ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

किन हुन सकिएन कपडामा आत्मनिर्भर ?

वातावरण प्रतिकूल हुँदै गएपछि विराटनगर क्षेत्रका १४ मध्ये १३ कपडा उद्योग बन्द

२०७९ जेठ, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
वीरगञ्जस्थित कपडा उद्योगमा उत्पादनको काम हुँदै
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । कपडा उद्योगलाई उद्योगहरूको जननी मानिन्छ । नेपालमा पनि यो उद्योगको इतिहास लामो छ । तर, आन्तरिक बजार राम्रो हुँदाहुँदै पनि नेपालमा कपडा उद्योग फस्टाउन सकेको देखिँदैन । उल्टै भएका उद्योग पनि धमाधम बन्द भइरहेका छन् ।

कारण के त ? जवाफमा उद्योगीहरू भन्छन्– कपडा उद्योगप्रति सरकारी नीति ठिक भएन । ‘सरकारले एकातिर कपडा उद्योगले पाएका सहुलियतहरू क्रमशः खोस्दै लगेको छ, अर्कातिर भारतबाट अनियन्त्रित रूपमा भित्रिने कपडाले स्वदेशी बजारमा कब्जा जमाएको छ,’ उनीहरू भन्छन्, ‘कपडा उद्योगहरू कोमामा जाने अवस्था आइसकेको छ ।’

उद्योगी पीताम्बरकुमार मुनका स्वदेशमा वर्षेनि खपत हुने कपडाको सानो अंशमात्र स्वदेशी उद्योगले  उत्पादन गर्ने बताउँछन् । ‘बाँकी माग आयातित कपडाले धानेको छ । औपचारिक माध्यमबाट भित्रिनेभन्दा बढी भारतसँगको खुला सिमानाबाट अवैध तरीकाले आउँछ,’ वीरगञ्जको क्राउन र कोहिनुर टेक्सटाइलका सञ्चालक मुनकाले भने ।

भारतमा सरकारले कपडा उद्योगलाई उपकरणमा ५० प्रतिशतसम्म अनुदान दिने उद्योगी बताउँछन् । ‘त्यहाँ कपडा उद्योगलाई प्रविधि र ऊर्जामा ठूलो सहुलियत दिइएको छ । हामीकहाँ विद्युत्मा दिइएको सहुलियत पनि खोसियो,’ नोबेल टेक्सटाइलका प्रबन्ध सञ्चालक विनय शाहले गुनासो गरे ।

सरकारले केही वर्षअघिसम्म कपडा उद्योगीलाई कपडाको विक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता दिने गरेको थियो ।

सरकारले २ वर्षअघि उक्त सहुलियत हटायो । उद्योगी आन्दोलित भएपछि सरकारले विद्युत् महसुलमा ५० प्रतिशत छूट दिने निर्णय गरेको थियो । १ वर्ष त उद्यमीले विद्युत् महसुलमा सहुलियत पनि पाए । गतवर्षदेखि यो प्रोत्साहन पनि खोसिएको उद्योगी रमेश गाडिया बताउँछन् ।

मन्त्रिपरिषद्को निर्णयलाई गतवर्षको बजेटमा नपारिएको भन्दै नेपाल विद्युत् प्राधिकरणले दिइसकेको अनुदानसमेत फिर्ता मागेको थियो । ‘यतिसम्म कि, उद्योगीले उपयोग गरिसकेको छूटसमेत प्राधिकरणले फिर्ता माग्यो,’ गाडियाले भने ।

सरकारले कपडा उद्योगीलाई दिएको भ्याट सहुलियत हटाएकै समयमा भारतले कपडामा वस्तु तथा सेवा कर (जीएसटी) ५ प्रतिशतमा झारेको थियो । यस्तो करको अन्तर ८ प्रतिशत भएपछि नेपालको बजारमा भारतीय कपडा भित्रिने क्रम तीव्र गतिमा बढेको नेपाल कपडा उद्योग संघका उपाध्यक्ष जितेन्द्रकुमार लोहियाले बताए ।

प्रमुख व्यवधान

  • वैधभन्दा बढी अवैध आयात
  • विद्युत् महसुल, भ्याट
  • फिर्ताजस्ता सहुलियत कटौती
  • सरकारको अस्थिर नीति
  • प्रविधिमा लगानी थप्न नसक्नु

विराटनगर क्षेत्रमा १४ उद्योगमध्ये १३ ओटा बन्द भइसकेको लोहियाले बताए । उनले सञ्चालन गरेको प्रगति टेक्सटाइल भने जसोतसो चलिरहेको छ । ‘एक जना नेपालीले कपडा र कपडाजन्य उत्पादनमा वर्षमा गर्ने खर्चको सानो अंशमात्र स्वदेशी उत्पादन र वैधानिक आयातको कपडामा जान्छ, बाँकी अवैध आयातको कपडामा,’ उपाध्यक्ष लोहियाले दाबी गरे ।

