ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाली निजी क्षेत्रले उत्पादन गरेको विद्युत पनि भारत निर्यात शुरु, ५२ मेगावाटको लिखु–४ पहिलो आयोजना 

२०७९ जेठ, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । निजीक्षेत्रको लगानीमा बनेको लिखु–४ जलविद्युत् आयोजनाको बिजुली पनि भारत निर्यात हुन थालेको छ । नेपाल विद्युत् प्राधिकरणले बिहीवार राति १२ः१५ बजेबाट उक्त आयोजनाको ५२ मेगावाट बिजुली प्रतिस्पर्धी दरमा भारतीय खुला बजारमा विक्री गर्न थालेको हो । 

भारतले गत चैतमा उक्त आयोजनाको बिजुली आफ्नो खुला बजारमा विक्री गर्न प्राधिकरणलाई स्वीकृति दिएको थियो । नेपालमा उत्पादन बढ्न थालेपछि उक्त आयोजनाको बिजुली पनि भारतीय खुला बजारमा विक्री गर्न थालिएको हो । 

निजीक्षेत्रको विद्युत् भारतमा विक्री गरिएको यो पहिलोपटक हो । लिखु–४ ग्रीन भेन्चर्स लिमिटेडले प्रवर्द्धन गरेको आयोजना हो । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले लिखु–४ को बिजुली पनि भारतमा विक्री गर्न थालेको जानकारी दिए । यससँगै भारतले अनुमति दिएका सबै आयोजनाको बिजुली त्यहाँको खुला बजारमा विक्री हुन थालेको छ । 

‘भारतले विभिन्न ६ आयोजनाको ३६४ मेगावाट विद्युत् आफ्नो खुला बजारमा विक्री गर्न अनुमति दिएको थियो । त्यसमा ५ आयोजनाको यसअघि नै विक्री गर्न शुरू गरेका थियौं,’ उनले बिहीवार साँझ भने, ‘आज रातिबाट लिखु–४ को पनि पठाउनेछौं । यससँगै अनुमतिप्राप्त सबै आयोजनाको बिजुली भारत निर्यात हुन थालेको छ । यो वर्षाभरि यसले निरन्तरता पाउँछ ।’

भारतले गत कात्तिक र चैतमा गरेर कालीगण्डकी ए, मर्स्याङ्दी, मध्यमर्स्याङ्दी, लिखु–४, त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाको ३६४ मेगावाट बिजुली आफ्नो बजारमा विक्री गर्न प्राधिकरणलाई स्वीकृति दिएको थियो । त्यसबेला नेपालको उत्पादन कम हुँदा प्राधिकरणले निर्यात गर्न सकेको थिएन । स्वदेशी माग धान्न उल्टै भारतबाट आयात गर्नुपरेको थियो । अहिले वर्षाका कारण उत्पादन बढेपछि प्राधिकरणले गत सातादेखि निर्यात गर्न थालेको छ । प्राधिकरणले अधिकतम प्रतियुनिट १९ रुपैयाँ (भारू १२) सम्ममा नेपाली बिजुली भारतमा निर्यात गरिरहेको जानकारी दिएको छ ।

भारतको ऊर्जा नियामक निकायले अधिकतम भारू १२ सम्ममा मात्रै विद्युत् खरीदविक्री गर्न पाउने व्यवस्था गरेको छ । अहिले भारतमा देखिएको ऊर्जा संकटका कारण उच्च दरमा समेत नेपालको बिजुली विक्री भइरहेको छ । प्राधिकरणले औसत ७ भारूमा बिजुली विक्री गरिरहेको छ । 

नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित छन् । त्यसकारण हिउँदमा खोलामा पानी कम हुँदा उत्पादन घट्छ । वर्षायाममा खोलामा पानी बढी हुँदा आयोजनाहरू पूर्ण क्षमतामा सञ्चालन हुन्छन् र निर्यात गर्न पुग्ने गरी उत्पादन हुन्छ । 

अहिले नेपालमा जलविद्युत्को कुल जडित क्षमता २३ सय मेगावाट हाराहारी छ । नेपालको विद्युत् माग भने १६/१७ सय मेगावाट हाराहारी छ । खोलामा पानीको बहाव बढेसँगै आयोजनाहरू लगभग पूर्ण क्षमतामा सञ्चालन हुन थालिसकेका छन् । त्यसैले बढी भएको बिजुली प्राधिकरणले भारत निर्यात गरेको हो । 

उता, सुदूरपश्चिम क्षेत्रमा ठूला आयोजना नहुँदा प्राधिकरणले भारतबाटै बिजुली आयात गरेर वितरण गरिरहेको छ । प्राधिकरणका अनुसार अहिले टनकपुर प्रसारण लाइनबाट दैनिक ८७ मेगावाटसम्म विद्युत् आयात भइरहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)