जेठ २२, काठमाडौं। वैदेशिक रोजगारीको शिलशिलामा मलेशिया पुगेका बागलुङका सुनिल केसी कम्पनीमा सोचेजस्तो काम नभएपछि १० महीनामै नेपाल फर्केका थिए ।
नेपाल फर्केपछि केसीले बागलुङ नगरपालिका १३ पैयूँपाटामा लक्ष्मी होजियारी नामबाट लुगा बुन्ने उद्योग सञ्चालनमा ल्याए । स्वदेश फर्केर शुरु गरेको उद्योगले अहिले परिवालाई नै स्वरोजगार बनाएको छ । केसीले परिवारका ३ जना सदस्यसहित स्थानीय २ जनालाईसमेत रोजगारी दिईरहेका छन् । सुनिलले भारतबाट धागो ल्याउने प्रशोधन गर्ने र डिजाईन गर्ने गर्छन ।
होजियारीको तालिम लिएकी आमा लक्ष्मीले थान कपडा बुन्नेलगायत प्रविधिक काम गर्ने गरेकी छन् । बजारको जिम्मा भने सुनिलका बुवा पुर्णबहादुर खत्रीले लिएका छन् । उत्पादन भएको कपडा आँफै बोकेर बजारसम्म पुर्याउने काम उनले गर्छन् ।
२०७४ सालमा करीब १२ लाख रुपैयाँ लगानीमा शुरु भएको यो उद्योगमा हालसम्म २० लाख रुपैयाँ बढि लगानी भएको केसी बताउँछन् । महिला उद्यमशिलता अन्तरगत एभरेष्ट बैंकले सहुलियत ब्याजदरमा ऋण लगानी गरेको छ ।
उनको उद्योगमा उत्पादन हुने कपडा जाडो सिजनका लागि उपयुक्त हुने भएकाले मंसिर पछिमात्रै उद्योगमा माग हुने गरेको केसी बताउँछन् । उद्योगबाट वार्षिक १८ देखि २० लाख रुपैयाँ बराबरको व्यापार हुने गरेको छ।
सिजनमा मात्रै व्यापार हुने यो व्यावसायमा २५ देखि ३० प्रतिशत नाफा हुने गरेको सुनिल बताउँछन् । उनको उद्योगमा विद्यालय पोषाक, स्विटर, टोपी, मफ्लर, लेडिज कुर्था लगायतका लुगा बुन्ने गरेका छन् ।
'हामिसँग खासै डिजाईन छैन । प्लेन कपडा नै निर्माण गर्ने गरिन्छ । हाम्रो मेसिनले बनाउने भनेको कपडाको बोर्डरमा हुने ५,७ प्रकारका डिजाईन मात्रै हो । कपडा सिलाईको डिजाईन भने गूगल युट्युव हेरेर गर्ने गरेको छौ', केसीले भने, 'कसैले यस्तो डिजाईन चाहियो भनेको खण्डमा पनि सोही अनुसार डिजाईन गर्ने गरेका छौं ।'
राम्रो डिजाईन गर्न भने बुटिक मेसिन नै चाहिनुका साथै तालिम पनि चाहिन्छ । त्यसैले धेरै डिजाईनका लुगा भने दिन नसकेको उनले बताए ।
२ ओटा मेसिन र केहि धागो भारतबाट ल्याएर उद्योग शुरु गरेका सुनिलले शुरु शुरुमा त डुबिन्छकी भन्ने पनि ठानेका थिए । स्थानीय स्तरबाट खासै सहयोग नपाएका उनलाई स्थानीय बलेवा क्षेत्रका विद्यालयले भने राम्रै साथ दिएका छन् ।
उद्योग शुरु भएपछि शुरुमा बजारको समस्या भएपनि अहिले क्षमता अनुसार को उत्पादन स्थानीय स्तरमै खपत हुने गरेको केसीले बताए । हाल बाग्लुङ नगरपालिका भित्रका १०, १२ ओटा विद्यालयले उद्योगबाट उत्पादित विद्यालय पोषाक (स्वीटर) प्रयोग गरिरहेका छन् ।
स्थानीय र जिल्ला स्तरमा लाग्ने मेलामा पनि स्टल राख्ने गरेको उनले सुनाए । यो उद्योग हाल साना तथा मझौला उद्योग कार्यलयमा दर्ता भएको र महिला उद्यमशिलता भएकाले मेला महोत्सवमा स्टल राख्दा उनले पैसा तिर्नु पर्दैन ।
स्थानीय सरकारले पनि केहि सहयोग गरे उद्योगलाई बिस्तार गर्ने योजनामा छन्, सुनिल । महिला उद्यम भएपनि स्थानीय वडाबाट खासै सहयोग नपाएको र नगरपालिकाले यस्ता व्यवसायीको वास्ता नगरेको उनको गुनासो छ ।
हाल २ ओटा मेसिनबाट लुगा बुन्ने र अन्य ३ औटा मेसिनबाट तयारी पोषाक बनाउने गरिएको छ । एउटा मेसिनले दैनिक सरदरमा ४० देखि ६० ओटा लुगा बराबरको कपडा उत्पादन गर्ने गर्छ । अन्य मेसिनबाट सिलाई गरी बजारमा पठाउने गरिन्छ ।
सरकारले पहिचान गर्न नसकेका यस्ता स्टार्टअपलाई स्थनीय सरकारले पहिचान गरी सहयोग गर्न सके तयारी पोशाकमा आत्मनिर्भर बन्न सहयोग पुग्ने उनको सुझाव छ ।