ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमित मृत्युदरको नयाँ तालिका बन्दै

२०७९ असार, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । बीमा समितिले १३ वर्षपछि बीमित मृृत्युदरसम्बन्धी अध्ययन गर्न लागेको छ । सोही अध्ययनका आधारमा बीमित मृत्युदरको नयाँ तालिका बनाउने समितिको तयारी छ ।

समितिले एक्चुरियल सोसाइटी अफ नेपालको सहयोगमा बीमित मृत्युदरको नयाँ तालिका बनाउन लागेको हो । नेपालमा पहिलोपटक २०६६ मा बीमित मृत्युदर तालिका ल्याइएको थियो । त्यसअघि भारतको बीमित मृत्युदर तालिका प्रयोग गरिएको थियो । ऊ बेला नेपालको औसत मृत्युदरको आधारमा बीमित मृत्युदर तालिका बनाइएको थियो । त्यसयता नेपालमा दुईपटक राष्ट्रिय जनगणना भइसकेको छ । आम नेपालीको औसत आयु पनि बढेको छ । 

समग्र देशको मृत्युदर बढेको आशंका गरे पनि बीमित मृत्युदर भने घटेको अनुमान छ । बीमित मृत्युदर तालिका धेरै पुरानो भइसकेको छ । त्यसले बीमा बजारको नयाँ अवस्थालाई सम्बोधन गर्दैन । त्यसैलाई ध्यानमा राखेर समितिले बीमित मृत्युदरको नयाँ तालिका ल्याउने गरी प्रारम्भिक अध्ययन शुरू गरेको हो । 

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमित मृत्युदरको नयाँ तालिका ल्याउने गरी प्रक्रिया अघि बढाएको बताए । यसका लागि बीमा कम्पनीहरूबाट बीमितको कुल संख्या र मृत्यु हुने बीमितको संख्यासम्बन्धी तथ्यांक मगाइएको उनले जानकारी दिए । यसका लागि आवश्यक सर्वे र अन्य आवश्यक तथ्यांक संकलन भइरहेको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । 

समितिले २०६६ सालमा बीमितको मृत्युदरलाई उमेर (० देखि ९९ वर्षसम्मका) का आधारमा मात्र छुट्ट्याएको थियो । त्यस बेला बीमितको औसत मृत्युदर प्रतिहजार शून्य दशमलव शून्य ५९ थियो ।

अब भने उमेरसँगै लैंगिक, प्रदेशगत, खानपान, पेशागतलगायत आधारमा बीमितको मृत्युदर छुट्ट्याउने समितिको तयारी छ । साथै, बीमितले चुरोटजस्ता हानिकारक वस्तु प्रयोग गर्छन् कि गर्दैनन्, त्यसको आधारमा पनि अध्ययन गर्ने प्रयास भएको अध्ययन कमिटी सदस्य ऋचा ढकालले जानकारी दिइन् । 

सोहीअनुसार बीमा कम्पनीहरूलाई तथ्यांक बनाउन निर्देशन दिइएको छ । समितिले बीमा कम्पनीलाई तोकिएको मापदण्डमा पछिल्लो ३ वर्षको तथ्यांक राख्न निर्देशन दिएको छ । कम्पनीहरूसँग बीमितको संख्या, मृत्यु हुने बीमितको संख्या, मृत्युको कारणलगायत तथ्यांक पनि माग गरिएको छ । 

कम्पनीहरूबाट तथ्यांक आएपछि मृत्युदर तालिकालाई अन्तिम रूप दिने समितिको भनाइ छ । तथ्यांक आएपछि बीमांकीय मूल्यांकन गरेर नयाँ मृत्युदर तालिका बनाइनेछ । त्यसपछि सोही आधारमा बीमाशुल्कको दर परिमार्जन हुनसक्ने कार्यकारी निर्देशक पौडेलले बताए ।

बीमित मृत्युदर तालिका बनाउन बीमांकी अनिवार्य रूपमा चाहिन्छ । सोहीअनुसार समितिले एक्चुरियल सोसाइटी अफ नेपालसँगको सहकार्यमा अध्ययन गर्न लागेको हो । 

समितिले शुक्रवार बीमा कम्पनीका प्रतिनिधि बोलाएर तोकिएको मापदण्डमा तथ्यांक उपलब्ध गराउन निर्देशन दिएको छ । त्यस क्रममा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले पुरानो तालिका आएपछि दुईपटक राष्ट्रिय जनगणनासमेत भइसकेकाले नयाँ मृत्युदर तालिका ल्याउनुपर्ने आवश्यकता औंल्याए । औसत मृत्युदरसम्बन्धी तथ्यांक सार्वजनिक भइसकेको सन्दर्भमा बीमितको मृत्युदर तालिकालाई समयसापेक्ष परिमार्जन गर्नु आवश्यक रहेको उनको भनाइ छ । 

जीवन बीमक संघ नेपालका उपाध्यक्ष पोषकराज पौडेलले नयाँ बीमित मृत्युदर तालिका आए उपयुक्त बीमाशुल्क निर्धारण हुने बताए । यसबाट समग्र जीवन बीमा व्यवसायको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान हुने उनको भनाइ छ ।

अध्ययनपछि बीमितको मृत्युदर घट्ने अपेक्षा गरिएको छ । नेपालीको औसत आयु नै बढेको छ । बीमा गर्ने अधिकांश व्यक्ति सम्पन्न परिवारको भएकाले उनीहरूको स्वास्थ्य अवस्था पनि ठीक छ । त्यसैले अब बीमितको मृत्युदर घट्ने विश्वास लिइएको हो । त्यसो भएमा बीमाशुल्कको दर पनि कम हुनसक्ने समितिको भनाइ छ ।

के हो बीमित मृत्युदर तालिका ? 

यो तालिकामा बीमितको मृत्युदरलाई प्रतिहजारमा गणना गरिएको हुन्छ । निश्चित उमेरका हजार बीमितमध्ये वर्षभरिमा मृत्यु हुनसक्ने संख्या आकलन गरिएको हुन्छ । 

सामान्यतया कम उमेरका बीमितको मृत्यु हुने सम्भावना थोरै हुन्छ । उमेर बढ्दै जाँदा रोगलगायत कारणले व्यक्तिको मृत्यु सम्भावना बढ्दै जान्छ । त्यसअनुसार बढी उमेर हुने बीमितको मृत्युदर उच्च हुन्छ । त्यसकारण बीमाशुल्क निर्धारणमा बीमित मृत्युदर तालिकाको मुख्य भूमिका हुन्छ । बीमांकीले बीमित मृत्युदर तालिकाअनुसार देखिने जोखिम हेरेर प्रत्येक उमेरका व्यक्तिलाई फरकफरक बीमाशुल्क निर्धारण गरिदिएको हुन्छ । त्यसअनुसार कम उमेर भएका व्यक्तिले बीमा गर्दा थोरै बीमाशुल्क तिरे पुग्छ । बढी उमेर भएका व्यक्तिले बीमा गर्दा धेरै बीमाशुल्क तिर्नुपर्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)