ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुख्य नाकाबाट डस्टी कार्गो ढुवानीमा सधैंकाे सकस : भारतीय कस्टमको नयाँ निर्देशनले आयातकर्ता समस्यामा

२०७९ असार, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । मुख्य नाकाको रक्सौल–वीरगञ्ज रूटबाट डस्टी कार्गोको आवागमन बन्द हुने भएपछि आयातकर्ताले त्यसको सहज विकल्पको माग गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले मंगलवार पत्रकार सम्मेलन गरी यस्तो माग गरे ।

सीमावर्ती भारतीय रक्सौल कस्टमका अधिकारीले १ जुलाई (१७ असार)देखि यस्ता वस्तु एकीकृत जाँच चौकी (आईसीपी)बाट जाँचपास गराउन निर्देशन दिएपछि रक्सौल–वीरगञ्ज रूटबाट ढुवानी गर्दै आएका आयातकर्ताले यसबाट आफूहरू समस्यामा पर्ने बताएका छन् । 

भारतीय रेलबाट रक्सौलमा आइपुगेको कार्गो सीधै वीरगञ्ज भन्सारबाट भित्र्याउँदा सहज पर्नेमा अब आईसीपीबाट ल्याउँदा समय र खर्च बढी लाग्ने संघका उपाध्यक्ष माधव राजपालले बताए । 

वीरगञ्ज नाकाबाट भित्रिने अधिकांश मालसामान आईसीपीबाट भित्रिए पनि भारतीय रेलको रक्सौल यार्डमा अनलोड हुने कोइला, आइरन ओर, स्ल्याग, आइरन ब्लेड, आइरन रोललगायत औद्योगिक कच्चापदार्थ र साल्ट ट्रेडिङले ल्याउने नुन तथा मलखाद रक्सौल–वीरगञ्ज हुँदै आउने गरेको छ ।

‘रक्सौलमा अनलोड भएका यस्ता वस्तु सोझै वीरगञ्जबाट भित्रिएर विभिन्न स्थानमा पुग्ने गरेकोमा अब रक्सौलको लक्ष्मीपुर हुँदै आईसीपीसम्म पुर्‍याउनुपर्ने भएको छ,’ उपाध्यक्ष अग्रवालले भने, ‘आयातकर्ताका लागि यो ठूलो समस्या बन्ने निश्चित छ ।’ 

बारा पर्सा औद्योगिक कोरिडोरका फलाम उद्योग र अधिकांश सिमेन्ट उद्योगले कच्चापदार्थ भित्र्याउने मुख्य नाका वीरगञ्जमा यस्ता वस्तुको आयातमा बारम्बार अवरोध हुँदै आएको छ । केही वर्षअघि रक्सौलका स्थानीयले क्लिंकर लोड–अनलोडमा अवरोध गरेपछि आयातकर्ता १५० किलोमिटर टाढाको नारायणपुर स्टेशन जानुपरेको थियो । 
अहिले क्लिंकर आयात नभए पनि कोइला र स्ल्यागजस्ता कच्चापदार्थ उल्लेख्य परिमाणमा आउने गरेको छ । रक्सौल रेल्वेदेखि रक्सौलको लक्ष्मीपुर हुँदै आईसीपीसम्मको सडकको अवस्था हेर्दा यो सडक भएर ढुवानी गर्न अत्यन्त असहज हुने संघका उपाध्यक्ष राजपालले बताए । रक्सौल रेलवेदेखि लक्ष्मीपुर आईसीपीसम्म डस्टी कार्गो ढुवानी गर्ने दैनिक ३०० देखि ४०० ट्रक/टिपरको आवागमन हुने गरेको राजपालको अनुमान छ ।

आईसीपीसम्म जाने वैकल्पिक सडक निकै साँघुरो रहेको र बस्तीको बीचबाट जानुपर्ने भएकाले सडकले ढुवानीको चाप थेग्न नसक्ने दाबी आयातकर्ताको छ । रक्सौल बजारदेखि लक्ष्मीपुर हुँदै जाने सडक अत्यधिक जाम रहने र यसबाट ढुवानी अस्तव्यस्त हुने राजपालले बताए ।

रक्सौल कस्टमका अधिकारीले राति ९ बजेपछि यस्तो कार्गो ढुवानी गर्न भनेको आयातकर्ताको गुनासो छ । रातिको समयमा लोड–अनलोडका लागि मजदूरसहित ढुवानीका साधनको अभाव र भन्सार बन्द हुने भएकाले झन्झटिलो हुने उनीहरूको भनाइ छ ।

रक्सौल कस्टमले आईसीपी सञ्चालकको ‘प्रभाव’मा यस्ता कार्गोलाई आईसीपीमै लैजान दबाब दिएको आरोप व्यवसायीहरूको छ । आईसीपी सञ्चालकले एउटा ट्रक भित्रिनेबित्तिकै एक दिनको साढे ४०० भारतीय रुपैयाँ शुल्क असुल्ने गरेको आयातकर्ता बताउँछन् । 

रक्सौलको रेल यार्डबाट सम्पर्क सडकको विस्तार र स्तरोन्नति नभएसम्म साविककै रक्सौल–वीरगञ्ज रूटबाट ढुवानी गर्न पाउनुपर्ने माग आयातकर्ताको छ । लक्ष्मीपुर हुँदै आईसीपीसम्म पुर्‍याएर कार्गो भित्र्याउँदा अहिले प्रयोगमा रहेको बाटोभन्दा करीब २० किलोमीटर बढी पर्ने राजपालको भनाइ छ ।

अहिले चल्तीमा रहेको बाटोबाट एक रेक मालसामान भित्र्याउन २ दिन लाग्ने गरेकोमा रक्सौल कस्टमले अहिले तोकेको नयाँ रूटबाट ६ दिनसम्म लाग्ने संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

रक्सौलबाट आईसीपी जाने सम्पर्क सडकलाई ४ लेनमा विस्तार गर्नुपर्ने माग व्यवसायीको छ । सडकखण्डमा बिहान बेलुका लाग्ने तरकारी बजारले दुर्घटनाको जोखिम बढाएकाले तरकारी बजार अन्यत्र सार्नुपर्ने पनि संघको माग छ । लक्ष्मीपुरदेखि आईसीपीसम्मको २ लेन सडकमा ५ किलोमीटरसम्म ढुवानीका साधनको जाम लाग्ने गरेकाले ६ लेनमा परिणत गरिनुपर्ने राजपालको भनाइ छ । 

नेपाल र भारत दुवैतर्फ डस्टी कार्गोका लागि बेग्लै लेनको व्यवस्था गरिनुपर्ने अग्रवालको माग छ । ‘यसो भएमा डस्टी कार्गो ढुवानी गर्ने ट्रक भन्सार प्रक्रियाका लागि अन्य साधनजस्तो लामो लाइनमा बस्नुपर्ने अवस्था हुँदैन,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)