ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बल प्रयोग गरेर फोहोर व्यवस्थापनको प्रयास

२०७९ जेठ, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विजय दमासे

काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले गरेको अवरोध प्रहरीले बल प्रयोग गरेर हटाएको छ । फोहोर विसर्जनका लागि काठमाडौंबाट गएका गाडी सरोकार समितिले रोकेपछि मंगलवार बल प्रयोग गरेर ल्यान्डफिल साइटसम्म पुर्‍याएको हो । सरकारले सोमवार राति भएको सम्झौताअनुसार मंगलवारदेखि फोहोर खसाल्न ल्याउने भनेपछि बञ्चरेडाँडाका स्थानीय बिहानैदेखि धर्नामा बसेका थिए ।

उनीहरूले सिसडोल र बञ्चरेडाँडाबीच रहेको आलेटारमा धर्ना दिएका बेला प्रहरीले बल प्रयोग गरेर सरोकारवाला समितिका अध्यक्ष श्रीराम ढुंगानासहित दुई दर्जन स्थानीयलाई नियन्त्रणमा लिएको थियो । नुवाकोटका एसपी रामप्रकाश साहले सिसडोलको अवरोध खोलेर रोकिएका गाडीहरू बञ्चरेडाँडातर्फ पठाइएको जानकारी दिए ।

लामो समयदेखि फोहोर विसर्जन हुन सकिरहेको थिएन । स्थानीयले गरेको अवरोध हटाउन शहरी विकास मन्त्रालयले सिसडोल र बञ्चरेडाडाँका जनप्रतिनिधिलाई राखेर सोमवार राति सम्झौता गरेको थियो । सहमतिपत्रमा १७ वर्षदेखि लगातार काठमाडौंको फोहोर थुपारिँदै आएको सिसडोल बन्द गरी हरित क्षेत्रमा परिणत गर्ने र बञ्चरेडाँडा डम्पिङ साइटको प्रभावित क्षेत्र निर्धारण गरेर जग्गा अधिग्रहण प्रक्रिया थाल्ने उल्लेख छ ।

यसका निम्ति बञ्चरेडाँडाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा ६ महीनाभित्र प्रभावित क्षेत्रको जग्गा अधिग्रहण प्रक्रिया शुरू गरिने बताइएको छ ।  काठमाडौं महानगरपालिकाले नास्टको विज्ञ टोलीबाट बञ्चरेडाँडा डम्पिङ साइटले प्रभाव पार्ने क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन गराएको थियो । महानगरले उक्त प्रतिवेदन सार्वजनिक गर्ने पनि सहमति भएको थियो । सिसडोलको हकमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा व्यवस्थापन योजना बनाएर ६ महीनाभित्र डम्पिङ साइट बन्द गर्न प्रक्रिया शुरू गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ । यस्तै सिसडोल तथा बञ्चरेडाँडामा फोहोर नगन्हाउने व्यवस्था मिलाउने र सिसडोलको फोहोरबाट निस्केको दूषित पानी (लिचड) तत्काल व्यवस्था गरिने भनिएको छ ।  

बञ्चरेडाँडा साइट प्रभावित क्षेत्रमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि विभिन्न पाँचओटा सडक निर्माण गर्न शहरी विकास मन्त्रालयले ४२ करोड ५० लाख रुपैयाँ विनियोजन गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ । साथै खोला नियन्त्रण, सामुदायिक भवन र मन्दिर निर्माण तथा वृक्षरोपणका लागि १ करोड ७० लाख रुपैयाँ विनियोजन गरिने भएको छ । प्रभावित क्षेत्रका बासिन्दाका लागि १० शय्याको अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई सिफारिश गरिने, सिसडोल र बञ्चरेडाँडा क्षेत्रका विद्यालयको स्तरोन्नति प्रक्रिया पनि शुरू गरिने बताइएको छ ।

फोहोर व्यवस्थापनको मुद्दा सदनसम्म
नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वमन्त्री गगनकुमार थापाले राजधानीको फोहोर व्यवस्थापनमा देखिएको पछिल्लो समस्याबारे संसद्लाई जानकारी गराउन सरकारलाई आग्रह गरेका छन् । मंगलवार प्रतिनिधिसभामा बोल्दै उनले विवाद तथा सवाल जवाफ गर्नुभन्दा पनि काठमाडौंको फोहोर व्यवस्थापनमा कस्ता समस्या कहाँ देखिए भन्नेबारे जानकारी गराइदिन शहरी विकास मन्त्रालयलाई आग्रह गरेका हुन् ।

उनका अनुसार काठमाडौं महानगरको फोहोर व्यवस्थापनका लागि सिसडोल र बञ्चरेडाँडाका जनतासँग गरिएका वाचा पूरा गर्न अर्बौं रकम आवश्यक पर्ने देखिन्छ । यद्यपि आगामी वर्षको बजेटबाटै केही रकम त्यसका लागि छुट्याउन सकिने उनको सुझाव छ ।

यस्तै नेता थापाले फोहोर व्यवस्थापनको काम एकैपटक समाधान गर्न कठिन हुने पनि बताए । आगामी वर्षको बजेटबाटै पनि ती स्थानका लागि रकम छुट्ट्याउन सकिने उनको भनाइ थियो । विदेशका केही अभ्यासको प्रसंग जोड्दै उनले काठमाडौंको फोहोर व्यवस्थापनबारे सबै मिलेर दिगो समाधान खोज्नुपर्ने बताएका थिए । साथै यसअघि गरिएका वाचा पूरा गर्न पहल गर्नुपर्ने उनको भनाइ थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)