ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युत् चुहावट : मन्त्रालय र प्राधिकरणको तथ्यांक बाझियो

२०७९ जेठ, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको विद्युत् चुहावटसम्बन्धी तथ्यांक एकआपसमा बाझिएको छ । दुवै निकायले चालू आर्थिक वर्ष (आव) को चैत मसान्तसम्मको विद्युत् चुहावटसम्बन्धी विवरण सार्वजनिक गरेका छन् । दुवै निकायको तथ्यांक एउटै हुनुपर्नेमा फरकफरक देखिएको हो ।

ऊर्जा मन्त्रालयले केही समयअघि चालू आवको चैत मसान्तसम्मको प्रगति प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसमा यस वर्षको विद्युत् चुहावट १७ दशमलव २ प्रतिशत देखाइएको छ । विद्युत् चुहावटसम्बन्धी यसबाहेक थप विवरण उक्त प्रतिवेदनमा छैन ।

यता प्राधिकरणले सार्वजनिक गरेको विवरणमा चैतसम्म १४ दशमलव ६३ प्रतिशत विद्युत् चुहावट देखाइएको छ । प्राधिकरणका अनुसार उक्त अवधिमा प्रसारण चुहावट ४ दशमलव ४६ प्रतिशत छ । वितरण चुहावट १० दशमलव १७ प्रतिशत छ ।

उक्त अवधिमा वितरण केन्द्रहरूमा ७ अर्ब ३७ लाख युनिट विद्युत् (प्रसारण चुहावटबाहेक) प्राप्त भएको छ । त्यसमा ६ अर्ब २९ करोड १५ लाख युनिट विद्युत् प्रयोगमा आएको छ । बाँकी ७१ करोड २१ लाख ४८ हजार युनिट खेर गएको तथ्यांकमा देखिन्छ ।

नेपालमा हालसम्म विद्युत् प्रसारण र वितरणको काम प्राधिकरणले मात्रै गर्दै आएको छ । मन्त्रालयले पनि प्राधिकरणबाटै यससम्बन्धी विवरण ल्याएर तथ्यांक तयार गर्छ । त्यसअनुसार दुवै निकायको तथ्यांक एउटै हुनुपर्ने हो । तर, त्यस्तो नभएको उनीहरूकै तथ्यांकले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवाल प्राधिकरणले पठाएको विवरणको आधारमै विद्युत् चुहावटको तथ्यांक तयार गर्ने गरेको बताउँछन् । यसबारे थप जानकारी मन्त्रालयसँग नभएको उनको भनाइ छ । यस विषयमा मन्त्रालयको ध्यान आकर्षित भएको उनले बताए । प्राधिकरणको विद्युत् चुहावट नियन्त्रण विभागका अधिकारीले भने यस सम्बन्धमा प्रतिक्रिया दिन चाहेनन् ।

प्राधिकरणको तथ्यांकलाई आधार मान्ने हो उक्त अवधिमा विद्युत् चुहावट घटेको देखिन्छ । गत आवको असार मसान्तसम्म विद्युत् चुहावट १७ प्रतिशत हाराहारी थियो । त्यसअनुसार चैत मसान्तमा आउँदा चुहावट घटेको देखिन्छ ।

पछिल्लो समय विद्युत् चुहावट नियन्त्रण गर्न प्राधिकरणले विभिन्न काम गरेको छ । प्राधिकरणले प्रसारण तथा वितरण लाइनको क्षमता अभिवृद्धि गर्नेलगायत काम गरेको छ । अन्य गतिविधि पनि प्राधिकरणले गर्दै आएको छ । त्यसले गर्दा विद्युत् चुहावट कम हुँदै गएको बताइन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)