ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाढीको वितण्डा : २ सय उद्योगको उत्पादन बन्द

२०७९ असार, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । मंगलवारको भारी वर्षाले सुनसरी मोरङ औद्योगिक कोरिडोरका २ सय उद्योगमा पानी पसेको छ । पानीले तत्कालै ठूलो क्षति नभए पनि उत्पादन भने बन्द गरिएको छ । उद्योग संगठन मोरङका महानिर्देशक चूडामणि भट्टराईका अनुसार बूढीगंगा र कटहरी गाउँपालिकाका करीब २ सय उद्योगमा वर्षाको पानी पसेकाले उत्पादन प्रभावित भएको छ ।

६ लेनको सडक निर्माण गर्दा पानीको निकास नराखेकाले बूढीगंगा र आसपासका उद्योगहरू वर्षेनि डुबानमा पर्ने गरेका छन् । त्यस्तै कटहरी गाउँपालिकामा निर्माणाधीन सडकको दुवैतर्फ रिटेनिङ वाल बनाइएकाले वर्षाको पानी नालामा जान नपाउँदा उद्योगभित्र पसेको हो । गत कात्तिकको बेमौसमी बाढीबाट करोडौं नोक्सानी बेहोरेका उद्योगहरूले पुनः बाढीको सामना गर्नुपरेको भट्टराईले बताए ।

उद्योगभित्र पसेको पानीले क्षति नपुर्‍याए पनि काम गर्न र विद्युत् सर्किटमा समस्या उत्पन्न हुने हुँदा मंगलवार दिनभर २ सयभन्दा बढी उद्योग सञ्चालनमा आएनन् ।

कात्तिकको बाढी ३ सय उद्योगमा छिर्दा २ अर्ब ४६ करोड रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । सरकारका माथिल्लो निकायलाई बाढीको विपद्बारे जानकारी गराउँदा पनि नियन्त्रणका लागि ठोस कदम नचालेको भट्टराईले बताए ।

४० घर विस्थापित
विराटनगरका विभिन्न बस्तीमा पानी पसेपछि ४० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । विराटनगर  महानगरपालिका–८ हाटखोलामा सिंघिया खोलाको बाढी पसेपछि २५ घर विस्थापित भएका छन् । सोही समस्याले वडा नम्बर–२ का १५ परिवार विस्थापित भएका छन् । कटहरी गाउँपालिका १ को खारटोलमा ६० घर विस्थापित भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । बेलबारी–६ मा खारखोलाको बाढी पस्दा ८ घर विस्थापित भएका छन् ।

बूढीगंगा–२ स्थित विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमै बाढी पसेपछि सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ । मंगलवार बिहान गछिया खोलाको बाढीमा एकजना पुरुषको शव फेला परेको थियो । सोमवार रातिको वर्षाका कारण झापा, सुनसरी र मोरङका नदीमा पानीको सतह बढेसँगै बस्ती तथा घर डुबानमा परेका छन् ।

बाढीबाट विस्थापितलाई राख्ने ठाउँ नहुँदा विराटनगरका विद्यालय ३ दिन बन्द गर्ने निर्णय भएको छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विस्थापितलाई राख्ने ठाउँ अभाव भएकाले आकस्मिक बैठक बसेर यस्तो निर्णय गरेको जानकारी दिए ।

‘बाढीले धेरै मानिस विस्थापित हुनुभएको छ, उहाँहरूलाई राख्ने ठाउँको अभाव भयो,’ कोइरालाले भने, ‘उहाँहरूलाई राख्न विद्यालय ३ दिन बिदा दिने निर्णय गरेका छौं ।’ महानगर प्रमुख कोइरालाको अध्यक्षतामा मंगलवार साँझ बसेको बैठकले अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम बढ्दै गएकाले असार १५ देखि १७ गतेसम्म सामुदायिक र निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)