ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुनका गरगहनाको निर्यात शतप्रतिशत बढ्यो

२०७९ जेठ, ९  
बजार समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७७/ ७८ देखि हुन थालेको सुनका गरगहनाको निर्यात चालू आवमा शतप्रतिशतभन्दा बढीले बढेको छ ।

पोहोरको तुलनामा यो वर्ष परिमाणको आधारमा सुनका गरगहनाको निर्यात १०२ प्रतिशतले बढेको हो । भन्सार विभागबाट प्राप्त चालू आवको चैत मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

गत आवको चैत मसान्तसम्म २३ केजी बराबर सुनका गरगहना निर्यात भएको थियो । चालू आवको चैत मसान्तसम्म ४६ केजी ४०८ ग्राम बराबर सुनका गरगहना विभिन्न मुलुकमा निर्यात भएको छ । 

रकमका आधारमा भने ५५ प्रतिशतले यसको निर्यात बढेको छ । गत आवको उक्त अवधिमा २५ करोड ९५ लाख रुपैयाँको सुनका गरगहना निर्यात भएको थियो । यसपालि ४० करोड १५ लाख रुपैयाँको निर्यात भएको तथ्यांकमा उल्लेख छ । 

गत आव र चालू आवमा सुनको मूल्य फरक भएकाले रकम र परिमाणका आधारमा निर्यात वृद्धिदर फरकफरक देखिएको हो । 

विशेषगरी नेपालबाट गत आवदेखि सुनका गरगहना निर्यात हुन थालेको हो । भन्सार विभागले यसका लागि एचएस कोड उपलब्ध गराएपछि गत आवदेखि सुनका गरगहना निर्यात हुन थालेको हो । सुनका गरगहना निर्यात पछिल्लो समय बढ्दै गएको व्यवसायी बताउँछन् । 

तथ्यांकअनुसार नेपालबाट अमेरिका, अस्ट्रेलिया र हङकङमा सुनका गरगहना निर्यात भएको छ । तीन मुलुकमध्ये अमेरिकामा सबैभन्दा बढी निर्यात भएको छ । चालू आवमा त्यहाँ ३३ करोड ९ लाख रुपैयाँको सुनका गरगहना निर्यात भएको छ । यस्तै अस्ट्रेलियामा १ करोड ८८ लाख र हङकङमा ५ करोड १८ लाख रुपैयाँको गरगहना निर्यात भएको छ । 

यसअघि नेपालबाट आव २०७२/ ७३ मा चीनमा १५ लाख १६ हजार बराबरको सुनका गरगहना निर्यात भएको थियो । त्यसपछि अघिल्लो आवसम्म सुनका गरगहनाको निर्यात भएको भन्सार विभागको तथ्यांकमा देखिँदैन ।

यद्यपि, नगन्य मात्रामा सुनका गरगहनाको निर्यात भने भएको हुन सक्ने व्यवसायी बताउँछन् । तर, गत आवको शुरूदेखि नै सुनका गरगहनाको निर्यात व्यापक मात्रामा हुन थालेको व्यवसायी बताउँछन् । 

पछिल्लो समय अमेरिका, हङकङ तथा अस्ट्रेलियाजस्ता मुुलुकमा नेपालीको बसोवास बढ्दै गएको छ । उनीहरूबाट नै सुनका गरगहना माग हुने गरेको छ । उनीहरूबाट नेपाली परम्परागत शैली र नेपाली डिजाइनका गरगहना माग हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अधिकारी बताउँछन् ।

उनीहरूले विदेशमा नबन्ने गरगहना माग गर्ने गरेका छन् । विदेशमा नबन्ने तिलहरी, चुराजस्ता नेपाली मौलिक गरगहना यहाँबाट निर्यात हुने गरेको छ । कतिपय व्यवसायीले विदेशमा रहेका व्यवसायीसँग सम्पर्क गरेर पनि नेपालका मौलिक गरगहना निर्यात गर्दै आएका छन् । 

पछिल्लो समय नेपालको व्यापारघाटा बढ्दो क्रममा छ । त्यो अवस्थामा आयात घटाउँदै जानुका साथै निर्यात बढाउनुपर्ने बाध्यता पनि छ । यो अवस्थामा सुनका गरगहनाको निर्यात बढ्दै जानुलाई सकारात्मक रूपमा लिइएको छ । यसलाई थप प्रवर्द्धन गर्न सके व्यापारघाटा न्यूनीकरण गर्न समेत सहयोग पुग्ने व्यवसायी बताउँछन् ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)