ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जो चक्लेट बेचेर मासिक ६० हजार कमाउँछिन् 

२०७९ असार, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फोटो : सुनिल शर्मा/आर्थिक अभियान
author avatar प्रतिक्षा कडेल

असार २२, काठमाडौं । उनका केही आफन्त र साथी रोजगारी वा पढाइका लागि विदेशमा छन् त केही विदेश जाने तयारीमा । साथीहरूले विदेश जाने तयारी गर्दा उनलाई पनि सँगै जान सुझाए । तर, उनले साथीहरूको सुझाव सिधै नकारिन् । कारण थियो– उनको स्वदेशमै काम गर्ने चाहना । 

‘विदेश जानेको ताँती भए पनि मेरो मन नेपालमै थियो/छ । स्वदेशमै बसेर पनि कमाउन सकिन्छ भन्ने सोचले विदेश गइनँ,’ उनले अर्थात् ललितपुर, मंगलबजारकी ३० वर्षीया एलिजा शाक्यले विदेश नजानुको कारण खुलाइन् । 

स्वदेशमै व्यवसाय गर्ने चाहनाअनुरूप उनले दुई वर्षअघि काम शुरू गर्ने सोच बनाइन् । तर, कुन व्यवसाय गर्ने भन्ने खुट्याउन सकेकी थिइनन् उनले । 

उनको चक्लेट बनाउनमा रुचि थियो/छ । उनी कहिलेकाहीँ घरमा चक्लेट बनाउँथिइन् । र, परिवारका सदस्यलाई खुवाउँथिइन् । ‘घरमा चक्लेट बनाउँदा परिवारका सदस्यले खुबै तारिफ गर्थे,’ उनले सुनाइन् । 

यसबीचमा उनले युट्युबमा विभिन्न प्रकारका चक्लेट बनाउन सिकाउन राखिएको भिडियोबारे जानकारी पाइन् । र, यससम्बन्धी थुप्रै भिडियो हेरिन् । त्यसपछि विभिन्न प्रकारका चक्लेट बनाउन सिकेको उनी बताउँछिन् ।

‘शुरूमा चक्लेट बनाउन धेरै पटक प्रयास गरें । र, चक्लेट बनाएर परिवारका सदस्य, आफन्त र साथीहरूलाई खुवाएँ,’ उनी भन्छिन् । 

चक्लेट बनाउँदै गर्दा यही काममा उनको आकर्षण बढ्यो । त्यसपछि उनले चक्लेट व्यवसाय गर्ने योजना बनाइन् । र, अनलाइन चक्लेट व्यवसायसमेत शुरू गरिन् । 

उनले करिब दुई वर्षअघि शुरू गरेको व्यवसायबाट मनग्य आम्दानी गरिरहेकी छन् । ‘त्यतिबेला व्यवसाय सुरु गर्दा १० हजार रूपैयाँ लगानी गरेकी थिएँ,’ उनले सुनाइन्, ‘अहिले मासिक ५०–६० हजार नाफा कमाइरहेकी छु ।’  

तर, नाफा सधैं एकनास नहुने उनी बताउँछिन् । ‘चक्लेटको व्यापारमा पनि सिजन र अफसिजन हुन्छ । त्यसकारण नाफा सधैं एकनास हुँदैन,’ उनी भन्छिन्, ‘सिजनको बेला एक लाख रूपैयाँभन्दा बढीको व्यापार हुने गरेको छ ।’ तिहार, नयाँ वर्ष, रक्षाबन्धन, आमाको मुख हेर्ने दिन, भ्यालेन्टाइन डे लगायत समयमा माग बढ्ने गरेको उनी बताउँछिन् । 

उनले चक्लेट अर्डरका लागि सामाजिक सञ्जाल फेसबुक प्रयोग गर्छिन् । यसका लागि उनले फेसबुकमा एलिजचक्लेट पेजसमेत बनाएकी छन् । 

उनले चक्लेट डेलिभरीको जिम्मा भने एक कम्पनीलाई दिएकी छन् । देशैभरी चक्लेट डेलिभरी हुने गरेको उनी बताउँछिन् । ‘तीमध्ये सुनसरीको धरान र इटहरी तथा कास्कीको पोखराबाट चक्लेटको माग बढी छ,’ उनी भन्छिन् । 

उनी ग्राहकको सुविधाका लागि वेबसाइट बनाउने योजनामा छिन् । ‘अहिले फेसबुक पेजबाट चक्लेट अर्डर आउने गरेको छ । वेबसाइट बनाएपछि ग्राहकलाई चक्लेट अर्डर गर्न सजिलो हुनेछ,’ उनी भन्छिन् । 

उनले मंगलबजारमै आलिज्ज चक्लेट पसल चलाइरहेकी छन् । पसलमा बहिनीले सहयोग गर्ने गरेको उनी बताउँछिन् । पसलमा चकलेट किन्न बालबालिकादेखि युवासम्म आउने गरेको उनले बताइन् । 

उनले अहिले विभिन्न प्रकारका चक्लेट  बनाउँदै आएकी छन् । तीमध्ये डार्क चक्लेट, ह्वाइट चक्लेट र मिल्क चक्लेटको माग नियमित हुने गरेको उनी बताउँछिन् । ‘यससँगै सेरामिलक, बार चक्लेट पनि बनाउने गरेको छु,’ उनी भन्छिन्, ‘सबैभन्दा बढी बिक्री भने कस्टुमाइज चक्लेट हुने गरेको छ ।’ 

उनी चक्लेटको गुणस्तरमा निकै ध्यान दिएको उनी बताउँछिन् । चक्लेटको गुणस्तरका लागि आफूहरूले अर्डर आएपछि मात्रै बनाउने गरेको उनको भनाइ छ । ‘स्टक राख्नेभन्दा पनि अर्डर आएपछि मात्रै बनाउँछौं । अर्डर आएको दुई दिनमा डेलिभरी गर्छाैं,’ उनी भन्छिन् । 

उनले उत्पादन गरेको चक्लेट ठमेलको वेस्ट सपिङ सेन्टरले समेत विक्री गर्ने गरेको छ । 

चक्लेट व्यवसाय गर्न कतिको सहज छ ? 

कच्चा पदार्थ सहज उपलब्ध हुँदा चक्लेट  उत्पादन गर्न समस्या नभएको उनी बताउँछिन् । ‘चक्लेटका लागि चाहिले कच्चा पदार्थ स्वदेशमै सजिलै पाइन्छ,’ उनी भन्छिन् । यससँगै परिवारका सदस्यले साथ दिएपछि व्यवसाय गर्न थप सहज भएको उनको भनाइ छ । ‘व्यवसाय गर्न श्रीमानले निकै साथ दिनुभएको छ,’ उनले भने । 

चक्लेट निर्यात गर्ने योजना

आफूले उत्पादन गरेको चक्लेट विदेश निर्यात गर्ने उनको योजना छ । ‘आगामी दिनमा अन्तराष्ट्रिय बजारमा चक्लेट पुर्याउने योजना छ,’ उनी भन्छिन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)