काठमाडौं । नेपाल विद्युत् प्राधिकरण पम्प स्टोरेज जलविद्युत् आयोजना बनाउने निर्णयबाट तत्काललाई पछि हटेको छ । प्राधिकरणले दुईओटा पम्प स्टोरेज आयोजना बनाउने प्रक्रिया अघि बढाइसकेको थियो । अहिले आएर प्राधिकरण ती आयोजना नबनाउने मनस्थितिमा पुगेको हो ।
प्राधिकरणले पहिलोपटक कास्कीमा रहेको बेगनास र रूपा ताललाई प्रयोग गरेर बेगनास–रूपा पम्प स्टोरेज जलविद्युत् आयोजना बनाउने प्रक्रिया अगाडि बढायो । त्यसका लागि उसले विद्युत् विकास विभागबाट २०७४ कात्तिक २७ गते सर्वेक्षण अनुमति पाएको थियो । १५० मेगावाट क्षमतामा बनाउन लागिएको उक्त आयोजनाको सर्वेक्षण अनुमति पाएको साढे ४ वर्ष भइसकेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पहिलो कार्यकालमा आफ्नो ड्रिम प्रोजेक्टका रूपमा उक्त आयोजना अघि सारेका थिए ।
घिसिङको पहिलो कार्यकाल सकिएपछि प्राधिकरणमा हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशक भएर आए । उनले बेगनास–रूपा पम्प स्टोरेजलाई त्यति प्राथमितामा राखेनन् । तर, उनले मकवानपुर जिल्लामा रहेको कुलेखानी बाँधलाई नै प्रयोग गरेर १०० मेगावाटको कुलेखानी सिस्नेरी पम्प स्टोरेज जलविद्युत् आयोजना बनाउने प्रक्रिया अगाडि बढाए । त्यसका लागि विद्युत् विकास विभागले २०७७ चैतमा सर्वेक्षण अनुमति दियो । उक्त आयोजनाको सर्वेक्षण अनुमति पाएको पनि १ वर्ष भइसकेको छ । अहिले दुवै पम्प स्टोरेज आयोजना अघि नबढाउने मनस्थितिमा प्राधिकरण पुगको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ तत्काललाई पम्प स्टोरेज आयोजना नबनाउने बताउँछन् ।
‘अहिले हामीले जेनेरेशन जलविद्युत् आयोजना बनाउनमै जोड दिएका छौं । अहिलेको आवश्यकता पनि यही हो । तसर्थ, तत्काल पम्प स्टोरेजमा लगानी गर्ने योजना बनेको छैन,’ उनले भने, ‘त्यसैले यसअघि प्रक्रिया अगाडि बढाइएका दुई पम्प स्टोरेज आयोजनाको थप प्रगति नभएको हो । यद्यपि, निकट भविष्यमा हामीलाई यस्तो आयोजना चाहिन्छ । निश्चित अवधिपछि यसतर्फ पनि हाम्रो ध्यान जानेछ ।’
यस्तो आयोजनामा लगानी बढी लाग्ने हुँदा प्राधिकरण पछि हटेको हो । यसमा प्रयोग भइसकेको पानी संकलन गर्न छुट्टै ड्याम बनाउनुपर्छ । साथै, त्यो पोखरीमा जम्मा भएको पानी पम्पमार्फत पहिलो पोखरीमा तान्न पनि उत्तिकै मात्रामा बिजुली चाहिन्छ, त्यसकारण यस्तो आयोजना सञ्चालन गर्दा खर्च बढी हुन्छ । यी कारणले गर्दा प्राधिकरण पम्प स्टोरेज आयोजना बनाउने योजनाबाट पछि हटेको घिसिङको भनाइ छ ।
नेपालका लागि पम्प स्टोरेज आयोजना बिल्कुलै नयाँ प्रविधि हो । विशेषगरी यो प्रविधिमा विद्युत्गृहबाट बाहिरिएको पानीलाई नजिकै अर्को बाँध बनाएर जम्मा गरिन्छ । पछि पम्पमार्फत उक्त पानीलाई पहिलो बाँधमा पठाएर पुनः प्रयोग गरिन्छ ।
प्राधिकरणले पहिलो पम्प स्टोरेज आयोजनाका रूपमा करीब १४ अर्ब लगानीमा बेगनास–रूपा पम्प स्टोरेजलाई विकास गर्न खोजेको थियो । अहिले अध्ययनकै क्रममा उक्त आयोजनालाई छोडिएको हो । अध्ययनका क्रममा आयोजना निर्माण महँगो हुने देखिएपछि प्राधिकरण त्यसलाई अघि नबढाउने मनस्थितिमा पुगेको बुझिएको छ ।
जापानी सहयोग नियोग जाइकाको अध्ययनले उक्त आयोजना आर्थिक रूपमा सम्भाव्य नरहेको देखाएको थियो । विशेषगरी पानी तान्न खपत हुने विद्युत् महँगो हुने जाइकाको अध्ययनले देखाएको थियो । तैपनि प्राधिकरणले भविष्यका लागि भन्दै उक्त आयोजनाको अध्ययन गरेको थियो ।
विद्युत्को माग कम भएका बेला पम्प गरेर रूपा तालको पानी बेगनास तालसम्म पठाउने र बेगनास तालबाट करीब ६० मीटर कम उचाइमा रहेको रूपा तालसम्म पानी झार्दा ४ घण्टा करीब १५० मेगावाट बिजुली उत्पादन गर्ने गरी आयोजना अगाडि बढाइएको थियोे । यसका लागि प्राधिकरणले जाइकाको प्राविधिक सहयोग लिएको थियो । यता, कुलेखानी–सिस्नेरी पम्प स्टोरेज भने रू. ८ अर्ब लगानीमा बनाउने योजना थियो । कुलेखानी बाँधभन्दा दुई किलोमीटर तल रहेको सिस्नेरीमा उक्त आयोजना बनाउने भनिएको थियो । साँझको पिक आवरमा कुलेखानी बाँधबाटै पानी लगेर १०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको थियो ।
यसमा विद्युत्गृहबाट बाहिरिने पानीलाई नजिकै अर्को बाँध बनाएर जम्मा गर्ने योजना थियो । पिक आवर सकिएपछि रातिको समयमा पम्प तथा मोटर लगाएर बाँधको पानी माथि कुलेखानी बाँधमा फिर्ता पठाउने भनिएको थियो ।
पानीको उच्चतम प्रयोग तथा पिक आवरको विद्युत् माग धान्न सहज हुने गरी आयोजना बनाउने प्राधिकरणको लक्ष्य थियो । तर, अहिले पम्प स्टोरेज आयोजना बनाउने योजनाबाटै प्राधिकरण पछि हटेको छ ।