ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शर्मा एन्ड कम्पनी–आईएमई साझेदारी : केबलकार धमाधम, होटेल असोजपछि

२०७९ जेठ, २४  
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । कोभिड–१९ महामारीका कारण रोकिएको ४ अर्ब रुपैयाँभन्दा बढी लगानीको केबलकार र तारे होटेल निर्माणको काम अघि बढाइएको छ ।

मुलुकका दुई प्रतिष्ठित व्यावसायिक घराना शर्मा एन्ड कम्पनी र आईएमई ग्रूपको संयुक्त लगानीमा बुटवल–पाल्पा केबलकार र होटेल निर्माणको काम अघि बढेको हो ।

पहिलो चरणको तीन किलोमीटर लामो केबलकार निर्माण ३ महीनाअघि शुरू भए पनि पाँचतारे स्तरको होटेल भने आगामी असोजपछि बनाउन थाल्ने तयारी छ । निर्माण क्षेत्रमा सफल शर्मा एन्ड कम्पनीले यो परियोजनामा ५० प्रतिशत लगानी गर्दै पहिलोपटक होटेल र केबलकारमा हात हालेको हो ।

बैंकिङ तथा रेमिट्यान्स व्यवसायमा सफल तथा पछिल्लोपटक केबलकार र रिसोर्टमा पनि राम्रो गरेको आईएमई ग्रूपको यो परियोजनामा ५० प्रतिशत लगानी छ ।

काठमाडौंको चन्द्रागिरिमा केबलकार र रिसोर्ट सञ्चालन गरेको आईएमई समूह र शर्मा एन्ड कम्पनीले कोरोनाका कारण रोकिएको परियोजना अघि बढाएको शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्माले जानकारी दिए । ‘३ महीनादेखि केबलकारका संरचना निर्माण भइरहेको छ,’ शर्माले भने, ‘दोस्रो चरणमा बन्ने होटेलको काम असोजपछि शुरू गर्ने योजना छ ।’

उक्त केबलकारका नौओटा टावरमध्ये ६ ओटा खडा गर्ने काम सम्पन्न भइसकेको छ । असार मसान्तसम्ममा केबलकारका सबै टावर खडा गरिसक्ने कम्पनीले उल्लेख गरेको छ । केबलकारको शुरू विन्दु ९बटम स्टेशन० बुटवलको बमघाट ९चिडियाखोला० र अन्तिम विन्दु ९टप स्टेशन० पाल्पाको वसन्तपुर डाँडामा रहनेछ । २०८० वैशाखदेखि केबलकार सञ्चालन गर्ने गरी यसको संरचना निर्माण र डब्बा खरीद प्रक्रिया अघि बढाइने शर्माले बताए ।

उक्त केबलकारमा २४ थान डब्बा हुनेछन् । तीमध्ये दुईओटा सामान बोक्ने हुनेछन् । चन्द्रागिरिमा केबलकार र रिसोर्ट सञ्चालन सफल देखिएपछि आईएमई समूह र शर्मा एन्ड कम्पनीले सोही मोडालिटी पछ्याउँदै पाल्पाको वसन्तपुरमा होटेल र बुटवल–वसन्तपुर केबलकार चलाउने परियोजना अघि बढाएका हुन् । शर्माका अनुसार होटेल सञ्चालनमा आउन अझै २र३ वर्ष लाग्नेछ ।

केबलकार सञ्चालनपछि, दोस्रो चरणमा पाँचतारे स्तरको सुविधा हुने गरी होटेल तथा लज बनाउने र सभासम्मेलन गर्न सक्ने गरी हल र रेस्टुराँहरूसमेत निर्माण गर्ने लक्ष्य छ ।

त्यसका लागि करीब ३० रोपनी जग्गा किनिसकेको शर्माले जानकारी दिए । ‘अझै ३० रोपनी थप्ने योजना छ,’ शर्माले भने ।

आन्तरिक र बाह्य दुवैथरी पर्यटकलाई लक्ष्य गरेर यो परियोजना अघि बढाइएको हो । ‘माइस पर्यटन’ र ‘हिल स्टेशन’को विकास गर्न यस्ता पर्यटन पूर्वाधार निर्माण हुनु आवश्यक रहेको लगानीकर्ताको भनाइ छ ।

बुटवल र भैरहवाको उच्च तापक्रमबाट राहत पाउन बुटवलबाट केही किलोमीटरको दूरीमा रहेको वसन्तपुर डाँडा निकै उपयुक्त मानिन्छ । केबलकार निर्माण भएपछि यो ठाउँ आन्तरिक र बाह्य पर्यटकको रोजाइ बन्न सक्ने लगानीकर्ताको विश्वास छ ।

यसैगरी हालै सम्पन्न दोस्रो अन्तरराष्ट्रिय विमानस्थल गौतमबुद्ध र निर्माण सम्पन्न हुने क्रममा रहेको पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा आउने पर्यटकका लागि पनि पाल्पा उपयुक्त रोजाइ र हिल स्टेशन शैलीको गन्तव्य बनाउने लक्ष्य राखिएको शर्माले बताए । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)