ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एक हप्तामै लिटरमा २० रुपैयाँ मूल्य बढाएपछि भारतमा भन्दा नेपालमा इन्धन महँगो

२०७९ जेठ, ९  
समाचार उपभोक्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

जेठ ९, वीरगञ्ज । एक समय सरकारका उच्च पदस्थ अधिकारीहरू नेपालभन्दा भारतमा पेट्रोलियम पदार्थ महँगो भएकाले पनि मूल्यवृद्धि गर्नु परेको बताउँथे ।

भारतमा इन्धन महँगो भएकाले नेपालका सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा भारततर्फ अवैध निकासी भइरहेको दाबी उनीहरूको थियो ।

तर, अहिले अवस्था उल्टो भएको छ । अब सीमावर्ती भारतीय बजारभन्दा नेपालमा पेट्रोलियम पदार्थ महँगिएको छ । नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै अब भारतभन्दा नेपालमा मूल्य बढी भएको हो ।

भारत सरकारले कोरोना महामारी र मूल्यवृद्धिका कारण समस्यामा परेका न्यून आयस्तर भएका जनतालाई राहत दिन मूल्य घटाएपछि नेपालको इन्धन महँगो भएको हो ।

गत शनिवार भारतले पेट्रोल र डिजेलमा अन्तशुल्क घटाएपछि यी दुवै इन्धनको मूल्य क्रमशः भारू ९.५ र ७ ले घटेको छ ।  भारत सरकारको यो निर्णयसँगै त्यहाँको इन्धन नेपालको तुलनामा सस्तिएको हो ।

यता नेपाल आयल निगमले घाटा बढेको भन्दै निरन्तर मूल्य बढाउँदै आएको छ । निगमले एक सातामै २ पटक भाउ बढाएको छ ।

नेपालमा अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १६३ तोकिएको छ ।

भारतीय आयल निगमका अनुसार छिमेकी भारतको बिहार राज्यमा पेट्रोल डिजेल र मट्टीतेलको भाउ क्रमशः भारू १०९.०१, ९४.४ र ७०.६८ छ । यो नेपाली रुपैयाँ क्रमशः १७४.४, १५१.०४ र ११३.९ हुन्छ । भारतमा त्यहाँका जनताले सहुलियत दरको मट्टीतेल भारू २९ (४६.४ रुपैयाँ)मा पाउँछन् ।

नेपाल आयल निगमले खाना पकाउने एलपीजी प्रतिसिलिण्डर (१४.२ किलो) को मूल्य एकै पटक २०० रुपैयाँ बढाएर १८ सय रुपैयाँ पुर्याएको छ । भारतको बिहारमा यही परिमाणको ग्यास भारू १०९२.५ (१ हजार ७४८ रुपैयाँ) मा उपलब्ध हुन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)