ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बिजुली निर्यात शुरू भए पनि आयात कायमै

२०७९ जेठ, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । स्वदेशी उत्पादन बढ्न थालेसँगै नेपाल विद्युत् प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गरेको छ । प्राधिकरणले यहाँ खपत भएर बाँकी रहने विद्युत् भारतमा निर्यात गर्न थाले पनि आयात गर्नुपर्ने बाध्यता कायमै छ । प्राधिकरणले अझै भारतबाट चौबीसै घण्टा न्यूनतम ६० मेगावाट विद्युत् आयात गरिरहेको छ ।

प्राधिकरणले विशेषगरी सुदूरपश्चिम क्षेत्रलाई लक्ष्य गरेर टनकपुर प्रसारण लाइनबाट उक्त परिमाणमा विद्युत् आयात गरेको हो । सुदूरपश्चिममा विद्युत् आयोजनाको संख्या कम छ । त्यसो हुँदा त्यस क्षेत्रमा अझै पनि मागअनुसार विद्युत् उत्पादन हुन सकेको छैन । प्रसारण लाइन पर्याप्त नहुँदा अन्य क्षेत्रको बिजुली त्यहाँ पुर्‍याउन सकिएको छैन । यस्तै प्राविधिक समस्याले विद्युत् आयात गर्नुपर्ने बाध्यता कायमै रहेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए ।

‘भारतमा विद्युत् निर्यात गर्न शुरू गरे पनि प्राविधिक समस्याका कारण आयात गर्नुपर्ने बाध्यता कायमै छ । सुदूरपश्चिम क्षेत्रमा अझै पनि मागअनुसार विद्युत् उत्पादन हुन सकेको छैन,’ उनले भने, ‘त्यसैले टनकपुरबाट सामान्य अवस्थामा समेत ५०/६० मेगावाट विद्युत् आयात गरिरहेका छौं । तर, यो अवस्था लामो समयसम्म जाँदैन । स्वदेशी उत्पादन बढ्दै गएका कारण अब छिट्टै त्यो आयात पनि विस्थापित हुन्छ ।’

स्वदेशी उत्पादन बढेसँगै प्राधिकरणले गत बिहीवारदेखि भारतमा विद्युत् निर्यात गर्न थालेको थियो । त्रिशूली र देवीघाट जलविद्युत् आयोजनालाई स्रोत मानेर प्राधिकरणले बिहीवारदेखि ३९ मेगावाट विद्युत् निर्यात गर्दै आएको छ । शनिवारदेखि १४४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् आयोजनालाई स्रोत मानेर थप १४० मेगावाट विद्युत् निर्यात गरिरहेको छ । प्राधिकरणले अधिकतम प्रतियुनिट १९ रुपैयाँ (भारू १२) मा भारतमा बिजुली निर्यात गरिरहेको छ ।

नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित छन् । त्यसकारण वर्षायाममा खोलामा पानी बढी हुँदा आयोजनाहरू पूर्ण क्षमतामा सञ्चालन हुन्छन् । यहाँको उत्पादन बढी हुँदा भारतमा निर्यात गर्न सकिन्छ । तर, हिउँदमा खोलामा पानी कम हुँदा उत्पादन घट्छ । त्यो समयमा भने प्राधिकरणले भारतबाटै विद्युत् आयात गरेर यहाँको माग पूर्ति गर्दै आएको छ ।

भारतमा भने कोइलामा आधारित आयोजना बढी हुँदा जुनसुकै बेला पनि आवश्यकताअनुसार विद्युत् उत्पादन गर्न सकिन्छ ।

तर, पछिल्लो समय रूस–युक्रेन तनावका कारण कोइलाको अभाव हुँदा भारतमा विद्युत् उत्पादन कम छ । यसले गर्दा भारतमा बिजुली किनबेच मूल्य अझै पनि उच्च विन्दुमा छ । त्यो अवस्थामा प्राधिकरणले १/२ महीनायता भारतीय बजारबाट पर्याप्त मात्रामा बिजुली पाउन सकेको थिएन । त्यसबेला प्राधिकरणले यहाँ लोडशेडिङसमेत गरेको थियो । अहिले लोडशेडिङ गर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

मंगलवारदेखि त मर्स्याङ्दी जलविद्युत् आयोजनाको ७० मेगावाट बिजुली पनि निर्यात गरिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘स्वदेशी उत्पादन बढेसँगै हामीले अहिले दैनिक २०० मेगावाट हाराहारी विद्युत् निर्यात गर्न शुरू गरेका छौं । मंगलवारदेखि मर्स्याङ्दी आयोजनाको ७० मेगावाट पनि निर्यात गर्छौं,’ आर्थिक अभियानसँग उनले भने, ‘साथै, भारतबाट विद्युत् विक्रीको अनुमति पाएका अन्य आयोजनाको बिजुली पनि अब छिट्टै निर्यात हुन्छ ।’

भारतले कालीगण्डकी ए, मर्स्याङ्दी, मध्यमर्स्याङ्दी, लिखु–४, त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाको ३६४ मेगावाट बिजुली आफ्नो बजारमा विक्री गर्न प्राधिकरणलाई स्वीकृति दिएको छ । बाँकी रहेका अन्य आयोजनाबाट पनि छिट्टै निर्यात शुरू गर्ने प्राधिकरणको तयारी छ । अहिले नेपालमा विद्युत्को कुल जडितक्षमता २२ सय मेगावाट हाराहारी छ । उत्पादन भने १५/१६ सय मेगावाट हाराहारी छ । पिक टाइममा विद्युत् माग पनि १५/१६ सय मेगावाट हाराहारी पुग्छ । त्यसअनुसार पिक टाइममा कम बिजुली निर्यात गर्नुपर्ने हुन्छ । अन्य समयमा भने २०० मेगावाट निरन्तर निर्यात भइरहेको प्राधिकरणको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Mohan

[Jun 6, 2022 03:43am]

Electric vehicle ma tax badhaune, Oil kinirahane, desh lai kangal banau sabai milera. Suggesstion : 1.Gas must be stop. 2. Electric vehicle must be tax free 3. Maximum use of electricity must be promote 4. Electric cost must be minimize. 5. Oil price must be maximize as much as you can.



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)