ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जुत्ताचप्पलमा चोरीपैठारी र न्यून बिजकीकरण व्यापक, उत्पादन नै घटाउन थाले स्वदेशी कम्पनी

२०७९ असार, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फोटो : सुनिल शर्मा/आर्थिक अभियान
author avatar हिमा वि.क.

काठमाडौं । आत्मनिर्भरतातर्फ उन्मुख नेपाली फुटवेयर उद्योगहरू भारत र चीनबाट चोरीपैठारी र न्यून बीजकीकरण गरी आयात हुने जुत्ताचप्पलका कारण नराम्ररी प्रभावित हुन थालेको व्यवसायीले गुनासो गरेका छन् ।

आन्तरिक खपतको करीब ६५ प्रतिशत माग धान्दै आएका स्वदेशी फुटवेयर उद्योगीले अहिले उत्पादन नै घटाएको प्रतिक्रिया दिए ।

मुलुकका चर्चित र पुराना जुत्ता उद्योगले अचेल क्षमताको २० प्रतिशतमात्र उत्पादन गरिरहेको व्यवसायीको भनाइ छ । अन्य उद्योगले पनि ५० देखि ६० प्रतिशतसम्म मात्रै उत्पादन गर्दै आएका छन् । सरकारले आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेटमार्फत जुत्ताचप्पल निर्यातमा ८ प्रतिशत नगद अनुदान दिने भने पनि कार्यान्वयन हुनेमा उद्योगीहरू सशंकित छन् । चोरीपैठारी ३/४ वर्षदेखि अत्यधिक बढेको उद्योगीहरूको अनुभव छ ।

मुलुकको पुरानो जुत्ता ब्रान्ड गोल्डस्टार उत्पादन गर्ने किरण सुज म्यानुफ्याक्चरर्सका कार्यकारी निर्देशक (ब्रान्डिङ एन्ड मार्केटिङ) विदुषी राणाले जुत्ताचप्पल उद्योगमा धेरै समस्या रहेको बताइन् । २४ घण्टा कारखाना सञ्चालन हुने र ७० प्रतिशत निर्यात गर्ने गोल्डस्टार अहिले ६ घण्टा मात्रै चल्ने गरेको राणाले बताइन् । ‘कुल क्षमताको २० प्रतिशतमात्रै जुत्ता उत्पादन हुन्छ,’ उनले भनिन्, ‘नेपाली बजार चोरीपैठारी र न्यून बीजकीकरणको जुत्ताचप्पलले ओगटिसकेको छ ।’ 

गोल्डस्टारले अहिले प्रत्यक्ष रूपमा ३ हजार जनालाई रोजगारी दिएको राणाको दाबी छ । ‘तर, कुन बेला घटाएर हजार/पाँच सयमा झार्नुपर्छ निश्चित छैन,’ उनले भनिन् । बजार चोरीपैठारीको सामानले ओगट्दा उत्पादन कम गर्नुपर्ने, प्रतिस्पर्धा गर्न गाह्रो हुने र बैंकऋणको साँवाब्याज थेग्न नसक्ने अवस्था आएको राणाको भनाइ छ । आयातमा आधारित अर्थतन्त्रले ठूलो अंश ओगट्दासमेत राज्यले उत्पादनमूलक उद्योगलाई संरक्षण गर्न नसकेको उनले गुनासो गरिन् । 

उच्च लागत स्वदेशी उद्योगको मुख्य चुनौती हो । ‘भारत र चीनबाट चोरीपैठारी भएर सस्ता सामान आउँछन्,’ राणाले भनिन्, ‘१० जोर जुत्ता ल्याउँदा एकजोरको मात्रै राजस्व तिर्ने, बाँकीको नतिर्ने प्रचलन छ । भन्सार तिरेजस्तो देखिए पनि ९ जोरमा त ठगियो नि, यसरी अन्डरइन्भ्वाइसिङ (न्यून बिजकीकरण) भएर जुत्ता आएका छन् ।’ फुटवेयरमा धेरै हार्मोनिक कोड (एचएस कोड) हुँदा बच्चाको भनेर ठूला मान्छेको जुत्ता ल्याएको समेत देखिएको उनले बताइन् ।

फुटवेयरलाई तीनओटा एचएस कोडमा वर्गीकरण गरे चोरीपैठारी नियन्त्रण गर्न सहज हुने राणाको सुझाव छ । चीनबाट नाइकी, एडिडासजस्ता विश्वविख्यात ब्रान्ड नाममा कमसल जुत्ता आइरहेको र भारतबाट पूर्ण रूपमा तस्करी भएको उनको अनुमान छ । चीनबाट न्यून बीजकीकरणमा र खुला सिमाना भएको भारतबाट पूर्णरूपमा तस्करी भई जुत्ता आउने स्वदेशी उत्पादक बताउँछन् । 

‘राज्यलाई कर तिर्नेदेखि चर्को ब्याजको ऋण टाउकोमा बोक्ने र रोजगारी सृजना गर्ने स्वदेशी उद्योग,’ किरण सुजका राणा अगाडि प्रश्न गर्छिन्, ‘अनि वैध रूपमा उत्पादन भएका जुत्ताले चोरीपैठारीबाट बजारमा आएका जुत्तासँग प्रतिस्पर्धा गर्नुपर्ने ?’ यो अवस्थाले नेपाली फुटवेयर उद्योग बन्द हुने स्थितिमा पुगेको उनको गुनासो छ । फुटवेयर आयातमा थ्रेसहोल्ड कायम गर्नुपर्नेमा पनि राणाले जोड दिइन् । बंगलादेशमा यस्तो अभ्यास रहेको भन्दै उनले थपिन्, ‘२ हजार ५०० रुपैयाँभन्दा कम मूल्यका जुत्ता पैठारी गर्न दिनु भएन ।’ 

