ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ऊर्जासंकटको सकस : बारा–पर्सा कोरिडोरका उद्योगीले मन्त्रालय गुहारे

२०७९ असार, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगले विद्युत् आपूर्तिको समस्या समाधान गरिदिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय गुहारेका छन् । करीब २ महीनायता यो कोरिडोरका उद्योगमा विद्युत् आपूर्ति समस्याग्रस्त भएपछि उद्योगीले मन्त्रालय गुहारेका हुन् । वीरगञ्ज उद्योग वाणिज्य संघले मन्त्रालयलाई पत्र लेखेर कोरिडोरका उद्योगमा आपूर्ति भइरहेको विद्युत्को गुणस्तरमा ह्रास आएको जानकारी गराएको छ । प्राधिकरणले न्यून गुणस्तरको विद्युत् दिइरहेको संघको दाबी छ ।

कोरिडोरका उद्योगमा प्रायः ६६ केभी र परवानीपुरस्थित हिमाल फिडरबाट आपूर्ति हुने गरेको छ । यी फिडरबाट दिइएको आपूर्तिमा दिनको ८/१० पटकसम्म ट्रिपिङ र ४/५ पटकसम्म लामो समयका लागि विद्युत् आपूर्ति बन्द हुने समस्या रहेको उद्योगी बताउँछन् ।

नेपाल विद्युत् उत्पादनमा आत्मनिर्भर हुँदै गए पनि केही समयदेखि मुख्य औद्योगिक कोरिडोरमा देखिएको समस्याले उद्योगीलाई दुःखी बनाएको संघको पत्रमा उल्लेख छ । ‘नेपालको विद्युत् भारतमा निकासीसमेत भइरहेको खबरले उद्योगीलाई सबैभन्दा बढी खुशी बनाएको थियो । हाल बारा–पर्सा कोरिडोरमा विद्युत् आपूर्ति अनियमित हुँदा यहाँका उद्योगी नै सबैभन्दा बढी पीडित भएका छन्,’ संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले भने ।

कोरिडोरमा २ सय ठूला र २ हजारको संख्यामा मझौला र साना उद्योग छन् । ती सबैले अहिले ऊर्जा समस्या भोगिरहेको संघका उपाध्यक्ष माधव राजपालले बताए । ‘उद्योग सञ्चालनका लागि गुणस्तरीय विद्युत्को नियमित आपूर्ति अति आवश्यक छ । विद्युत्विना उद्योग सञ्चालनको कल्पना पनि गर्न सकिँदैन,’ उपाध्यक्ष राजपाल भन्छन् ।

संघले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र वीरगञ्ज वितरण केन्द्रका प्रमुखलाई पनि बेग्लाबेग्लै पत्र पठाएर समस्या समाधानका लागि आग्रह गरेको उपाध्यक्ष हरि गौतमले जानकारी दिए ।

वीरगञ्ज केन्द्रका प्रमुख जितेन्द्रकुमार झा औद्योगिक फिडरमा आपूर्तिभन्दा माग बढी भएकाले यस्तो समस्या आउने गरेको बताउँछन् । २५/३० वर्षयता यो कोरिडोरको पूर्वाधारमा सुधार नभएको दाबी उपाध्यक्ष गौतमले गरे ।

‘यो समयमा फलाम र सिमेन्टजस्ता बढी विद्युत् खपत गर्ने उद्योग थपिएका छन् । तर, आपूर्ति पुरानै संरचनाको भरमा चलेको छ । प्राधिकरणले प्रसारण लाइनको क्षमतामा तत्काल सुधार ल्याउनुपर्छ,’ गौतमको सुझाव छ । वीरगञ्ज वितरण केन्द्रका प्रमुख झा प्रसारण लाइनको स्तरोन्नति भएपछि समस्या हटाउन सकिने बताउँछन् । उनले स्तरोन्नतिको काम भइरहेको पनि जानकारी दिए । भारतमा विद्युत् विक्री गरेको बताउने प्राधिकरणले स्वदेशी उद्योगलाई चाहिनेजति ऊर्जा दिन नसकेको भन्दै यो क्षेत्रका उद्यमीले प्राधिकरणप्रति आक्रोश पोख्न थालेका छन् । आपूर्तिमा यस्तै समस्या रहे प्राधिकरणविरुद्ध चरणबद्ध आन्दोलन गर्नुपर्ने केही उद्योगीको भनाइ छ ।

अचानक विद्युत् कट्ने, भोल्टेज तलमाथि हुनेजस्ता समस्याले उद्योगको उपकरण बिग्रिने, कच्चा पदार्थ खेर जाने, गुणस्तरमा ह्रास हुनेजस्ता समस्या झेल्नु परेको संघले बताएको छ । प्राधिकरणले विद्युत्को पोल गाड्दा ढलान नगरी सोझै जमीनमा गाडेकाले सामान्य हावाहुरीमा पनि पोल ढल्ने, तार चुँडिनेजस्ता समस्या आउने गरेको उद्यमी बताउँछन् ।

हावाहुरीबाट क्षतिग्रस्त पोल र तार मर्मतमा प्राधिकरणले हप्तौं लगाउने र यस्तो बेला उद्योगको उत्पादन नै ठप्प हुने उद्योगीको गुनासो छ । यी समस्याको शीघ्र समाधानप्रति प्राधिकरणको स्थानीय कार्यालय गम्भीर नभएको गुनासो उद्योगीको छ । उद्योगमा बढ्दै गएको आर्थिक भार र उत्पादनमा ह्रासका कारण उद्योगीहरू प्राधिकरणप्रति नकारात्मक बन्दै गएको पनि संघको पत्रमा उल्लेख छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)