ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्जीवन बीमा कम्पनीको नाफा ४ प्रतिशतले बढ्यो

२०७९ जेठ, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरूको नाफा घटे पनि निर्जीवनको कुल नाफा भने थोरै बढेको छ । उक्त अवधिमा २० मध्ये १९ निर्जीवन बीमा कम्पनीको कुल नाफा ४ प्रतिशतले बढेको हो ।

जीवन बीमा कम्पनीहरूको नाफा भने उक्त अवधिमा ३० प्रतिशतले घटेको छ । निर्जीवन बीमा कम्पनीहरूले हालै सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार उनीहरूको नाफा केही बढेको देखिएको हो । भारतीय लगानीको कम्पनी नेशनल इस्योरेन्सले भने चालू आवको कुनै पनि त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन ।

गत साउनदेखि चैतसम्ममा १९ कम्पनीले ३ अर्ब ५८ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत आवको सोही अवधिको भन्दा १३ करोड १६ लाख रुपैयाँले बढी हो । अघिल्लो आवको सोही अवधिमा ती कम्पनीले ३ अर्ब ४५ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । कम्पनीहरूको बीमांकीय मूल्यांकन गरेपछि यो नाफा थप बढ्नेछ । बीमांकीय मूल्यांकन गर्दा बीमा कोषबाट केही रकम नाफानोक्सान खातामा सार्न सकिने व्यवस्था छ । त्यसकारण बीमांकीय मूल्यांकनपछि बीमा कम्पनीहरूको नाफा थप बढ्नेछ ।

कुल नाफा बढे पनि ७ कम्पनीको नाफा भने घटेको छ । त्यस अवधिमा लुम्बिनी जनरलको ३१, एभरेष्टको २६, एनएलजीको २० र प्रुडेन्सियलको ११ प्रतिशतले नाफा घटेको छ । यसैगरी आईएमई जनरलको ११, प्रिमियरको १२ र नेकोको २ प्रतिशतले नाफा घटेको देखिन्छ । अन्य कम्पनीको नाफा बढेको छ । तर, निर्जीवन बीमा कम्पनीहरू यस अवधिको नाफाबाट सन्तुष्ट छैनन् ।

धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरूको शेयर मूल्य घट्दा निर्जीवन बीमा कम्पनीहरूको नाफा प्रभावित भएको बताइएको छ । शेयरबजारमा लगानी तथा कारोबार गरेर निर्जीवन बीमा कम्पनीहरूले उल्लेख्य आम्दानी गर्दै आएका छन् । तर, पछिल्लो समय शेयर मूल्य ओरालो लाग्न थालेपछि कम्पनीहरूले शेयर कारोबार गर्नै छाडेका छन् । उनीहरूले किनेर राखेको शेयर ‘होल्ड’ भएको छ, त्यसबाट हुने आम्दानी रोकिएको छ ।

त्यसमाथि बजार ओरालो लाग्दा कम्पनीहरूले किनेको शेयरको मूल्य पनि घट्दै गएको छ, जसले गर्दा त्यसबापत उनीहरूले छुट्टै रकम प्रोभिजनिङ गर्नुपरेको छ । प्रोभिजनिङका कारण कम्पनीहरूको नाफा प्रभावित भएको एनएलजी इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनीलवल्लभ पन्त बताउँछन् ।

‘गएको वर्ष शेयरबजार बढ्दा कम्पनीको नाफामा पनि राम्रो योगदान पुगेको थियो । यसपालि शेयरबजार घट्दो ट्रेन्डमा छ, त्यसकारण हामीले भएको शेयर होल्ड गरेर राखेका छौं,’ उनले भने, ‘शेयरबजारबाट हुने आम्दानी रोकिएको छ । त्यसमाथि किनेको शेयर घाटामा जाँदा त्यसबापत छुट्टै रकम प्रोभिजनिङ गर्नु परेको छ । त्यसले नाफा प्रभावित भयो ।’

तेस्रो त्रैमाससम्ममा नाफा कमाउनेमा शिखर इस्योरेन्स पहिलो नम्बरमा छ । उक्त कम्पनीले यस अवधिमा ३६ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । दोस्रो स्थानमा रहेको राष्ट्रिय बीमा कम्पनीले ३४ करोड २६ लाख रुपैयाँ कमाएको छ । नेको इन्स्योरेन्सले ३४ करोड २६ लाख रुपैयाँ नाफा कमाएर आफूलाई तेस्रो स्थानमा उभ्याएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)