वार्षिक २० लाख जोर जुत्ता उत्पादन गरिरहेको झापाको मेचीनगर–१५ स्थित एशियन फुटवेयर प्रालिका सञ्चालक छविलाल पौडेल पनि चोरीपैठारी र न्यून बीजकीकरण स्वदेशी उद्योगको मुख्य समस्या भएकोमा सहमत छन् । ‘मेरो उद्योगको वार्षिक क्षमता ४० लाख जोर जुत्ता हो,’ उनले भने, ‘अहिले ५० प्रतिशतमात्रै उत्पादन हुन्छ ।’ क्यापिटल ब्रान्डबाट जुत्ता उत्पादन र बिक्री गर्ने पौडेल भारत र चीनमा सस्तोमा उत्पादित कम गुणस्तरका जुत्ता यहाँका बजारमा व्यापक मात्रामा आइरहेको तर उपभोक्ताले सस्तो मूल्यमा नपाएको र राज्यले राजस्व गुमाइरहेको बताउँछन् । 

मेगा सुज इन्डस्ट्रिज प्रालिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद दाहाल पनि फ्याक्ट्रीको क्षमताभन्दा कम जुत्ता उत्पादन गरेको बताउँछन् । वार्षिक ३० लाख जोर जुत्ता उत्पादन क्षमता भए पनि अहिले ६० प्रतिशत मात्रै उत्पादन गरिरहेको उनले बताए । सरकारले बजेटमार्फत भन्सार महसुल वृद्धि गर्दा स्वदेशी उद्योगले लाभ लिन नसकेको भन्दै उनले थपे, ‘सीमानाकामा निगरानी तथा कडाइ गर्ने, चोरीपैठारी रोक्ने हो भने अहिले नै उद्योग पूर्ण क्षमतामा चल्छ । तर, सस्तो सामान आयात भएर मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा उत्पादन नै घटाउनुपरेको छ ।’

जुत्ता उत्पादक संघ नेपालका अध्यक्षसमेत रहेका शुभकामना फुटवेयर प्रडक्टका अध्यक्ष नानीराज घिमिरेले चोरीपैठारी र न्यून बिजकीकरणबाट जुत्ता आयात हुँदा प्रतिस्पर्धा गर्न गाह्रो भएको र उद्योग नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताए । राज्यले यस्ता गतिविधि रोक्न नसक्दा राजस्व गुमाएको र तस्करी गर्नेले लाभ उठाएको उनले बताए । भन्सार विभागको तथ्यांक देखाउँदै उनले भने, ‘आव २०७७/७८ मा ४ करोड ११ लाख ४६ हजार जोर आयात भएको देखिन्छ । यो प्रतिजोर १७६ रुपैयाँमा आयात भएको छ भने यसबाट जम्मा ७६ रुपैयाँ ८ पैसामात्रै राजस्व सृजना गरेको छ ।’ 

‘कुनै पनि जुत्ता १७६ रुपैयाँमा आयात गर्न सकिँदैन,’ घिमिरेले भने, ‘हामीले उत्पादन गर्नेमध्ये सबैभन्दा सस्तो स्कुलको जुत्ता पर्छ । त्यसको उत्पादन लागत नै ३५० रुपैयाँ पर्छ ।’ गत वर्ष ४ करोड ११ लाख जोर आयात भएको देखिन्छ । 

‘चैत मसान्तसम्ममा २ करोड ७ लाख ५४ हजार ४५६ जोर जुत्ता आयात भएको छ,’ घिमिरेले भने, ‘वैध रूपमा जुत्ता आउँदा पनि न्यून बीजकीकरणले गर्दा यस अवधिमा राज्यलाई करीब ६ अर्ब रुपैयाँ राजस्व घाटा भएको छ । कम मूल्यमा आएका फुटवेयरसँग कसरी प्रतिस्पर्धा गर्न सकिन्छ ?’ 

गतवर्ष उक्त परिमाणमा जुत्ता आए पनि यो वर्ष ९ महीनामा २ करोड ७ लाख जोर जुत्ता आयात भएको देखिन्छ । यो हिसाबले हेर्दा यो चालू आवमा साढे २ करोड जोर जुत्ता आयात हुने उनको आकलन छ । आयात घट्दा पनि जुत्ता उत्पादक खुशी छैनन् । ‘स्वदेशी उत्पादनले बजार अंश ओगटेर आयात प्रतिस्थापन गर्न सकेको भए हुन्थ्यो,’ घिमिरेले भने, ‘स्वदेशी उद्योगका जुत्ता थन्किएका छन् तर बजारमा जुत्तैजुत्ता छ । यसले गर्दा हाम्रो आकलन असार मसान्त हुँदा साढे २ करोडदेखि ३ करोड जोरसम्म जुत्ता चोरीपैठारीबाट आपूर्ति हुन्छ भन्ने छ ।’

आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागको पहुँच जुनसुकै बजारमा रहेको र त्यहाँका अधिकारीले खुद्रा व्यापारीलाई बिल कहाँबाट ल्याउनुभयो ? भ्याट बिल छ कि छैन भनेर सोध्ने तथा बिलबीजक खोज्नेजस्ता कार्य गरे पनि तस्करी रोक्न सकिने घिमिरे बताउँछन् । 

‘मेड इन नेपाल’ र ‘मेड फर नेपाल’ भनेर बजेटमा पनि आएको छ । नेपाल भित्रने कुनै पनि जुत्ताचप्पल मेड फर नेपाल उल्लेख गरेर र स्पष्ट एमआरपी तोकेर पैठारी गर्नुपर्ने उनले बताए । मुलुकमा भएका जुत्ता उद्योगको उत्पादन क्षमता वार्षिक १६ करोड जोर छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)