ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चार महीनामै खरीद नियमावली संशोधन

शर्त राखेर ५ हजार आयोजनाको म्याद १ वर्ष थपियो, ५ अर्बसम्मको ठेक्का नेपाली कम्पनीलाई, बैंक क्रेडिट लाइनको प्रावधान खारेज

२०७९ असार, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
पृथ्वी राजमार्गअन्र्तगत तनहुँको बन्दीपुर गाउँपालिका–५ को याम्पानजिक रिटेनिङ वाल लगाउँदै मजदूर । पृथ्वी राजमार्गको पूर्वी खण्डमा सडक विस्तर तीव्र गतिमा भइरहे पनि पश्चिम खण्डमा काम हुन सकेको छैन । तस्बिर : रासस
author avatar हिमा वि.क.

काठमाडौं । सरकारले सार्वजनिक खरीद नियमावलीको ११औं संशोधन गरेको ४ महीनामै पुन: १२औं संशोधन गरेको छ । म्याद थप, बैंक क्रेडिट लाइन प्रावधान खारेज, कार्य अनुभव कटौती र ठेक्का लिन पाउने सीमा बढाउँदै सरकारले १२औं पटक नियमावली संशोधन गरेको हो ।

सार्वजनिक खरीद नियमावली संशोधनसँगै सबैखाले करीब ५ हजार आयोजनाको म्याद एकैपटक १ वर्षका लागि थपिएको छ । उक्त नियमावलीमा विशेष व्यवस्था गर्दै २०७९ असार मसान्तसम्ममा खरीद सम्झौताको अवधि सकिने तर निर्माण सम्पन्न नभएका वा हुन नसक्ने अवस्थाका परियोजना अब २०८० असार मसान्तसम्म सम्पन्न गरे हुने बनाइएको छ । यसअघिको ११औं संशोधनमा ६ महीनामात्रै म्याद थप गर्ने भनिएको थियो ।

सरकारले सार्वजनिक खरीद नियमावलीको ११औं संशोधन चैत ३ गते राजपत्रमा प्रकाशित गरेको थियो । त्यसको ४ महीनामै पुन: नियमावली संशोधन गरी असार २० गते सोमवार राजपत्रमा प्रकाशित गरेको छ । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालका अनुसार एकैपटक ५ हजार आयोजना/परियोजनाको म्याद १ वर्षका लागि थपिएको हो । नियमावलीमा दुईओटा प्रगति अर्थात् शर्तका आधारमा म्याद थपिने उल्लेख छ ।

नियमावलीअनुसार म्याद थप्दा १ वर्षमै काम सम्पन्न गर्ने कार्यतालिका र थप आर्थिक व्ययभार नपर्ने गरी निर्माण सक्ने गरी विवरण पेश गर्नुपर्ने हुन्छ । यी २ ओटा माइलस्टोन (सीमा) तोकी सम्बद्ध निकायले म्याद थपिदिने र सोहीअनुसार काम नगरे ठेक्का तोड्ने र निर्धारित क्षतिपूर्ति तिराउने व्यवस्था गरिएको छ । तर, २१ दिनमा निवेदन नपरेका र ६ महीनासम्म कार्यस्थलमा काम नगरेका आयोजनाले म्याद थप पाउने छैनन् ।

यसैगरी पहिलाको संशोधनलाई लचिलो बनाउँदै निर्माण व्यवसायीको कार्य अनुभवलाई ४० प्रतिशतमा झारिएको छ । पहिला कामको अनुभव ६० प्रतिशतसम्म हुनुपर्ने व्यवस्था थियो । यस्तै नेपाली निर्माण व्यवसायीले अब ५ अर्ब रुपैयाँसम्मका ठेक्का लिन पाउनेछन् । १२औं संशोधनले ३ अर्ब रुपैयाँको सीमा बढाएर ५ अर्ब रुपैयाँ पुर्‍याएको हो । पाँचओटा ठेक्कामात्रै पाउने सीमा भने यथावत् छ ।तर, निर्माण व्यवसायीहरू जति पनि बोलपत्रमा सहभागी हुन पाउने व्यवस्था नियमावलीमा गरिएको छ ।

‘बोलपत्रदाताले बोलपत्र पेश गर्दा पाँचओटाभन्दा बढी बोलपत्र पेश गरेमा त्यसरी पेश भएका बोलपत्रमध्ये न्यूनतम मूल्यांकित ठहरिएका पाँचओटामा सम्झौता गर्नुपर्नेछ । पछिका अन्य सबै बोलपत्र मूल्यांकन प्रक्रियाबाट हटेको मानिनेछ,’ नियमावलीमा उल्लेख गरिएको छ ।

यस्तै निर्माण व्यवसायीले पटकपटक माग गर्दै आएको बैंक क्रेडिट लाइन यसपटकको संशोधनबाट खारेज गरिएको छ । बैंकहरूबाट लिनुपर्ने कागजातका लागि निर्माण व्यवसायीले निश्चित कमिशन बैंकलाई बुझाउनुपर्छ । यो रकम अब बंंैकलाई बुझाउन नपर्ने दाहालले बताए । उनले अहिलेको संशोधनले थलिएको निर्माण क्षेत्रलाई राहत पुगेको बताए । ‘यद्यपि सरकारले दिने भुक्तानीमा अबको काम भर पर्नेछ,’ दाहालले भने, ‘यो नियमावलीले निर्माणलाई गति दिनेछ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)