ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विश्वभर आर्थिक मन्दीको भय : विश्वका ठूला शेयर बजार सबै राताम्मे, डलरको भाउ अहिलेसम्मकै उच्च

२०७९ जेठ, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

 काठमाडौं । नेपाली मुद्रा बजारमा अमेरिकी डलर अहिलेसम्मकै महँगो बनेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि एक अमेरिकी डलरको मूल्य १२४ रुपैयाँ ४४ पैसा कायम गरेको छ ।

यसको अर्थ बिहिबार एक डलर किन्न नेपालीहरुले १२४ रुपैयाँ ४४ पैसा तिर्नु परेकोमा शुक्रवार डलरको भाउ बढेर १२४ रुपैयाँ ६७ पैसामा पुग्नेछ । डलर रुपैयाँ सटही दर यो स्तरमा उक्लिएको इतिहासमै यो पहिलो पटक हो । 

योसँगै लागतार तेस्रो दिन पनि डलर रुपैयाँ विनिमय दरले कीर्तिमानी उचाई छोएको छ । बुधवार सटही दर १२४ रुपैयाँ ४१ पैसा थियो । गत वर्षको सोही दिनको तुलनामा डलरको भाउ ७ रुपैयाँ ३० पैसा महँगो भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यो वर्ष शुरु भएयता चाँहि डलर २ रुपैयाँ ४८ पैसाँ महँगो भएको छ ।  

नेपाली रुपैयाँ आबद्ध रहेको भारतीय रुपयाँ अमेरिकी डलरको तुलनामा कीर्तिमानी न्यून स्तरमा ओर्लिएपछि सोको असर नेपाली रुपैयाँमा देखिएको विज्ञहरु बताउँछन् । 

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउन नहिच्काउने बताएपछि बुधवार डलरको भाउ उकालो लागेको थियो । यो क्रमले बिहिवार पनि निरन्तरता पाएको छ ।

१०३ दशमलव २० रहेको डलर सूचक बिहिवार १०३ दशमलव ५१ मा पुगेको थियो । मुद्रा डालोमा आबद्ध प्रमुख मुद्राका तुलनामा डलरको मूल्य मापन गर्ने डलर सूचकको प्रयोग हुन्छ ।

विदेशी लगानीकर्ताहरुले भारतको ऋणपत्र र शेयर बजारमा भएको लगानी धमाधम झिक्न थालेपछि बिहिवार पनि भारतीय रुपैयाँ दबाबमा आएको थियो । डलर सूचक बढेसँगै भारतीय रुपयाँ दबाबमा आएकोले  पनि यसको सिधैं असर भारुसँग आबद्धता रहेको नेपाली रुपैयाँमा देखिएको हो ।

बुधवार भारतीय मुद्रा बजार बन्द हुँदा प्रतिडलर भाउ ७७ रुपयाँ ५९ पैसा थियो । 

बिहीवार बिहानी कारोबार देखि नै भारु कमजोर हुन थालेको थियो । बिहीवार बिहान बजार खुल्दा खेरि नै डलर भारु विनिमय दर ७७ रुपैयाँ ७१ पैसा थियो । बेलुका कारोबार बन्दा हुँदा यो दर ७७ रुपयाँ ७२ पैसा कायम भयो ।

बिहीवार इन्ट्राडे कारोबारमा रुपयाँको भाउ ७७ रुपयाँ ७६ पैसासम्म आएको थियो । 

घरेलु र अन्तरराष्ट्रिय शेयर बजारमा व्यापक सेल–अप देखिएपनि डलर भारु विनियम दर थोरैले मात्रै बढेको मुम्बईस्थित मोतिलाल ओस्वाल फाइनान्सियल सर्भिसेजका फरेक्स विश्लेषक गौराङ सोमैया बताउँछन् ।

बुधवार भारतीय पूँजीबजारबाट विदेशी संस्थागत लगानीकर्ताहरुले १२ अर्ब ५४ करोड भन्दा बढीको लगानी झिकेका थिए । डलर सूचक बलियो बन्दै गइरहेकोले विनिमय दर झनै घट्ने प्रक्षेपण गर्न लागिएको छ ।  

ओर्लियो एशियाली शेयर बजार

बिहीवार एशियाली शेयर बजार ओरालो लागेको छ । अघिल्लो दिन अमेरिकी शेयर बजारमा देखिएको सेल–अफ (न्यून मूल्यमै भएपनि आफूसँग भएको शेयर मिल्काउने प्रवृत्ति)को प्रभाव पोखिंदा यस क्षेत्रका अधिकांश शेयर बजार ओरालो लागेका हुन् ।

