ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मर्जर र प्राप्ति : लामो समय कारोबार रोक्ने परिपाटी हट्दै

२०७९ जेठ, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

जेठ २०, काठमाडौं । धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीबीच मर्जर वा प्राप्तिको प्रक्रिया शुरू भएपछि लामो समय शेयर कारोबार रोक्ने अहिलेको परिपाटी चाँडै हट्ने भएको छ । 

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मर्जर तथा प्राप्ति प्रयोजनका कारण लामो समय शेयर कारोबार रोकिन थालेपछि यसको निकास खोज्न थालेको हो । बोर्डले यस विषयमा अध्ययन गरी आवश्यक निकास निकाल्न कार्यदल (टास्क फोर्स)लाई जिम्मा दिइसकेको जानकारी दिएको छ । 

बोर्डका अध्यक्ष रमेशकुमार हमालले लामो समय लगानीकर्ताको सम्पत्ति मर्जर तथा प्राप्तिको नाममा बन्धक बनाउन नहुने भन्दै यसको निकासका लागि बोर्ड गम्भीरताका साथ अघि बढेको बताए । यस विषयमा नेपाल राष्ट्र बैंक र नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग छलफल भइसकेको र दुवै निकाय सकारात्मक रहेकाले आगामी १५ दिनभित्र निकास निस्कने विश्वास हमालको छ ।

यो विषयमा छिटो निकास निकाल्नुपर्ने भएकाले टास्क फोर्सलाई जिम्मा दिइएको उनको भनाइ छ । टास्क फोर्सले विशेषगरी बैंक तथा वित्तीय संस्थाको मर्जर तथा प्राप्ति प्रयोजनका लागि केकति समय कारोबार रोक्का गर्दा ठीक हुन्छ भन्ने विषयमा अध्ययन गर्ने हमालले जानकारी दिए । मर्जर तथा प्राप्ति प्रयोजनका लागि कारोबार रोक्का गर्ने व्यवस्था धितोपत्र बोर्डले नगरेको तर्क उनको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि बनाएको उक्त व्यवस्था हाल नेप्सेले सबै क्षेत्रको कम्पनीमा लागू गरेकाले यसलाई सुधारेर लैजान निर्देशन दिइसकेको हमालले जानकारी दिएका छन् । 

धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज पनि मर्जर तथा प्राप्तिको कारण लामो समय कारोबार रोक्का गर्न नहुने पक्षमै छ । नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले बोर्डले हालको व्यवस्थालाई अध्ययन गरी निकासको बाटो खोजे नेप्से सोही बाटोमा हिँड्ने बताए । संसारभर कहीँ कतै नभएको हाम्रो देशको यो व्यवस्थालाई जतिसक्दो परिवर्तन गर्न नियामक निकायले पहल गर्नुपर्ने माग उनको छ । हाल मर्जर तथा प्राप्तिका कारण दुई वाणिज्य बैंक, पाँच बीमा कम्पनी, चार लघुवित्त कम्पनी र दुई जलविद्युत् कम्पनीको शेयर कारोबार रोकिएको छ । 

शेयर कारोबार रोक्का हुने दुई वाणिज्य बैंकमा हिमालयन र नेपाल बंगलादेश बैंक छन् । नेपाल इन्भेष्टमेण्ट बैंकसँग मर्जर प्रयोजनका लागि २०७८ साल वैशाख ३१ गतेदेखि नै हिमालयन बैंकको शेयर कारोबार रोक्का छ । नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर कारोबार खुला भइसके पनि हिमालयन बैंकको रोक्का नै छ । मर्जर नगर्ने भएसँगै २०७८ साल वैशाख ३१ गतेदेखि रोकिएको नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर कारोबार जेठ १६ गतेदेखि खुला भएको हो ।

त्यस्तै नबिल बैंकले प्राप्ति गर्न लागेको नेपाल बंगलादेश बैंकको शेयर कारोबार २०७८ साल पुस ३० गतेदेखि रोक्का छ । यीबाहेक एभरेष्ट इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, प्राइमलाइफ इन्स्योरेन्स, नाडेप लघुवित्त, आँधीखोला लघुवित्त, घोडीघोडा लघुवित्त, समाज लघुवित्त, रिडी हाइड्रोपावर र रैराङ हाइडोपावरको शेयर कारोबार पनि मर्जर तथा प्राप्ति प्रयोजनकै लागि रोक्का छ ।

मर्जर र प्राप्तिको कारण लामो समयसम्म कारोबार रोक्का रहँदा समस्यामा परेको गुनासो लगानीकर्ताले गरेका छन् । पछिल्लो समय मर्जर सम्झौता अस्वीकृत भइसकेको महीनौं बितिसक्दा पनि हिमालयन बैंकको कारोबार खुला नभएको अवस्थाले पनि लगानीकर्ता आत्तिएका हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)