ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मोफसलका विमानस्थलमा रात्रिकालीन पार्किङ शुरू

आजदेखि धनगढीसहित आधा दर्जन विमानस्थलबाट पहिलो उडान

२०७९ असार, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरूले आज (मंगलवार) बिहानदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए)बाहेकका आधा दर्जन विमानस्थलबाट पहिलो उडान गर्ने भएका छन् । टीआईएबाहेकका विमानस्थललाई रात्रिकालीन बेस बनाउन आनाकानी गरेका वायुसेवा कम्पनीहरूले उडान तालिका स्वीकृत गराएसँगै राति उपत्यकाबाहिरकै विमानस्थलमा पार्किङ गरी पहिलो उडान त्यहीँबाट शुरू गर्न लागेका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १३ गते बिहानदेखि नै पहिलो उडान शुरू गर्नेगरी काठमाडौं बाहिरका आठओटा विमानस्थल तोकेको थियो । टीआईएका प्रवक्ता टेकनाथ सिटौलाले ९ ओटै एयरलाइन्स कम्पनीले तोकिएका विमानस्थलमा रात्रिकालीन पार्किङ गर्ने र त्यहीँबाट पहिलो उडान गर्नेगरी उडान तालिका र संख्या स्वीकृत गराइसकेको जानकारी दिए ।

उनले प्राधिकरणको उक्त निर्देशन कार्यान्वयनमा आएको बताए । योसँगै आन्तरिक विमानस्थलमा हुँदै आएको पार्किङको समस्या, हवाई सुरक्षा जस्ता पक्षमा सुधार हुने उनले बताए । आफूसँग भएका जहाज संख्याअनुसार सबै एयरलाइन्सले ३३ प्रतिशत जहाज तोकिएका विमानस्थलमा राख्नेछन् । सिटौलाका अनुसार सबैभन्दा धेरै उडान संख्या धेरै फिक्स्ड विङ्ग्स भएको बुद्ध एयरको छ । उक्त कम्पनीसँग एटीआरसहित १५ ओटा विमान छन् ।

कम्पनीका कम्युनिकेसन म्यानेजर दिपेन्द्रकुमार कर्णले सोमवार राति विभिन्न विमानस्थलमा रात्रिकालीन पार्किङका लागि जहाज पठाइएको जानकारी दिए । एटीआरसहित कुल १५ विमान उडाउने बुद्धले टीआईएबाहेकका विभिन्न ५ विमानस्थल (धनगढी, पोखरा, भैरहवा, जनकपुर र सिमरा)बाट मंगलवार पहिलो उडान गर्ने तयारी गरेको उनले बताए । बुद्धले भैरहवा विमानस्थलमा दुईओटा जहाज पठाएको छ ।

यती एयरलाइन्सले भने दुईओटा विमानस्थललाई बेस बनाएर मंगलवारदेखि त्यहीँबाट पहिलो उडान गर्ने तयारी गरेको छ । यतीका प्रवक्ता सुदर्शन बर्ताैलाले तत्कालका लागि नेपालगञ्ज र विराटनगरलाई बेस बनाएर उडान गर्ने र आवश्यकताअनुसार अन्य विमानस्थलमा पनि जाने बताए । नेपालगञ्ज र विराटनगर विमानस्थलमा एक/एकओटा जहाज पठाइएको उनले बताए ।

प्राधिकरणले बाहिर रात्रिकालीन बेस बनाउन कम्पनीहरूलाई आग्रह गरे पनि ती कम्पनीका जहाजले काठमाडौंमा उडान तथा अवतरण गर्न पाउँछन् । तर, रात्रिकालीन पार्किङ भने गर्न पाउँदैनन् । टीआईएको आन्तरिक विमानस्थलको पार्किङ क्षमता १७ जहाज भए पनि ३५ ओटाभन्दा बढी जहाज पार्किङ हुँदै आएको थियो । गत मंगलवार पत्रकार सम्मेलन गरी संघले उक्त निर्देशनविरुद्ध बुधवारदेखि आपत्कालीन उद्धार र नियमित उडान नै स्थगन गरिएको घोषणा गरेको थियो । तर, सोही राति भएको छलफलपछि बुद्ध, यतीलगायत कम्पनीले उडान स्थगन नगरिएको घोषणा गरेका थिए । उडान पनि नियमित भइरहेको थियो । प्राधिकरणले विमान सञ्चालनका लागि एओसी लिँदा बेस लिएका आधारमा काठमाडौंसहित चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, नेपालगञ्ज, भैरहवा र धनगढीलाई बेस तोकेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)