ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डलर - भारु  विनिमय दर ८० रुपया नाघ्ने खतरा, के होला नेपाली रुपैयाँको हालत ?

२०७९ असार, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

असार १५, काठमाडौं । पछिल्ला केही दिनमा अमेरिकी डलरको तुलनामा भारतीय रुपयाको भाउ घट्ने क्रम जारी छ । भारतीय शेयर बजारबाट पूँजी पलायन र विश्व बजारमा कच्चा तेलको भाउमा भइरहेको वृद्धिका कारण रुपयाको भाउमाथिको दबाब बुधवार पनि यथावत् देखिएको हो । 

अघिल्लो दिन बजार बन्द हुँदा डलरको तुलनामा भारुको भाउ  ७८ दशमलव ८३ रुपयाको कीर्तिमानी न्यून स्तरमा आएको थियो । बुधवार मुद्रा बजार खुल्दा विनिमय दर थप महँगो हुँदै ७८ दशमलव ८६ रुपयामा आयो । बजार बन्द हुँदा डलर भारु विनिमय दर १९ पैसा महँगिएर ७९ दशमलव ४ रुपया कायम भयो ।

डलरको तुलनामा भारु यो स्तरमा झरेको इतिहासमै पहिलो पटक हो । बुधवारको कारोबारमा एक पटक डलर भारु विनिमय दर ७९ दशमलव ५ रुपयासम्म आएको थियो । भारुको तीव्र अवमूल्यन जारी रहँदा विनिमय दर छिटै ८० रुपया नाघ्ने अड्कलबाजी बढ्न थालेको छ ।  

यो महीनाको अहिलेसम्मको अवधिमा डलरको तुलनामा भारुको मूल्य १ दशमलव ९७ प्रतिशतले गुमिसकेको छ । यो वर्ष शुरु भएयता चाँहि डलरको तुलनामा भारुको भाउ ६ दशमलव ३९ प्रतिशत गुमिसकेको छ । लगानीकर्ताहरुमा जोखिम टार्न चाहने मनोवृत्ति र क्षेत्रीय मुद्राहरु कमजोर बनेको अवस्थामा रुपयाको भाउ घटिरहेको एचडीएफसी सेक्युरिटिजका अनुसन्धान विश्लेषक दिलिप पार्मारले बताएको भन्दै विजनेश स्टयान्डर्डले समाचार छापेको थियो । त्रैमास सकिदैं  गर्दा डलरको उच्च माग र कसिलो तरलताका कारण पनि रुपयाको भाउ दबाबमा आएको उनको भनाइ छ । 

विश्वबजारमा कच्चा तेलको भाउ बढ्दा भारतको व्यापार घाटा त यसै बढ्छ नै, आयातित महँगी पनि बढ्न जान्छ । उदीयमान बजारका मुद्रामा दोहोरो घाटाको दबाब बढ्दा यस वर्षको अन्त्यसम्ममा डलर भारु विनिमय दर ८०/ ८१ रुपयामा आउन सक्ने कमोडिटिज र मुद्रा ब्रोकर आनन्द राठी शेयर्स एन्ड स्टक ब्रोकरका अनुसन्धान विश्लेषक जिगर त्रिवेदीको भनाइ उद्धृत गर्दै लाइभमिन्टले एउटा समाचारमा छापेको छ ।

जुलाईको बैठकमा FED ले ब्याजदर ७५ आधार विन्दुले बढाउने अपेक्षा गरिएको छ । RBI ले पनि अगष्टमा हुने बैठकमा ब्याजदर बढाउने अनुमान छ । यस्तोमा दुई देश बीचको प्रतिफल  साँघुरो बन्दा रुपयाको भाउ थप दबाबमा आउन सक्ने राठीको भनाइ छ ।

डलर सूचकमा गत हप्ता एकै दिनको कारोबारमा देखिएको कमी भर्पाइ भएपछि रुपयाको भाउ अहिलेसम्मकै कीर्तिमानी न्यून स्तरमा झरेको बजार अनुसन्धान संस्था ओन्डाका एशिया प्रशान्त क्षेत्रका वरिष्ठ बजार विश्लेषक जेफ्री हालेले इकोनोमिक्स टाइम्ससँग भनेका छन् ।

