ने विमानहरू सिमरा रूट भएर आउनुपर्छ । सिमरा पुगेर फर्किंदा थप १० मिनेट खर्च हुन्छ । यसले जहाजको उडान लागत बढाउँछ एकातिर भने सिमरा प्रवेश विन्दुमा हवाई ट्राफिक बढी हुन्छ । ‘भारतले पश्चिम र भैरहवाको रूट दिए गौतम बुद्धमा आउने विमानहरू सिमरा पुग्नु पर्दैन,’ उनले भने, ‘भारतले यी रूट नदिँदा जहाज उडानको रूट लामो हुने र इन्धन खर्च बढ्ने हुन्छ ।’
पश्चिमबाट प्रवेश गरेर भैरहवामा अवतरण गर्दा १० देखि १५ मिनेटसम्म समय छोटिन्छ । यसो हुँदा इन्धन बचत हुन्छ । जहाजको एक तिहाइ खर्च इन्धनकै हुन्छ । पश्चिमी प्रवेश विन्दु पाए पश्चिमी मुलुकहरूबाट काठमाडौं आउने जहाजको पनि समय र इन्धन खर्च बचत हुन्छ ।
२१ हजार फिटभन्दा माथिबाट आउने हो भने भैरहवा प्रवेश विन्दु दिन सकिने भारतको शर्त छ । तर, सो उचाइबाट नेपाल प्रवेश गरेको जहाजलाई सीमानजिकै रहेको गौतम बुद्ध विमानस्थलमा अवतरण गर्न आकाशमा धेरै फन्को मार्नुपर्ने हुन्छ । यसो हुँदा इन्धन खर्च बढ्छ ।
प्राधिकरणका एयर ट्राफिक म्यानेजमेन्ट (एटीएम) महाशाखाका निर्देशक सुर्वणराज उपाध्यायले २०१८ मा एक किसिमको सहमति भए पनि त्यसयता यस विषयमा भारतसँग औपचारिक छलफल अघि नबढेको बताए । नेपालले सन् २०१८ देखि सक्रिय रूपमा पहल गर्दै आएको हो । अहिले पनि थप रूटका लागि पहल भइरहेको उनको दाबी छ । ‘नेपालले महेन्द्रनगर एल ६२६ हवाई रूट उपलब्ध गराउन माग गर्दै आएको छ । त्यसबेला प्राविधिक रूपमा रूटका लागि सहमतिनजिक पुगेका थियौं,’ उपाध्यायले भने, ‘विविध कारणले सहमति सकेन ।’
पश्चिमबाट आउने जहाजका लागि सिमराबाट फर्किंदा लामो दूरी हुने भए पनि पूर्वबाट गौतम बुद्धमा आउनेलाई खासै समस्या नहुने उपाध्यायको भनाइ छ । अहिलेलाई पश्चिमको रूट नखुले पनि भैरहवाका लागि समस्या नहुने उनको जिकीर छ । प्राधिकरणमा लामो समयदेखि हवाई रूट हेर्दै आएका पूर्वनिर्देशक दीपक बराल हवाई रूट उपलब्ध गराउने विषयमा कर्मचारी तहबाट अधिकतम पहल भए पनि भारतले राजनीतिक र कूटनीतिक पहल खोजेको बताउँछन् ।
‘कर्मचारी तहबाट अधिकतम प्रयास वर्षौंदेखि हुँदै आएको छ,’ बरालले भने, ‘कर्मचारी तहबाट मात्रै पहल हुँदा भारत सन्तुष्ट छैन ।’ नेपालगञ्ज रूट भारतले उपलब्ध गराउँदा गौतमबुद्ध र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थललाई पनि थप सहज हुने उनको भनाइ छ । पोखरा विमानस्थल पनि निर्माणको अन्तिम चरणमा पुगिसकेकोले छिटो हवाई रूट दिन भारतलाई राजी गराउन नेपालले ठोस पहल गर्नुपर्ने सुझाव दिइएको छ । तर, राजनीतिक तहको आग्रहलाई पनि भारतले बेवास्ता गर्दै आएको छ । हरेक प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ हवाई रूट दिने विषय उठाइन्छ । तर, नयाँ दिल्लीले सुनेको नसुन्यै गरिरहेको छ ।
सन् २०१८ मा २ देशका प्राधिकरण र एएआईका अधिकारीहरूबीच प्रवेश विन्दुको विषयमा छलफल हुँदा उनीहरू पश्चिमबाट आउने अन्तरराष्ट्रिय उडानका लागि महेन्द्रनगर र नेपालगञ्ज तथा पूर्वबाट आउनेका लागि जनकपुर नाकाबारे बढी केन्द्रित थिए । तर, हालसम्म उक्त विषय अन्योलमै छ ।