ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ जीवन बीमा कम्पनीको व्यवसाय उत्साहजनक

२०७९ असार, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने मामिलामा ४/५ वर्षअघि सञ्चालनमा आएका नयाँ जीवन बीमा कम्पनीहरूले पुरानालाई पछि पार्न थालेका छन् । कुल व्यवसायमा नभएर नयाँ व्यवसाय (प्रथम बीमाशुल्क) का आधारमा अधिकांश नयाँ जीवन बीमा कम्पनीको स्थान माथि देखिएको हो ।

नम्बर १ र २ मा पुराना कम्पनी नै छन् । त्यसपछि भने नयाँ कम्पनीको अग्रता देखिएको छ । हाल नेपालमा ९ पुराना र १० नयाँ गरेर १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा नयाँ कम्पनीहरू अग्रस्थानमा रहेको बीमा समितिबाट प्राप्त चालू आवको जेठ मसान्तसम्मको तथ्यांकले देखाएको हो ।

जेठ मसान्तसम्म १९ जीवन बीमा कम्पनीले ३३ अर्ब ८५ करोड रुपैयाँ बराबरको नयाँ व्यवसाय (प्रथम बीमाशुल्क) गरेका छन् । त्यसको आधारमा नयाँ कम्पनीको व्यावसायिक स्थान राम्रो हुँदै गएको हो । 

नयाँ व्यवसाय गर्ने मामलामा पहिलो र दोस्रो नम्बरमा पुरानै नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्स छन् । उक्त अवधिमा नेपाल लाइफले ५ अर्ब ७१ करोड रुपैयाँ र नेशनल लाइफले ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेका छन् । तेस्रो नम्बरमा भने नयाँ जीवन बीमा सिटिजन लाइफ देखिएको छ । जेठसम्म उक्त कम्पनीले २ अर्ब ३७ करोड रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेको छ । 

चौथो नम्बरमा पुरानै एलआईसी (नेपाल) छ । उक्त कम्पनीले २ अर्ब ३५ करोड रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेको छ । पाँचौं देखि सातौं स्थानसम्म नयाँ कम्पनी छन् । सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ र युनियन लाइफले उक्त स्थान ओगटेको समितिबाट प्राप्त तथ्यांकमा उल्लेख छ । त्यसपछि पनि नयाँ कम्पनीको स्थान अगाडि छ ।

जीवन बीमामा दुई प्रकारको व्यवसाय हुन्छ । एउटा नयाँ र अर्को नवीकरण । बीमितले बीमा गरेपछि पहिलोपटक वा पहिलो वर्ष तिर्ने किस्ता नयाँ व्यवसाय हो । यसलाई बीमाको भाषामा प्रथम बीमाशुल्क भनिन्छ । र, बीमा १ वर्षका लागि मात्र नभएर वर्षाैंसम्मका लागि गरिन्छ । त्यसका लागि बीमितिले हरेक वर्ष कम्पनीलाई तोकिएको किस्ता तिर्नुपर्छ । यसलाई बीमाको भाषा नवीकरणीय बीमाशुल्क भनिन्छ । 

व्यक्तिले बीमा गरेपछि त्यसको नवीकरण पनि गर्ने भएकाले नवीकरणीय बीमाशुल्क उठाउन कम्पनीलाई खास मेहनत पर्दैन । तसर्थ प्रथम बीमाशुल्कको आधारमा कम्पनीको कार्यसम्पादन मूल्यांकन गर्दा राम्रो हुने विज्ञ बताउँछन् । 

सिटीजन लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषक पौडेलले नयाँ कम्पनीमा राम्रो सर्भिस भएका कारण व्यवसाय गर्ने मामलामा अगाडि देखिएको बताए । ‘नयाँ कम्पनीको काम गर्ने तरीका नै फरक छ । त्यसमाथि नयाँ कम्पनीमा बेटर सर्भिस, बेटर मार्केटिङ स्किल छ । यसको मतलब पुरानोको नराम्रो भन्न खोजेको होइन । नयाँ कम्पनीले साँच्चै नै नयाँ प्रकारका सेवा ल्याएका छन्,’ उनले भने, ‘त्यही कारण नयाँ कम्पनी व्यावसायिक रूपमा माथि छन् जस्तो लाग्छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)