ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रिसोर्टको हब बन्दै चितवन, हस्पिटालिटीमा ४० अर्बभन्दा बढी लगानी

२०७९ जेठ, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित कबिलास रिसोर्ट एण्ड फनपार्क/फाइल फोटो
author avatar हिमा वि.क.

काठमाडौं । मुलुकको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक चितवनले अतिथि सत्कार (हस्पिटालिटी) क्षेत्रमा अर्को परिचय पाएको छ– रिसोर्ट हब । पर्यटन विभागले स्तर वर्गीकरण गरेको रिसोर्टको विवरण हेर्दा चितवनमा सबैभन्दा धेरै सञ्चालनमा रहेको पाइएको छ ।

विभागको अभिलेखअनुसार चितवनमा मात्रै रिसोर्टको संख्या ४६ पुगेको छ । अन्य प्रख्यात पर्यटकीय गन्तव्य पोखरा, काठमाडौं, भैरहवा, नेपालगञ्जका साथै उपत्यका वरिपरिका जिल्लामा यो संख्या चितवनको भन्दा कम छ ।

चितवनको अतिथि सत्कार उद्योगमा हालसम्म ४० अर्ब रुपैयाँ लगानी भएको होटेल एशोसिएशन नेपाल (हान) को चितवन च्याप्टरका अध्यक्ष दीपक भट्टराई बताउँछन् । विभाग र हान चितवनको तथ्यांकले चितवन रिसोर्टको हब बनिसकेको देखाउँछ । 

अन्य गन्तव्यमा भन्दा चितवनमा विविधता भएकाले यहाँ आउने पर्यटक संख्या र अतिथि सत्कार उद्योगमा लगानी दुवै उत्साहजनक देखिएको भट्टराईले बताए । चितवनमा होटेल र रिसोर्ट गरी १५० ओटा अतिथिसत्कार व्यवसाय सञ्चालनमा छन् ।

हान चितवन च्याप्टरमा भने १२० मात्रै दर्ता भएको उनले जानकारी दिए । सामान्यतया रिसोर्टहरू तीनतारेस्तरदेखि माथिका हुने विभागका अधिकारी बताउँछन् । विभागको वर्गीकरणअनुसार साधारण रिसोर्ट नै तीनतारेस्तरको हुन्छ ।

विभागले रिसोर्टलाई साधारण, डिलक्स र लक्जरी गरी ३ भागमा वर्गीकरण गरेको छ । तीमध्ये साधारण रिसोर्टको संख्या चितवनमा बढी देखिएको हो । डिलक्स र लक्जरी वर्गका रिसोर्ट भने चितवनमा खुलेको देखिँदैन ।

विभागले लक्जरी रिसोर्टलाई पाँचतारे स्तरको र डिलक्सलाई चारतारे स्तरको मान्यता दिने गरेको छ । लक्जरी रिसोर्ट काठमाडौंमा मात्रै सीमित रहेको विभागको तथ्यांकले देखाउँछ । डिलक्स स्तरका रिसोर्ट भने काभ्रे, कास्की र कपिलवस्तुमा मात्रै छन् ।

नेपालमा साधारण, डिलक्स र लक्जरी गरी ११४ ओटा रिसोर्ट खुलेका छन् । तीमध्ये साधारण १०९ छन् । साधारण रिसोर्ट अधिकांश चितवन जिल्लामै छन् । ‘चितवनको हस्पिटालिटी क्षेत्रमा हालसम्म ४० अर्बभन्दा बढी लगानी भइसकेको अनुमान छ,’ भट्टराईले भने, ‘लगभग १०र१५ ओटा नयाँ लक्जरी रिसोर्ट सञ्चालनमा आउनेवाला छन् । काठमाडौंका तारे होटेलहरूले यहाँ लगानी विस्तार गर्दै छन् ।’

उनका अनुसार अन्नपूर्ण, काठमाडौं गेस्ट हाउसगायत होटेलले चितवनमा रिसोर्ट र होटेलमा लगानी गर्ने तयारी गरेका छन् । चितवनको हस्पिटालिटी उद्योगमा लगानी र बेड संख्या बढेसँगै यहाँका व्यवसायीले पर्यटक भित्र्याउने लक्ष्य बढाएका छन् ।

कोरोना महामारीपूर्वका वर्षहरूमा वार्षिक २ लाख पर्यटक आउने गरेको भन्दै भट्टराईले थपे, ‘हामीले यो वर्ष उक्त संख्या ४ लाखसम्म पुर्‍याउने लक्ष्य राखेका छौं ।’ सन् २०२० मै चितवनमा आन्तरिक र बाह्य गरेर ४ लाख पर्यटक भित्र्याउने घोषणा गरिएको थियो । उक्त लक्ष्य कोरोनाका कारण हासिल हुन नसकेको उनले जानकारी दिए ।

अहिले भने अवस्था विस्तारै सामान्यतर्फ उन्मुख भएकाले सोही संख्यामा पर्यटक भित्र्याउने लक्ष्य राखिएको उनले बताए । चितवनमा हाल सञ्चालनमा आएका होटेल तथा रिसोर्टहरूमा बेड संख्या ६ हजार ५०० रहेको हान च्याप्टर चितवनको अभिलेखले देखाउँछ । यो क्षमताले दैनिक ८ हजार पर्यटकलाई सेवा दिन सक्छ । पर्यटकीय गन्तव्य भए पनि बढ्दो शहरीकरणका कारण काठमाडौं, पोखरालगायतमा ठाउँ नहुनाले पछिल्लो समय लगानीकर्ता चितवनमा आकर्षित भएको देखिन्छ । चितवनमा पर्यटकीय आकर्षणका चिजहरू प्रशस्त रहेकाले लगानीकर्ता आकर्षित भएको भट्टराईको ठहर छ ।

विभागका अनुसार पोखरामा १३ साधारण र एउटा डिलक्ससहित १४ ओटा रिसोर्ट छन् । काठमाडौंमा लक्जरी, डिलक्स तथा साधारण गरी १४ र सोलुखुम्बुमा तीनओटा साधारण रिसोर्ट छन् । मुस्ताङ, बर्दिया, नवलपरासी हुँदै भक्तपुरको नगरकोट, काभ्रेमा पनि साधारण रिसोर्ट छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)