सरकारबाट सहुलियत पाएका र ठूलो परिमाणमा उत्पादन गर्ने भारतीय उद्योगका उत्पादनसँग नेपाली कपडाले प्रतिस्पर्धा गर्न कठिन भएको उद्यमी बताउँछन् ।

त्यसमाथि खुला सीमाबाट अवैध रूपमा भित्रिने कपडा ठूलो समस्या बनेको छ ।

भारतीय कपडासँग प्रतिस्पर्धाका लागि धागो आयातमा शून्य भन्सारको सहुलियत दिइनुपर्ने माग उद्योगीको छ । धागो कपडा उद्योगको मुख्य कच्चा पदार्थ हो । यसको आयातमा उद्यमीले ५ प्रतिशत भन्सार महसुल तिर्दै आएका छन् । धागोमा भन्सार सहुलियत पाए स्वदेशी कपडा उद्योगलाई राहत हुने उद्योगीहरूको भनाइ छ ।

नेपालमा वार्षिक खपत हुने कपडामा ठूलो हिस्सा अवैध हुने संघको अनुमान छ । सरकारले कपडा उद्योगका लागि चालू आर्थिक वर्ष २०७८/७९ बाट ५ करोड रुपैयाँसम्मको ऋणमा ५ प्रतिशत विन्दु ब्याज छूट दिएको छ ।

सरकारले सबै खालका कपडा उद्योगलाई यस्तो सहुलियत दिएको छैन । सबै प्रकारका कपडा उद्योगलाई यो सहुलियत दिनुपर्ने, ५ करोड रुपैयाँको सीमा हटाउनुपर्ने र कम्तीमा १० वर्षका लागि सहुलियत दिइनुपर्ने उपाध्यक्ष लोहिया बताउँछन् ।

वर्षेनि फेरिइरहने नीतिका कारण कपडा उद्योगमा लगानीको समस्या देखिएको उद्योगी बताउँछन् । अधिकांश उद्योगले प्रविधिमा लगानी थप्न सकेका छैनन् । ‘सरकारको अस्थिर नीतिकै कारण लगानी आउन सकेको छैन । अधिकांश उद्योगले पुराना उपकरण आयात गरेर उत्पादन गरिरहेका छन् । यसले लागत न्यूनीकरण र गुणस्तरमा अपेक्षित सुधार हुन सकेको छैन,’ नाम उल्लेख गर्न नचाहेका एक उद्योगीले भने ।

करीब २० अर्ब रुपैयाँ लगानी भएको कपडा उद्योगसँगै यसले सृजना गरेको रोजगारीलाई जोगाउन सरकारले दीर्घकालीन नीति लिनुपर्ने उद्योगी गाडियाको आग्रह छ । कपडा उद्योग सबैभन्दा बढी मूल्य अभिवृद्धि र रोजगारी सृजना गर्ने उद्योग भएकाले सरकारले संरक्षणको नीति लिनुपर्ने उनको माग छ । कपडा उद्योगले ५०० देखि हजार प्रतिशतसम्म मूल्य अभिवृद्धि गरेको दाबी उद्यमीहरूले गरे ।

कपडामा पनि नीतिगत चलखेलको आशंका !
एक समय नाम चलेका वीरगञ्ज, विराटनगरलगायत क्षेत्रका करीब एक दर्जन उद्योग अहिले बन्द भइसकेका छन् । सरकारी लगानीको हेटौंडा कपडा उद्योग बन्द भएको वर्षौं भइसक्यो । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा ‘सरकारी पद धारण गर्ने व्यक्तिले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडाको पोशाक प्रयोग गर्ने व्यवस्था मिलाइने’ उल्लेख गरेको छ ।

करीब २५० उद्योग अस्तित्वका लागि संघर्ष गरिरहेका बेला बन्द उद्योगको कपडा प्रयोगको कुरा बजेटमा परेपछि उद्योगीहरू सशंकित भएका छन् । सरकारले केही व्यापारिक समूहको प्रभावमा नीतिगत चलखेल गरेको आरोप लागेका बेला बन्द अवस्थामा रहेको उद्योगको कपडा प्रयोग गर्ने प्रसंग आएपछि उद्यमीहरू सशंकित बनेका छन् ।

‘सरकारले स्वदेशी कपडा उद्योगको कपडा प्रयोग गर्ने भनेको भए हुन्थ्यो । तर, वर्षौंदेखि बन्द उद्योगको कुरा आउँदा यसमा पनि कुनै स्वार्थ समूहलाई पोस्ने गरी नीतिगत चलखेल भएको त होइन भन्ने आशंका बढ्यो,’ संघका एक पदाधिकारीले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)