ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतमा २०० मेगावाट बिजुली निर्यात गर्ने टेन्डर रद्द

प्रस्तावित रेट चित्त बुझेन : प्राधिकरण

२०७९ असार, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । भनेजस्तो मूल्य नपाएपछि नेपाल विद्युत् प्राधिकरणले भारतमा २०० मेगावाट बिजुली बेच्न आह्वान गरेको टेन्डर रद्द गरेको छ । टेन्डरमा भारतका ६ विद्युत् व्यापार कम्पनीले प्रस्ताव पेश गरेका थिए । तर, उनीहरूले प्रस्ताव गरेको दर चित्त नबुझेपछि टेन्डर रद्द गरेको प्राधिकरणको भनाइ छ । 

अहिले प्राधिकरणले भारतीय खुला बजारमा प्रतियुनिट १९ रुपैयाँ २० पैसा (भारु १२) सम्ममा बिजुली बेचिरहेको छ । तर, टेन्डरमा सहभागी कम्पनीहरूले प्रतियुनिट अधिकतम ७ रुपैयाँ ७७ पैसा (४.८६ भारू) सम्ममात्र दिने प्रस्ताव गरेका छन्, जुन नेपालकै औसत विक्री दरभन्दा कम हो । नेपालमा औसत विक्री दर प्रतियुनिट १० रुपैयाँ छ । भारतीय कम्पनीबाट चित्त बुझ्दो खरीद दर प्रस्ताव नआएपछि प्राधिकरणले टेन्डर रद्द गरेको हो ।भारतमा जारी ऊर्जा संकटका कारण प्राधिकरणले बिजुलीको मूल्य राम्रो पाइरहेको छ । त्यही बेला भारतीय कम्पनीबाट अत्यन्त न्यून दरमा प्रस्ताव आएको प्राधिकरणको भनाइ छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतमा विद्युत् विक्री गर्ने उद्देश्यले आह्वान गरेको टेन्डर रद्द गरेको बताए । ‘भारतीय कम्पनीबाट भने जस्तो मूल्य पाएनौं, त्यसैले टेन्डर रद्द गर्नु परेको हो,’ उनले भने, ‘अब त्यो विद्युत् भारतीय खुला बजारमै विक्री गरिन्छ ।’

प्राधिकरणले यो वर्षाका साढे ४ महीना (असार १७ गतेदेखि कात्तिक मसान्तसम्म) मा भारतमा २०० मेगावाट बिजुली विक्री गर्ने गरी गत वैशाखमा टेन्डर आह्वान गरेको थियो । वर्षामा खोलानालामा पानी बढी हुँदा आयोजनाहरूले पूर्ण क्षमतामा उत्पादन गर्छन् । यो वर्षामा २२०० मेगावाटभन्दा बढी बिजुली उत्पादन हुन्छ । तर, यहाँको पिक डिमान्ड १६०० मेगावाट वरिपरि छ । यसअनुसार वर्षायामभर ६०० मेगावाटभन्दा धेरै बिजुली बढी हुन्छ ।

त्यसमध्ये प्राधिकरणले ३६४ मेगावाट भारतीय खुला बजारमा प्रतिस्पर्धी दरमै विक्री गरिरहेको छ । भारतले आफ्नो बजारमा नेपालका ६ ओटा आयोजनाको ३६४ मेगावाट विद्युत् विक्री गर्न प्राधिकरणलाई अनुमति दिएको थियो । सोहीअनुसार प्राधिकरणले भारतीय खुला बजारमा विक्री गर्दै आएको छ । 

त्यसबाहेक अन्य बिजुलीसमेत भारतमा विक्री गर्न प्राधिकरणले अनुमति मागे पनि पाएको छैन । कहिले अनुमति दिन्छ भन्ने ग्यारेन्टी पनि छैन । त्यस अवस्थामा प्राधिकरणले नेपालमा बढ्न सक्ने विद्युत्को मागलाई समेत दृष्टिगत गर्दै २०० मेगावाट टेन्डरमार्फत विक्री गर्न खोजेको थियो । 

सम्भवतः त्यो बिजुली पनि भारतीय खुला बजारमै विक्री गरिने बताइएको छ । ३६४ मेगावाटको अनुमति पाए पनि अहिले भारतमा अफ पिक समयमा ४०० मेगावाटभन्दा बढी विक्री भइरहेको छ । त्यसमा उचित मूल्य पनि पाइएको छ । सोही कारण टेन्डर रद्द गरिएको प्राधिकरणको भनाइ छ । 

टेन्डरमा सहभागी भारतको मनिकरण पावर लिमिटेडले ७ रुपैयाँ ७७ पैसा (४.८६ भारु) मा १०० मेगावाट र ५ रुपैयाँ ८८ पैसा (३.६८ भारु) मा १०० मेगावाट बिजुली किन्ने प्रस्ताव गरेको थियो । साथै, एनटीपीसीले ६ रुपैयाँ ८८ पैसा (४.३ भारु) मा २०० मेगावाट किन्ने गरी प्रस्ताव गरेको थियो । यसैगरी, अरूणाञ्चल पावर लिमिटेडले ६ रुपैयाँ ७३ पैसा (४.२१ भारु) मा ८० मेगावाट र पीटीसी लिमिटेडले ६ रुपैयाँ ६२ पैसा (४.१४ भारु) मा २०० मेगावाट बिजुली किन्ने प्रस्ताव गरेको थियो ।

त्यसैगरी, टाटा पावर ट्रेडिङले ५ रुपैयाँ ४७ पैसा (३.४२ भारु) मा ५० मेगावाट र क्रियट पावर प्राइभेट लिमिटेडले ६ रुपैयाँ २५ पैसा (३.९१ भारु) मा १०० मेगावट किन्न प्रस्ताव गरेको थियो । यस्तै, रिपेक्स इनर्जीले ५० मेगावाट बिजुली किन्न प्रस्ताव पेश गरेको थियो ।

प्राधिकरणले यसअघि विद्युत् आदानप्रदान वा इनर्जी बैंकिङका रूपमा भारतमा बिजुली निर्यात गर्दै आएको थियो । प्राधिकरणले पहिलोपटक भारतमा व्यावसायिक रूपमा विद्युत् निर्यात गर्ने गरी टेन्डर आह्वान गरेको थियो । तर, प्राधिकरणको यो प्रयास असफल भएको छ । गत जेठदेखि प्राधिकरणले भारतीय खुला बजारमा व्यावसायिक रूपमै बिजुली विक्री गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)