बुधवार बजार बन्द हुँदा एसएन्डपी ५००  प्रतिशतभन्दा धेरैले घटेको थियो । दाउ जोन्स इन्डष्ट्रियल एभरेजमा साढे ३ प्रतिशतको कमी आउँदा नाष्डाक पनि ४ दशमलव ७ प्रतिशतले घटेको थियो । 

बढ्दो महँगी र अर्थतन्त्रहरुमा आइरहेको सुस्तीका कारण विश्वको आर्थिक वृद्धिदर घट्ने भयका कारण पनि बिहीवार एशियाली शेयर बजार ओरालो लागेका हुन् । चीनको शून्य कोभिडको नीति, युक्रेनी युद्ध र सेफ हेभन एसेटको रुपमा डलरको भाउमा रातारात भएको वृद्धिले पनि बजार प्रभावित भएका छन् । 

बिहीवार जापानबाहिर एशिया प्रशान्त क्षेत्रको एमएससीआई बृहत परिसूचक चार दिनयताको वृद्धिको क्रम भंग गर्दै २ दशमलव ३ प्रतिशत घटेको छ । उक्त दिन अष्ट्रेलियामा एएसएक्स२०० परिसूचक १ दशमलव ६५ प्रतिशत तल आएर बन्द भएको थियो । जापानमा निक्केई बजार बन्द हुँदा १ दशमलव ८९ प्रतिशतले घटेको थियो । हङकङमा हाङशेङ २ दशमलव ५४ प्रतिशतले ओरालो लागेको थियो । बिहीवार हाङशेङ एशिया क्षेत्रमा सबैभन्दा धेरै कमी बेहोर्ने बजार बनेको थियो । 

दक्षिण कोरियामा पनि कोस्पी १ दशमलव २८ प्रतिशत तल आएर बन्द भएको थियो । भारतमा बीएसई सेन्सेक्स र निफ्टी इन्डेक्स दुबै रातोमा आएका थिए । कारोबार बन्द हुँदा सिंगापुर, थाईल्यान्ड, ताइवान लगायत एशिया क्षेत्रका अधिकांश बजार रातोमा आएका थिए । इन्डोनेशियामा जर्काता कम्पोजिट र चीनको शाङ्हाई कम्पोजिट भने क्रमशः शून्य दशमलव ४४ प्रतिशत र शून्य दशमलव ३६ प्रतिशतले उकालो लागेका थिए । 

यूरोपमा पनि बजार रक्ताम्मे छ । यो समाचार तयार पार्दाखेरी नेपाली समयअनुसार साँझ ४ बजेतिर बेलायमा फुट्सी १०० २ दशमलव ७६ प्रतिशतले घटेको थियो । फ्रान्समा क्याक ४० २ दशमलव ३७ प्रतिशत तल आएको थियो भने जर्मनीमा डीएएक्स पनि २ दशमलव २२ प्रतिशतले घटेको थियो । अमेरिकामा एसएन्डपी ५००, नाष्डाक र दाउ जोन्स तीन ओटै परिसूचक ओरालो लाग्ने शेयर फयूचर्सले देखाएका छन् । 

सुनको भाउ थोरै बढ्यो, तेल घट्यो 

अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ स्थिर रहेको छ । अघिल्लो दिन शेयर बजारमा देखिएको तीव्र सेल–अफबाट सुनको भाउलाई बिहीवार धेरै टेवा मिलेन । डलर महँगो बनेकोले पनि लगानीकर्ताहरुमा सुनप्रतिको आकर्षण घटेको छ । यो समाचार तयार पार्दा खेरी न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको भाउ अघिल्लो दिनको भन्दा शून्य दशमलव ७१ प्रतिशतले बढेर १ हजार ८२९ डलर २२ सेन्टमा पुगेको थियो ।

सोही समयमा यूएस गोल्ड फयूचर्स चाँहि शून्य दशमलव १६ प्रतिशतले घटेर १ हजार ८१५ डलर ९० सेन्टमा किनबेच भइरहेको थियो । बिहीवार कच्चा तेलको भाउ भने घटेका छन् ।

लन्डनस्थित आईसीई एक्सचेञ्जमा ब्रेन्ट क्रुडको भाउ १ दशमलव ९२ प्रतिशतले घटेर १०७ डलर ६४ सेन्टमा आएको थियो । न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेन्चमार्क पनि २ दशमलव ३४ प्रतिशतले घटेर १०६ डलर ५१ सेन्टमा झरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)