बुधवारको कारोबारमा डलर र जापानी येन विनिमय दर पनि १३६ माथि उक्लिएको थियो । अमेरिकी ऋणपत्रको प्रतिफल खासै धेरै नबढेको भएपनि लगानीकर्ताहरुले अहिलेको समयमा डलरलाई लगानीको लागि सुरक्षित सम्पत्ति अर्थात् सेफ हेभन एसेट मानिरहेको हाले बताउँछन् । 

मुद्रा डालोमा आबद्ध प्रमुख मुद्राका तुलनामा बुधवार डलर सूचक शून्य दशमलव १ प्रतिशतले बढेर १०४ दशमलव ४ अंकमा पुगेको थियो । जुनमा अमेरिकी उपभोक्ताको मनोबलमा उल्लेख्य कमी आएको अघिल्लो रात सार्वजनिक भएको तथ्यांकले देखाएको छ । पछिल्लो समय दशकौंयताकै उच्च स्तरमा उक्लिएको महँगीका कारण अमेरिकी अर्थतन्त्र यस वर्षको उत्तराद्र्धमा अपेक्षाकृत सुस्त बढ्ने चिन्ता पछिल्लो समय अमेरिकीहरुमा बढेको छ ।

अहिले लगानीकर्ताहरुमा पनि महँगी नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले आक्रामक रुपमा ब्याजदर बढाउँला कि नबढाउला भन्ने चासो र अड्कलबाजी चलिरहेको छ । फेडले ब्याजदर वृद्धिलाई आक्रमक बनाउँदा आर्थिक मन्दी नै निम्तने खतरा पनि उत्तिकै छ । आक्रामक रुपमा ब्याजदर बढाउँदा अर्थतन्त्र मन्दीमा जान सक्ने भनेर स्वयम् फेडले पनि स्वीकार गरिसकेको छ । 

बुधवार लगातार चौथो पनि विश्व बजारमा कच्चा तेलको भाउ बढेको थियो । लिबिया र इक्वेडरमा जारी राजनीतिक द्वन्द्वका कारण पेट्रोलियम निर्यातकर्ता देशहरुको समूह ओपेकले उत्पादन उल्लेख्य स्तरमा बढाउने सम्भावना देखिदैंन ।

पछिल्लो समय आपूर्ति कसिलो हुने चिन्तामा बुधवार ब्रेन्ट क्रुडको भाउ १ दशमलव १ प्रतिशतले बढेर प्रतिब्यारेल ११८ डलरमाथि उक्लिएको थियो । अमेरिकी बेञ्चर्माक वेष्ट टेक्सास इन्टरमिडियटको भाउ पनि बुधवार अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा शून्य दशमलव ६ प्रतिशतले बढेर ११२ डलर ५० सेन्टमाथि पुगेको थियो । 

भारतीय पूँजीबजारबाट विदेशी संस्थागत लगानीकर्ताहरुले धमाधम लगानी फिर्ता लगिरहेका छन् । मंगलवार पनि विदेशी संस्थागत लगानीकर्ताहरुले भारतीय पूँजीबजारबाट १२ अर्ब ४४ करोड ४४ लाख रुपया झिकेको स्टक एक्सचेञ्जको तथ्यांकले देखाएको छ ।

यस्तो अवस्थामा हप्ताको बाँकी दिनमा पनि भारुको भाउ अस्थीर रहने सक्ने विश्लेषकहरु बताउँछन् । कच्चा तेलको भाउमा आएको सुधार र रुसमाथि पश्चिमी देशहरुले एक पछि अर्को गर्दै लगाइरहेको प्रतिबन्धका कारण भारु मात्रै नभएर अन्य उदीयमान बजारका मुद्राको भाउ पनि दबाबमा आइरहेको छ । 

कता जाला नेरु - डलर विनिमय दर ?

