ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आँपमा परनिर्भरता : ११ महीनामा ७२ करोडको आयात

२०७९ असार, १३  
समाचार उपभोक्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
काठमाडौंको कालिमाटीमा एक व्यापारीले बेच्न राखेको भारतीय आँप ।
author avatar प्रतिक्षा कडेल

असार १३, काठमाडौं । चालू आर्थिक वर्षको ११ महीनामा रू. ७२ करोडको आँप आयात भएको छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा नेपालले रू. ७१ करोड ७५ लाख ९४ हजार बराबरको आँप आयात गरेको हो । यो अघिल्लो आर्थिक वर्षभन्दा रू. २ करोड ५६ लाख ७९ हजारले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले रू. ६९ करोड १९ लाख १५ हजार बराबरको आँप आयात गरेको थियो । 

यस्तै, चालू आर्थिक वर्षमा आँप आयातको परिणाम पनि बढेको छ । विभागका अनुसार चालू आर्थिक वर्षको ११ महीनामा नेपालले १ करोड ४८ लाख ५२ हजार ६३० किलोग्राम आँप आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने नेपालले १ करोड ४६ लाख ५० हजार १३५ किलोग्राम आप आयात भएको थियो । 

याे तथ्यांकले आँपमा परनिर्भरता बढेको देखाउँछ । कृषि तथा पशुपंक्षी मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेल माग बढेसँगै आँप आयात पनि बढेको बताउँछन् । 

काठमाडौंमा दैनिक भित्रिन्छ ५० मेट्रिक टन 

कुलेश्वर होलसेल बजारका अध्यक्ष अमर बानियाँले अहिले काठमाडौंमा दैनिक ५० मेट्रिक टन आँप भित्रिने गरेको बताए । यसको मूल्य रू. १ करोड देखि १ करोड २० लाखसम्म पर्ने उनको भनाइ छ । 

काठमाडौं भित्रिने आँपमध्ये स्वदेशी आँप बढी रहेको उनको भनाइ छ । ‘अहिले काठमाडौंमा सिरहा, सप्तरी र धनुषामा उत्पादन भएको ‘मालदह’, ‘आम्रपाली’, ‘कृष्णभोग’ र ‘कलकत्ते’ जातका आँप बढी आउँछ,’ उनले भने, ‘भारतबाट ‘दशहरी’ जातको आँप आए पनि त्यसले बजार लिएको छैन ।’ 

स्वदेशी आँप रुचाउँछन् उपभोक्ता

अध्यक्ष बानियाँले उपभोक्ताले स्वदेशी आँप नै रुचाउने गरेको बताए । ‘नेपालमा उत्पादन भएको ‘मालदह’ जातको आँप सबैभन्दा बढी बिक्री हुने गरेको छ,’ उनले भने । उनका अनुसार ‘मालदह’ जातको आँप दैनिक रू. ९० लाखको हाराहारीमा विक्री हुन्छ । यस्तै, ‘आम्रपाली’ र ‘कृष्णभोग’ भने १५–२० लाखको विक्री हुन्छ । ‘दशहरी’ जातको आँपको विक्री एकदमै कम रहेको उनले बताए । 

असारको अन्तिमपछि नेपाली आँप उत्पादन घट्ने र त्यसपछि भारतीय आँपले बजार लिने उनको अनुमान छ । ‘नेपाली आँपको सिजनका बेलामा भारतीय आँपले बजार पाउँदैन,’ उनले भने । नेपाली आँपको गुणस्तर राम्रो र सस्तो भएकाले अहिले भारतीय आँप नभित्रिएको बानियाँले बताए । ‘भारतको आँप आयातमा भन्सार शुल्क लाग्ने र स्वदेशमै त्योभन्दा गुणस्तरीय र सस्तोमा आँप पाइने भएकाले अहिले आयात घटेको छ,’ उनले कारण खुलाए । 

नेपाली आँपको सिजनअघि भने भारतबाट दैनिक रू. १ करोडकोे आँप भित्रिएको उनले बताए । उनले गत वर्षको तुलनामा यो वर्ष आँपको मूल्य पनि सस्तो रहेको बताए । उनका अनुसार अघिल्लो वर्ष यो समयमा आँप प्रतिकिलोग्राम रू. १२० थियो । 

‘माग उच्च’ 

कालिमाटीमा फलफूल बेच्दै आएका व्यापारी उपेन्द्र जैशवाल अहिले आँपको माग उच्च भएको बताउँछन् । ‘अहिले फलफूलमध्ये आँप ७० प्रतिशत बेच्दै आएको छु,’ उनले भने । उनले अहिले दैनिक ३० देखि ४० किलोग्राम आँप विक्री गरिरहेको जानकारी दिए । 

आँपको मूल्य सस्तो भएकाले पनि विक्री बढेको उनको भनाइ छ । ‘सिजन शुरु हुनुअघि (वैशाख मध्यदेखि जेठ मध्यसम्म) आँप महँगो थियो । सिजन शुरु भएपछि (जेठ मध्यपछि) आँप सस्तो भएको छ,’ उनले भने ।सिजन शुरु हुनुअघि भारतबाट आँप आयात गर्नुपरेकाले महँगो भएको उनको भनाइ छ । 

त्यतिबेला आँप प्रतिकिलोग्राम रू. २००–२५० सम्म पर्ने गरेको र अहिले प्रतिकिलोग्राम रू. १०० मै पाइने गरेको उनले बताए । यद्यपि, जात अनुसार आँपको मूल्य फरक हुने गरेको उनको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)