पछिल्लो समय अमेरिकी डलरको तुलनामा भारतीय रुपयाको भाउमा तीव्र अवमूल्यनसँगै भारुसँग स्थिर आबद्धता रहेको नेपाली रुपैयाँ (नेरु) को भाउ पनि धमाधम घटिरहेको छ । बुधवार डलर नेरु विनिमय दर १२६ दशमलव ३४ रुपैयाँको कीर्तिमान उचाईमा पुगेको थियो । एक डलर किन्न नेपालीहरुले यति धेरै रकम तिर्नु परेको यो इतिहासमै पहिलो पटक हो । गएको बिहीवार कीर्तिमानी उच्च स्तरमा उक्लिएको डलरको भाउ त्यसपछिका केही दिनमा सुस्ताएको थियो । तर मंगलवारदेखि भाउ पुनः बढ्न थालेको छ । 

भारतीय मुद्रा बजार बन्द हुँदा बुधवार डलरको तुलनामा भारतीय रुपयाको भाउ कीर्तिमानी न्यून स्तरमा ओर्लिएकोले नेपाल राष्ट्र बैंकले बिहीवारको लागि डलरको खरीदविक्री दर थप बढाउने निश्चित छ । पछिल्लो केही महीनायता सुरक्षित लगानीको साधनको रुपमा डलरको माग बढ्दा डलरको तुलनमा भारु कमजोर बनिरहेको छ । यसको असर सिधैं नेरुमा देखिरहेको नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर  दीपेन्द्र बहादुर क्षेत्री  बताउँछन् । डलर भारु विनिमयदर ८० रुपयाभन्दा माथि उक्लिने अनुमान बढिरहेको समयमा डलर नेरु विनिमय दर पनि महँगो बन्ने देखिएको छ ।  

आयातमा निर्भर नेपाल जस्तो अर्थतन्त्रको लागि डलर महँगो हुनु सुखद समाचार नभएको क्षेत्रीको भनाइ छ । डलर महँगो बनेपछि नेपालले डलर किन्न यस अघि खर्च गर्दै आएको भन्दा धेरै खर्च गर्नु पर्ने उनको भनाइ छ । अर्को तिर यसरी महँगोमा किनेको डलरले बाँकी विश्वसँगको व्यापारमा खर्च गर्नु पर्दा आयातित महँगी बढ्ने अवस्था पनि छ । 

डलरको भाउ बढ्दा विप्रेषण, पयर्टन र निर्यात आम्दानी वृद्धिमा टेवा पुग्छ । तर पछिल्लो समय विश्वभर महँगी बढेको अवस्थामा विदेशिएका नेपालीहरुले पठाउने विप्रेषण आप्रवाह केही सुस्ताएको छ । कोरोना भाइरसको महामारीबीच पयर्टकहरुको आगमन सीमित रहेकोले पयर्टन क्षेत्रमा पनि यसको सकारात्मक प्रभाव सीमित छ ।

नेपालको कुल विश्व व्यापारमा निर्यातको हिस्सा निकै कम छ । यस्तोमा डलर महँगो हुनुको लाभभन्दा हानी धेरै छ । डलर बलियो भएपछि  राज्यले विदेशी दाताहरुसँग लिएको ऋणको साँवा ब्याज भुक्तानीको भार पनि बढ्ने बताउँछन्, क्षेत्री । विदेश अध्ययन वा घुमफिरका लागि जाने नेपालीहरुले झन धेरै खर्च गर्नु पर्ने हुन्छ । पछिल्लो समय डलरको तुलनामा नेपाली रुपैयाँको भाउ ऐतिहासिक न्यून स्तरमा झरेपछि नेपालको आयात महसुल झनै बढ्ने  पनि उनले बताए । 

आयात बढेर व्यापार घाटा बढिरहेको र विनिमय सञ्चिति घट्दै गइरहेको अवस्थामा सरकारले आयात नियन्त्रणका केही उपायहरु शुरु गरेको थियो । तर डलर महँगो बनेपछि बैदेशिक व्यापारमा व्यापार घाटा झनै बढ्ने अवस्था उत्पन्न भएको छ । एजेन्सीहरुको सहयोगमा

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)